हालकाे सिंजा गाउँपालिका वडा नम्बर-३ पिंगीमा लालु शाही नाम गरेका एकजना नेता थिए। राजनीतिक र सामाजिक सबै हिसाबमा समाजले स्वीकार गरेका। इमानदार, निस्वार्थी, दुरदर्शी, आदर्श नेताकाे रुपमा जनताकाे मनमा बसेका। उनकाे व्यक्तिगत आचारणलाई सबै खाले बिम्ब प्रयाेग गर्दा पनि कमै हुन्छ भन्नेहरु आज पनि सिंजामा तमाम मान्छेहरु भेटिन्छन्।
लालु शाहीको जन्म २००४ साल मंसिरमा भएकाे थियाे। उनी पञ्चायत, बहुदल, गणतन्त्र सबै व्यवस्थाका साक्षी थिए। उनी जन्मिँदा नेपालकाे व्यापारिक सम्बन्ध मधेससँग मजबुत भइसकेकाे थियाे। उनी सुखसयलमा हुर्केका नेता भने थिएनन्। त्यसैले आफ्नाे अभाव पूरा गर्न बेलाबेला भारतका गल्लीहरुमा हिङ सिलाजित बेच्न गइरहन्थे। उनी जहाँ पुगे, त्यहाँका किस्साहरु फर्किएर सिंजामै पुगेका छन्। जुन आज पनि गाउँघरमा प्रशस्तै सुन्न पाइन्छन्।
उनी एकपल्ट भारत जान भनेर आफ्नाे ठाउँकाे ठूलो टाेली लिएर हिँडेका रहेछन्। सिमानामा भारतीय सिमा सुरक्षा बलले सधैं केरकार गर्ने उनले थाहा पाएका रहेछन्। उनी आफ्नाे टाेलीकाे अन्तिममा लाइन लागेका रहेछन्। प्रहरीले कागज माग्दा आफ्नाे सबैकाे कागजात आफूसँग छ भनेर सबैलाई छाेडदिन आग्रह गरेछन्। अन्तिममा उनकाे पालाे आएछ। उनले आफ्नाे दाैराकाे फेर माथि सारेर पेट देखाएछन्। त्यसकाे आसय ‘हाम्रो पेट भाेकाे भएकाे हुनाले तिम्राे देश आउनु परेकाे हाे’ भन्ने रहेछ। त्यसपछि एसएसबीले दंग हुँदै छाेडिदिएछ।
उनी एकपल्ट भारतमै सिलाजिल बेचिरहेकाे बेला त्यसकाे विशेषता बताउन लागेका रहेछन्। उनले सिलाजित सेवन गरेपछि माेटाे भइन्छ समेत भनेछन्। त्यहाँकाे साबुन पसलमा बसेकाे व्यापारीले तिमी किन माेटाउन सकेनाै? भनी प्रश्न गरेछन्। बदलामा उनले ‘तिमी साबुनको व्यापार गर्छाै, किन कालो छाै त’ भनेछन्।
उनी शत्रुलाई पनि मित्र बनाउने हैसियत राख्थे। निर्दयीकाे मनमा पनि दया जगाउन सक्ने क्षमता भएकै कारण सिंजाका हरेक व्यक्त उनलाई सम्झिरहन्छन्। धेरैले उनकाे उदाहरण दिएर आफूलाई अनुयायी भएकाे दलिल पेश गर्छन्। ताकी लालु शाहीलाई आदर्श ठान्ने व्यक्ति असल हुन्छ भन्ने ठानियाेस्। सादा जीवन, अभावमा पनि रमाउन सक्ने खुबी, एक उदाहरणीय व्यक्तित्वकाे नाम कसैले लियाे भने सिंजाले उनकाे तस्बिर देख्छ।
सिंजा गाउँपालिकाका पूर्व अध्यक्ष देवलसिंह रावल आफूले २०७४ को चुनाव लालु शाहीकै नाम लिएर जितेकाे दाबी गर्छन्। 'म व्यापारी मान्छे। पार्टीले मलाई नै टिकट दियाे। यता पार्टीका मान्छे मलाई टुरिष्ट भन्न थाले। मेराे पछाडि काेही लागेन। चुनाव प्रचार गर्दै उहाँकाे घरकाे छतमा उहाँकाे नाम लिँदै राेएपछि काँग्रेसीजन मेरा पछि लागे। बल्ल चुनाव जित्न सकियाे,' उनले भने।
