निश्चय नै पुँजीवादी आर्थिक उत्पादन प्रणालीले समाजमा मच्चाएको शोषण, दोहन र उत्पीडनको उत्कर्षमा मानिसहरु कथित उत्कृष्ट र निकृष्ट पेशामा संलग्न हुन अभिसप्त छन्। यौन व्यवसाय चलाउन विवश महिला, पुरुष, समलिङ्गी, तेस्रोलिङ्गीहरुको संख्या नेपालमै पनि अत्यासलाग्दो रहेकाे विभिन्न अध्ययनहरुले देखाएका छन्।
यो मान्छेको आत्मबल निचोरेर बजारमा बेच्ने परिस्थितिविरुद्धको संघर्ष एउटा गम्भीर विषय हो। यसउपर बेग्लै विमर्शको आवश्यकता छ। सम्पत्तिमाथिको स्वामित्वको एकाधिकारका कारण हरेक क्षेत्रमा अवसर दिने, अघि बढाइदिने प्रलोभनमा पारेर महिलामाथि यौन शोषण गर्ने ताक कुरेर बसेका यौनभक्षी पुरुषहरुको बोलवाला छ। इज्जत र चरित्रको सामन्तवादी भाष्यलाई रक्षाकवच बनाएर आफूले गरेको शोषण र उत्पीडनमा पनि महिलाको मुख थुन्न पुरुषसत्ता आजसम्म सफल छ।
भर्खरै प्रकाश सपुतको 'फूलमाया' सकम्बरी गीत बजारमा आएको छ। यो सृजनाले समग्रमा जस्तो समाज त्यस्तो देश, जस्तो नेता त्यस्तो जनता भएको अनुभूति भएको छ। मैले नबुझेकाे यसलाई कसले कसरी व्याख्या गरेको छ र कसरी बुझेकाे छ, त्यसमा ध्यान दिने कि? राज्य सञ्चालनका विभिन्न अङ्गमा पात्र छन्, जसलाई नदेखेझैं गरेको छ राज्यले। यसरी पीडित नारीहरुलाई कानुनले सम्बाेधन गराेस् भनियो भनेर पनि बुझाैं। उनले महिलाकाे अपमान गरेकै हाे भन्न सकिन्न। यसमा उनकाे दृष्टिकोण कति फराकिलो हुन सक्याे त्याे प्रश्न हाे। गीतमा प्रस्तुत गरे जस्तो नेपाली समाजमा नभएको हाेइन।
सकम्बरी र सुयोगवीर नितान्त पारिजातको सृजना हो। चित्र, चरित्र र प्रवृत्ति सम्पूर्ण रुपमा जीवन र जगतको मूल्य र यथार्थलाई उपेक्षा गरेर बाँच्ने ती पात्र अनि आफ्नाे अस्तित्व बचाउन बाध्य यी पात्र,चरित्र र घटनाको परिवेश नितान्त फरक छ।
तर, दुबैले फरक-फरक यथार्थ प्रस्तुत गरेका छन्। यही नै हाम्रो सामाजिक प्रवृत्ति हाे। वर्तमानका विकृतिलाई देखाउन महान कृति सिरिसको फूलका पात्रहरुको नाम कपि गरेर पारिजातको सृजनाको सम्मान गरिनु सबल पक्ष हो। यो विकृति नेपालमा पनि छ नै भनेर प्रकाशले यो गीतमा भिडियो नाटक बनाए। यो भिडियो किन बनाए भनेर आन्दोलन गर्नु भन्दा यो पुरुष प्रवृति कसरी रोक्नेतिर मोडिनुपर्छ।
प्रकाश सपुत जातीय या वर्गीय सवालमा समेत गतिलो चेतनाका साथ उभिन सकेका पात्र हाेइनन्। महिलाको सवालमा भने चरम दोहनकारी पुँजीवादी पुरुषवादी चेतनाको जगबाट त झन् उठ्नै सकेका छैनन्। उनले एकातिर महिलालाई फगत हाटबजारको बिकाउ मालभन्दा बढी ठानिरहेका छैनन्। पैसा भएपछि अवसरको आश देखाएर महिलालाई जसरी पनि खेलाउन सकिन्छ। उसको जवानी लिलाम गर्न सकिन्छ भन्ने सन्देश दिइरहेका छन्।
महिला हिंसा, विभेद, विवशता र सामाजिक प्रवृत्ति प्रस्तुतिकाे सवालमा पनि उनकाे चेतना फक्रिएकाे देखिएन। रातमा काम गर्ने, पाउजु लगाउने, सुनको बाला लगाउने, बुलाकी लगाउने, (रातो) स्कुटर चढ्नेहरु जवानी लिलाम गर्ने यौन बजारको माल हुन् भन्नु नै कर्पाेरेट पुँजीवादी दृष्टिकोण हाे।
मुख्य भूमिकामा देखिएकी सकम्बरीलाई तिम्राे बुलाकी कहाँबाट आयो? पाउजु, सुनको झुम्का, हातमा चुरा, रातो स्कुटर कहाँबाट आयो? कसले दियो? तिम्राे गालामा बैंस कति टिक्छ? तिम्राे बैंसको आयु कति छ? भनी गरिएकाे प्रश्न नै पितृसत्ताकाे अवशेष हाे। यस्ताे प्रश्नहरु अक्सर महिलाहरुले मात्रै फेस गर्नु परिरहेकाे छ। साहित्यमा त्यसैलाई निरन्तरता दिन खाेजिन्छ भने त्याे गतिशील विचार कदापि हुन सक्दैन।
फूलमायालाई सहरमा ल्याउने, जागिरको प्रलोभनमा पारेर यौन शोषण गर्ने, प्रलोभनमा पारेर युवतीको जवानी लिलाम गर्ने पात्र जेल जानुपर्नेमा दुनियाँका अगाडि उसैलाई प्रश्न गर्ने आँट गर्छ भने त्याे दृष्टिकोण कसरी सही हुन सक्छ? एक सर्जकले यत्ति कुरा बुझ्दैन? के उसकाे चेनतामा यत्ति विकास भएकाे छैन हाेला? महिलाहरूले आफ्नो पसिना, मेहनत र योग्यता प्रस्तुत गरेर बुलाकी मात्रै होइन, रातो स्कुटर र डाइमन्ड लगाउने क्षमता राख्न सक्छन् भन्ने पनि बुझ्न सक्नुपर्छ।
रातितिरै काम के को होला नि ? भन्नेले त्यसकाे उत्तर कम्तिमा खाेजेकाे हुनुपर्छ। आज सामाजिक सञ्जालमा राति काम गर्ने डाक्टर, नर्स, समाचार लेख्ने, पढ्ने पत्रकार, नेता, मन्त्री, सुरक्षाको जिम्मेवारी बहन गर्ने प्रहरीलगायत महिला पात्रहरुले आफू राति काम गरिरहेकाे जवाफ फर्काइरहेका छन्। के उनीहरु सबैलाई शरीर बेचेर फर्केका मान्ने?
