महासंघ निर्वाचन: जिल्लानगर र वस्तुगतर्फ मतदान सकियो, एशोसिएटको जारी

नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यकारिणी समितिको निर्वाचन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी छ।

बिहान ८ बजेदेखि सुरु भएको मतदानमा जिल्लानगर र वस्तुगततर्फको मतदान सकिएको छ भने एशोसिएटतर्फतको मतदान जारी रहेको निर्वाचन अधिकृत रमणकुमार कर्णले जानकारी दिए।

‘बिहान ८ बजेदेखि सुरु भएको मतदान बीचमा केहीबेर अवरोध भएकाले थप दुई घण्टा समय थप गरेर साँझ ६ बजेसम्म कायम गरिएको छ’, उनले भने,‘हालसम्म जिल्लानगर र वस्तुतर्फको मतदान सकिसकेको छ भने एशोसिएटतर्फ एक हजार पाँच सयभन्दा बढी मत खसिसकेको छ।’

महासङ्घकाअनुसार वस्तुगततर्फ एक सय २३ र जिल्ला नगरतर्फ एक सय १९ जना मतदाता छन् भने एशोसिएटतर्फ एक हजार सात सय ६२ मतदाता छन्। निर्वाचन अधिकृत कर्णका अनुसार जिल्लानगर र वस्तुगततर्फ शतप्रतिशत मतदान भएको छ।

यो निर्वाचनबाट आगामी तीन वर्षको कार्यकालका लागि नयाँ नेतृत्व चुनिँदैछ। महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष बन्दै छ। अहिले वरिष्ठ उपाध्यक्षका लागि रामचन्द्र सङ्घई, अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच त्रिपक्षीय प्रतिस्पर्धा भइरहेको छ।

निर्वाचनमा सङ्घई प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हीराचन र एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ उम्मेदवार छन्। अञ्जन श्रेष्ठ प्यानलमा वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान र जिल्ला नगर उपाध्यक्षमा अरुणराज सुमार्गी उम्मेदवार छन्। उमेशलाल श्रेष्ठको प्यानलमा जिल्ला नगर उपाध्यक्षतर्फ दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल उम्मेदवार छन्। एसोसिएटतर्फको उपाध्यक्षमा भने अञ्जन श्रेष्ठ प्यानल र उमेशलाल श्रेष्ठ प्यानलको संयुक्त उम्मेदवारका रुपमा भरतराज आचार्य रहेका छन्।

महासङ्घ कार्यकारिणी समितिमा प्रत्येक प्रदेशबाट एक–एक जना सदस्य रहन्छन्। जसका लागि कोशी प्रदेश सदस्यमा टङ्कप्रसाद दुलाल, नरेन्द्रकुमार खड्का र तारानाथ घिमिरेबीच प्रतिस्पर्धा भइरहेको छ। मधेस प्रदेश सदस्यका लागि विजयकुमार साह र अरुणकुमार प्रधानको उम्मेदवारी छ भने बागमती प्रदेशबाट कृष्णप्रसाद अवाल र सविन श्रेष्ठ आमनेसामने छन्। गण्डकी प्रदेशबाट जीवनज्योति श्रेष्ठ र युवराज राजभण्डारीको उम्मेदवारी परेको छ भने लुम्बिनी प्रदेशबाट जम्शेर मियाँको एकल उम्मेदवारी छ। त्यस्तै, कर्णाली प्रदेशबाट लालिमान बुढा, धनबहादुर रावत क्षेत्री र कुलबहादुर विश्वकर्मा तथा सुदूरपश्चिम प्रदेशबाट रामबहादुर भण्डारी र जङ्गबहादुर मल्लको उम्मेदवारी छ।

संस्थापक सदस्य समूहतर्फ भीष्मप्रसाद न्यौपाने र टीकाराज ढकालको उम्मेदवारी छ। उनीहरुमध्ये एकजना निर्वाचित हुने छन्। वस्तुगत सङ्घतर्फको सदस्यमा २८ जनाको उम्मेदवारी परेकामा १४ जना निर्वाचित हुने छन्।

त्यस्तै जिल्ला नगर सङ्घ सदस्यमा ३२ जनाको उम्मेदवारी परेको छ। जसमा १८ जना निर्वाचित हुनेछन्। एसोसिएट सदस्यतर्फ १९ जना सदस्यका लागि ३० जनाको उम्मेदवारी परेको छ। द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घ सदस्यतर्फ सुनिल केसीको एकल उम्मेदवारी परेको छ।

महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षको उम्मेदवार निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने भएकाले कुनै उम्मेदवार पहिलो चरणमा निर्वाचित हुन नसकेका दोस्रो चरणका लागि भोलि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म फेरि मतदान हुनेछ।

प्रकाशित मिति: : 2023-04-12 18:40:00

प्रतिकृया दिनुहोस्