एकपल्ट लालु शाही भारत भएकाे बेला भाेकाएका उनका टिमका सिंजालीहरुले बारीमा फलेका केराउन खाइदिएछन्। त्याे देखपछि त्यहाँका गाउँलेहरु लठ्ठी समातेर उनीहरुलाई कुट्न भनी आएछन्। अब कुटाई खानुबाहेक विकल्प नदेखेपछि उनले आफ्ना साथीहरुलाई केराउका दाना फालेर बाेक्रा मात्रै खाउ भनी सुझाए छन्। त्याे देखेपछि भारतीयले ‘केराउकाे बाेक्रा हाेइन, दाना खान्छन्’ भनेर सिकाए छन्। त्यसरी उनका साथीहरु कुटाई खानबाट जाेगिए छन्।
उनी नेपाली काँग्रेसको राजनीति गर्थे। विपी र गणेशमानलाई आदर्श मान्थे। विचार र सिद्धान्त जेसुकै भएपनि उनकाे राजनीति सिंजालाई मात्रै नभई सिंगाे जुम्ला र कर्णाली नै हराभरा बनाउने खालकाे भएकाे कनकासुन्दरीका जयहरी आर्चायकाे मत छ।
'राजनीतिक पूर्वाग्रह नभएकै कारण सिंजाका हरेक जनताले लालु शाहीलाई अहिले पनि आफ्नो आर्दश नेता मान्छन्', उनले भने, 'भारतका विभिन्न ठाउँमा जाँदाका किस्सदेखि जिल्लाका सरकारी कार्यालय प्रमुखहरुलाई सार्वजानिक चासो र महत्वका विषयमा व्यांग्यात्मक रुपमा गराइएको ध्यानाकर्षण आज पनि सिंजाका हरेक नेतालाई ताजै लाग्छ।'
सिंजाको भैरव मावि नराकोटको शैक्षिक, भौतिक, प्रशासनिक विकास र स्तर उन्नतिका लागि उनले गरेकाे याेगदानकाे जाेकाेहीले तारिफ गरिरहन्छ। उनी तीन पटकसम्म भैरव माध्यामिक विद्यालय नराकोटकाे विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष भएका थिए। त्यसबेला उनले सिंजामा एसएलसी परीक्षा केन्द्र स्थापना गराउन अनसन बस्नु परेकाे थियाे। सिंजामा इलाका प्रशासन कार्यालय, हुलाक कार्यालय स्थापना गर्न, स्वास्थ्य चौकी निर्माण गर्नमा उनले उल्लेखनीय भूमिका निर्वाह गरेकाे तमाम सिंजालीले हरेक दिन भनिरहन्छन्।
झण्डै १६ वर्ष प्रधानपञ्च भएका शाहीले पञ्चायती व्यवस्थामा गरीबहरुबाट उठाउने खर्चको समेत अन्त्य गरेका थिए। पछि गाविस अध्यक्षसमेत भए। २०५४ को गाविस अध्यक्ष पदमा भने उनले हार्नुपरेकाे थियाे। त्याे उनकाे राजनीति जीवनको त्यो पहिलो हार भएकाे आचार्यले थपे।
उनकाे सग्लाे राजनीतिक जीवन भने विजयी यात्राले रंगिएकाे छ। उनी जीवनभर राजनीतिक नेनृत्वकाे भूमिकामा रहे। २० वर्षको उमेरमा पहिलोपटक २०२४ सालमा उपप्रधान, २०३४ मा फेरि उपप्रधान, २०२९ २०३९ सालमा २ पटक प्रधानपञ्च। २०४९ सालमा गाविस अध्यक्षसमेत भए। यति धेरै राजनीतिक उपलब्धि हासिल गरेका उनी पदकै लागि मरिहत्ते भने गर्दैन थिए। शाहीले राजाको प्रत्यक्ष शासनकालमा जिल्ला विकास समितिकाे मनाेनित सदस्य अस्वीकार गरेका थिए।
लालु शाही शिक्षा क्षेत्रकाे विकासकाे मेरुदण्ड भएकाे सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले सम्झिएकाे किस्साबाट थप पुष्टि हुन्छ।