जो महिलाको सफलतालाई स्वीकार गर्न सक्दैनन्, उनीहरुको मेहनत र क्षमतामा प्रश्न गर्ने ठाउँ नभेटेपछि कुरा काट्ने अनेक उपाय खोज्न थाल्छन्। तिनलाई हाम्राे साहित्यले प्रश्न किन नगर्ने? प्रकाश सपुत यहिँनेर चुकेका छन्।
अनि अर्को कुरा, सिनेमा, मोडलिङ क्षेत्रमा लागेका महिलाले राम्रो अवसर पाउन, चर्चित हुन शरीर बेचेकै हुन्छन् भन्ने खालकाे भाष्य निर्माण गर्नु जतिकाे घातक अरु हुँदैन। के कलाको कुनै मूल्य हुँदैन? मेहनत र संघर्षको बाटो छैन? यदि होइन भने यो गलत भाष्य किन निर्माण गरियाे?
बाध्यता र अभावले महिलाहरुले आफ्नो शरीर बेचेर कमाएकाे रकमबाट आमाको उपचार, घरमा भाइबहिनी पालेको, बाउ जाँड खाएर अर्को बिहे गरेको यस्तै कथाहरू मात्रै कति हेर्ने, कति सुन्ने? रहरहरु असीमित हुन्छ भनिएकाे छ। महत्वाकांक्षालाई माथि राखेर आफ्नो अस्तित्व पनि बेच्न बाध्य बनाइएको छ। यो सबै उपभोक्तावाद र निजी सम्पत्तिको जगमा उभिएको पितृसत्तात्मक व्यवस्थाले गर्दा हाेइन? हरेक क्षेत्रमा महिलाहरुले आफ्नो अस्तित्वलाई दाउमा लगाउनै परेको छ। कुरा कलाकारिताकाे मात्रै हाेइन, यसकाे उचित समाधान राज्यस्तरबाटै हुनुपर्छ।
तर, समाधान भनेकाे महिलाहरुलाई भावनामा बगाउनु होइन। ‘महिलाहरु बाध्यताले शरीर बेचिरहेका छन्’ कठै भन्ने कुरा समाधान होइन। त्याे जनताकाे साहित्य हुन पनि सक्दैन।
कतै पारिजातका पुस्तक देखाइदिएको छ। कतै मार्क्सका पुस्तक देखाइदिएको छ। अनि गीत चाहिँ दर्शकलाई भावनामा बगाइएकाे छ। यसले गतिशील समाजकाे प्रतिनिधित्व गर्न सक्दैन। बरु त्यस्ता पुस्तकहरु देखाउनुभन्दा अध्ययन गरेर यसको कारण यो हो र यसको समाधान यो हो भन्ने कुरा देखाउन सकिन्छ।
हाम्राे शासन व्यवस्थाभित्र कति शोषण छ? त्यसकाे लेखाजोखा गर्दै आगामी लडाइँ लड्ने हाे। महिलाको वस्तुकरण किन भइरहेको छ, त्यसको कारण खाेतल्ने हाे र समाधानकाे उपाय दिने हाे।
समाज परिवर्तनका थुप्रै गति र लयहरु छन्। वर्तमानका थुप्रै यथार्थसँग साक्षात्कार गर्नै बाँकी छ भनेर बुझ्नुपर्छ। जुन दिन प्रकाश सपुतले आफूले समाज र दुनियाँका बारेमा थुप्रै कुरा नबुझेको या बुझ्न बाँकी रहेको यथार्थ बुझ्नेछन्, त्यो दिन उनका शब्दहरू पक्कै पनि प्रगतिशील बन्नेछन्। त्यतिबेला उनका सिर्जनाबाट सभ्य समाज निर्माण गर्न टेवा पुग्नेछ। त्यसका लागि उनले एकपल्ट होइन, दशौँपल्ट सकम्बरीलाई नियालेर चिन्न सक्नुपर्छ।
यो news लेख्ने पत्रकार ठमेल भई रहेको यथार्थ हो भन्न लेख्न छोडेर जे पायो त्यही लेख्छ । यक choti chamel ma gayara herda hunxa la