कास्कीमा पशु चौपायामा खोप प्रभावकारी

कास्की जिल्लामा पशु चौपायामा लागू गरिएको खोप कार्यक्रम प्रभावकारी बनेको छ। पशुमा लाग्ने रोग सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ देखि पूर्णखोप लगाउने व्यवस्था गरेकामा हालसम्म विभिन्न क्षेत्रमा गरी दुई लाख १८ हजार सात सय खोप लगाइएको छ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख डा शम्भुराज पाण्डेका अनुसार गत वर्ष मात्र गाई, भैँसी र बङ्गुरमा मात्र ९४ हजार चार सय एक खोप लगाइएको छ। गाई–भैँसीमा नै हुने अर्को भ्यागुुते र चरचरे गरी २६ हजार तीन सय ७१ खोप लगाइएको छ भने बङ्गुरका स्वाइनफिबरका लागि करिब १५ हजार खोप लगाइएको छ।

त्यस्तै भेडाबाख्रामा हुने पिपिआर रोग नियन्त्रणका लागि झन्डै ७७ हजार र रेबिजविरुद्धमा ६१ हजारभन्दा बढी खोप लगाइएको डा पाण्डेले जानकारी दिएका छन्। खोप लगाउनका लागि गाउँ–गाउँमा किसान सचेत कार्यक्रम भइरहेको र स्वतःस्फुर्त माग पनि बढिरहेको उनले बताए।

खोपको बारेमा हेम्जा गाई फार्मका सञ्चालक एवं किसान घनश्याम तिमिल्सिनाले खोप प्रभावकारी रहेकाले खोरेतको दुईपटक र अन्य खोप एकपटक लगाउने नीति सरकारले अगाडि बढाउनुपर्ने बताइ।

कार्यालयका पशु विकास अधिकृत सहदेव पौडेलले पशुधनको क्षति न्यूनीकरण हुने र राष्ट्रिय उत्पादनमा टेवा पुग्ने बताउँदै यस वर्षको पूर्णखोप कार्यक्रम पोखरा महानगरपालिकाबाट सुरु भइसकेको र अन्य गाउँपालिकामा किसानलाई अभिमुखीकरण गरिएको जानकारी दिए।

भेडाबाख्राका लागि पिपिआर खोप चलिरहेको र महानगरपालिकाबाट प्राविधिक जनशक्ति अन्य पालिकामा पुगेपछि सबै किसिमका खोप गाउँपालिकामा पुर्याउने उनको भनाइ छ। पूर्णखोप कार्यक्रमले पशुवस्तुमा हुने क्षति न्यूनीकरण गरेको अर्का किसान शोभाखर भण्डारीले जानकारी दिए।

प्रकाशित मिति: : 2023-04-05 09:08:00

प्रतिकृया दिनुहोस्