भन्सार छलीका सामग्रीबाट चार करोड ६५ लाख राजस्व सङ्कलन

फाइल तस्बिर
फाइल तस्बिर

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा प्रहरीले भन्सार छलीका सामग्रीबाट रु चार करोड ६५ लाख ८५ हजार आठ सय ४० राजश्व सङ्कलन गरेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा ३८ पटक विभिन्न प्रकारका भन्सार छलीका सामग्री नियन्त्रणमा लिएको छ।

बरामद सामग्रीलाई भन्सार चलान गरी उक्त राजस्व सङ्कलन गरिएको उनले बताए।

जिल्ला प्रहरी कार्यालयले भन्सार छलीसहित विभिन्न प्रकृतिका कारबाहीबाट चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कूल रु सात करोड २० लाख ७० हजार आठ सय ९० राजस्व सङ्कलन गरेको प्रहरी उपरीक्षक तिवारीले जानकारी दिए।

उनका अनुसार भन्सार छलीपछि सबैभन्दा धेरै राजस्व ट्राफिक नियम उल्लङ्घन गरेका सवारीको कारबाहीबाट राजस्व सङ्कलन भएको छ।

जसअनुसार सो अवधिमा २३ हजार दुई सय ५० वटा सवारी कारबाहीबाट रु एक करोड ७९ लाख ४० हजार पाँच सय राजस्व सङ्कलन गरिएको छ।

कसुरजन्य सम्पत्ति लिलाम बिक्रीबाट रु ४१ लख ४३ हजार तीन सय ३२, प्राकृतिक स्रोतको चोरी नियन्त्रणबाट रु २५ लाख आठ हजार सात सय आठ, काठ तस्करी नियन्त्रणबाट रु ६ लाख १६ हजार ७५ राजस्व सङ्कलन गरिएको छ। 

प्रहरीले चालु आर्थिक वर्षमा ५६ जनालाई जुवा तास खेल्दै गर्दा नियन्त्रणमा लिएको छ। जसबाट रु दुई लाख ७६ हजार चार सय ३५ राजस्व सङ्कलन गरेको प्रहरी उपरीक्षक तिवारीले बताए।  

नौ महिनामा घरेलुहिंसाका ९६ घटना

जिल्ला प्रहरी कार्यालय नवलपुरमा नौ महिनाको अवधिमा घरेलु हिंसाका ९६ वटा घटना दर्ता भएका छन्। 

चालु आर्थिक वर्षको चैतसम्ममा यो सङ्ख्यामा घरेलु हिंसाका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए।

चालु आर्थिक वर्षको साउनमा सबैभन्दा धेरै २१  वटा घटना दर्ता भएका छन्। उनका अनुसार सबैभन्दा कम फागुन महिनामा एउटा मात्रै घटना दर्ता भएको छ।

धेरै जसो पतिपत्नी बीचका घटना दर्ता भएका छन्। दर्ता भएका घटनामध्य धेरैजसो मिलापत्रसमेत भएको प्रहरी उपरीक्षक तिवारीले बताए।

प्रकाशित मिति: : 2023-04-16 20:55:00

प्रतिकृया दिनुहोस्