'भैरव माध्यामिक विद्यालय नरोकोटमा हावाले छाना उडाएछ। त्यसकाे पुनर्निर्माणका लागि शाहीसहितको टोली सीडीओ कार्यालय पुगेछ। त्यसबेला सिंजा क्षेत्रबाट जिल्ला विकास समितिमा प्रतिनिधित्व गर्ने तीन जना क्षेत्रपाल रहेछन्। किन आउनुभयो भनेर सिडिओले साेधेछन्। उहाँले 'सिंजाका क्षेत्रपाल तीन, विद्यालयमा छैनन् टिन' भनेर ध्यानाकर्षण गराउनु भएछ। त्यसपछि उहाँका माग सम्बाेधन भई नराकाेटकाे छानाे हाल्ने काम भएछ।'
आफूलाई लालु शाहीका सहपाठी तथा शैक्षिक सल्लाहकार बताउने नमराज शर्माका अनुसार उनी विपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई गाउँगाउँमा पुर्याउने एक असल अनुयायी हुन्। २०५४ काे निर्वाचन हार्दा सिंजाका धेरै घरमा चुलाेसमेत निभेकाे थियाे।
ठकुरी परिवार र रहनसहनमा हुर्केका शाही सभ्य र समतामूलक समाज निर्माण गर्न चाहने विचार बाेक्ने दुरदर्शी नेता भएकाे शिक्षक तथा सहपाठी जयकृष्ण चौलागाईंले बताए। 'उहाँ गाविस अध्यक्ष हुँदा दलितको भान्सामा खाना खाने पहिलो पञ्चायती नेता हुनुहुन्थ्याे,' उनले भने, 'लालु शाहीको मृत्युपछि सिंजा क्षेत्र टुहुरो बनेको छ।'
लालु शाहीले सामाजिक काम गर्दै गर्दा कसैलाई दुस्मन नबनाएकाे कनकासुन्दरी-४ का वडाध्यक्ष सूर्यमणी हमालले बताए। 'म कुनैबेला जनयुद्ध लडेर बाँचेर घर आएकाे थिएँ। ससुराली जाँदा उहाँसँग पहिलो पटक भेट भयो। उहाँ मेरो जेठान पर्नुहुन्थ्यो,' उनले भने, 'उहाँले मलाई कुटो समाएर बारीमा जानू होला। तरकारी फस्टायो इज्जत रहन्छ भन्नुभयो। राजनीति गर्ने भए, तेरो-मेरो नभन्नु, जात-विजात नभन्नु, धनी-गरीब नभन्नु, पार्टीको स्वार्थ नमान्नु, विकासमा कुनै पूर्वाग्राह नराख्नु भन्नुभयाे। यस्ताे निष्ठावान मान्छे मैले सायदै कम देखेकाे छु।'
धेरै देउडा खेलाडीहरु लालु शाहीको विषयमा गीत गुनगुनाउँछन्। उनकाे अभाव खड्किरहेकाे भनेर गीतमार्फत भावुक हुन्छन्।
उड्याै र को ठौर पुग्यौ, खोजी भेटिन्यानाई।
याे जुनीभर लालु शाहीकाे, सौंराई मेटिन्या नाई।।
उखान कस्ता, टुक्का कस्ता, सुन्दा खुसी हुने।
आर्दश, दुरदर्शी नेता सम्झेर, जनता सधैँ रुने।
सिंजा प्रदेश (ख) का सांसद टेक राज पछाईं लालु शाही जुम्लाका राज नेता भएको बताउँछन्। उनले भने, 'उहाँकाे जीवनीबाट अहिलेका राजनीति गर्ने व्यक्तिले धेरै कुरा सिक्नु पर्नेछ। एक आदर्श व्यक्ति बन्ने प्रेरणा उहाँबाट लिन सकिन्छ।'
माओवादी द्वन्द्वकाे समयमा धेरैजसाे काँग्रेस, एमालेका नेता गाउँबाट विस्तापित भए। तर उनी माओवादीसँग राजनीति व्यवहार प्रदर्शन गरी गाउँमै बसे। आफ्नाे क्षमताले सिंजाकाे सेवामा अनवरत खटेका लालु शाही जीवनकाे उत्तरार्धमा पनि जनताकाे सेवामै लागिपरेकाे काँग्रेस नेता लंक शाहीले बताए।
उनले भने, 'नराकोट स्कुलका लागि दुई लाख रेडक्रसबाट खातामा हालेर बजारदेखि फर्किएपछि २०६४ साल साउन महिनामा बाटाेमै उहाँकाे मृत्यु भएको थियाे। याे समग्र सिंजाकाे लागि कालाे दिन थियाे,' उनले विगत सम्झिँदै मलिन अनुहार लगाएर भने।