किन राेकियाे बी डिभिजन लिग ?

Photo - RK
Photo - RK

अखिल नेपाल फुटबल संघ (एन्फा)ले ताेकेकाे समयमा बी डिभिजन लिग सञ्चालन हुन सकेकाे छैन। गत चैत्र १५ गतेदेखि लिग सञ्चालन गर्ने निर्णय गरेको थियो। तर पहिलोपटक तोकिएको मितिमा लिग हुन नसक्दा एन्फाले पुन: गत चैत्र २९ गते खेल सञ्चालन गर्ने भने पनि हाल हालसम्म हुन सकेकाे छैन।

एन्फाको कार्यसमिति बैठक र बी डिभिजन लिगका क्लबहरुबीच चैत्र १५ गतेबाट लिग सुरु गर्न सम्झौता भएकाे थियाे। तर तोकिएको मितिमा लिग सञ्चालन नभएपछि गत चैत २८ गते बी डिभिजन लिगका सबै क्लबहरुले एन्फालाई ४५ दिनको क्षतिपूर्ति माग गरेको छ। समयमा खेल सञ्चाल गर्न नसकेको भन्दै क्लबहरूले क्षतिपूर्तिको माग गरेका हुन्।

अहिले लिग हुने वा नहुने भन्नेमा आशंकामा क्बलहरु नै चिन्तिमा छन्। बजेट अभावको कारणले गर्दा लिग सञ्चालन नभएकाे भन्दै यतिबेला एन्फाको चौतर्फी आलोचना भइरहेको छ। तर एन्फाका एक पदाधिकारीले भने बाहिर आएकाे हल्ला सत्य नभएकाे र बी डिभिजन लिग सञ्चालन चाँडै सञ्चालन हुने बताए।

'आधिकारीक रुपमा बी डिभिजन लिग नगर्ने भनेको छैन, बाहिर हल्ला व्यक्तिगत रुपमा भएको हो', ती पदाधिकारीले बिएल नेपाली सेवासँग भने। एन्फाले यसअघि ए डिभिजन लिग पनि तोकेको मितिमा गर्न सकेको थिएन। ए डिभिजन लिग पुसमा गर्ने भनेतापनि एन्फाले दुई महिनापछि गत फागुन १९ गतेबाट खेल सञ्चालन गरेकाे थियाे।

एन्फाको पछिल्लो गतिविधि देखेर बी डिभिजन लिगबारे लिगका क्लबहरु सशंकितमा छन्। एन्फाका पदाधिकारी भन्छन्, 'एन्फासँग बजेट नभएर लिग नगराएको होइन, लिगको बारेमा एन्फाले फिफा र एफसीमा पनि पत्रचार गरिरहेको छ। एन्फाले उहाँहरुसँग बजेटको लागि पनि पहल गरिरहनुभएको छ। यदि फिफा र एफसीले लिगका लागि बजेट नदिए पनि एन्फाले बजेटको म्यानेज गरेर लिग सञ्चालन गराउँछ।'

यसअघि २०७८ सम्पन्न गरेकाे बि डिभिजन लिगको रकम अझैसम्म पनि नपाएको र एन्फाको वार्षिक कार्यक्रममा कुनै अवरोध नपुगोस् भनेर यसपटको लिग खेल्ने सबै क्लब तयार भएको लिगका क्लबहरुले एक पत्रकार सम्मेलनमा भनेका थिए।

बी डिभिजन लिग कहिलेबाट सुरु हुन्छ?भन्ने बिएल नेपाली सेवाको प्रश्नमा ती पदाधिकारीले भने, 'बी डिभिजन लिग तोकिएको मितिभन्दा टाढा गएको हो तर अब लिग कहिले नै हुन्छ भन्ने भाहिँ एकिन छैन। लिग सञ्चालनबारे एन्फाको कार्यसमिति बैठकपछि थाहा हुन्छ। एन्फाले बी डिभिजन लिग नगराउने भनेको छैन। यस विषयमा एन्फाभित्र छलफल भइरहेको छ।' लिगका क्लबहरुले बी डिभिजनबाेर चासो राख्दा तर एन्फाले भने आश्वासन मात्र दिइरहेको छ।

सिंगल राउन्ड रोविनको आधारमा हुन लागेको उक्त प्रतियोगिताका लागि १४ वटै क्लबले १४ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको थियो।

बी डिभिजन लिगका लागि  प्रत्येक टोलीले २० खेलाडी राख्न पाउनेछन् भने लिग विजेताले १५ लाख, उपविजेताले १० लाख रुपैयाँ तथा तेस्रो हुनेले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन्।

लिग सञ्चालन समयमै नभएको कारणले गर्दा गत वर्ष मात्र ४० जनाभन्दा बढी फुटबल खेलाडी विदेश पलायन भएका थिए। एन्फाले बि डिभिजन लिग पनि समयमा नगराए नेपाली फुटबलले घाटा बेहार्ने अवस्था छ।

प्रकाशित मिति: : 2023-04-14 14:04:00

प्रतिकृया दिनुहोस्