अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्र्म्प आज (मंगलबार) न्युयोर्क अदालतमा पेश हुँदैछन्। मिडिया स्राेतकाअनुसार उनले आजै अदालतसमक्ष आत्मसमर्पण गर्ने तयारी गरेका छन्।
सन् २००६ मा अश्लील सिनेमाकी नायिका स्टर्मी डानियल्सलाई आफूसँगको शारीरिक सम्बन्धको बारेमा नबोल्न १ लाख ३० हजार डलर दिएको बारेमा आपराधिक कार्य गरेको आरोप लगाइएको छ। ट्र्म्पले मंगलबार दिउँसो २ बजेर १५ मिनेटमा आत्मसमर्पण गरेपछि उनलाई '३४ क्लास इ' अर्थात् गुण्डागर्दीको आरोप लगाइनेछ।
उनलाई हतकडी लगाइने छैन र उनको फोटो–भिडियो पनि खिच्न दिइने छैन। ट्र्म्पका समर्थकहरूले होहल्ला गर्न सक्ने आशंकामा ३५ हजार प्रहरीलाई खटाइएको छ। र, गोली हान्ने आदेशसमेत दिइएको छ। सन् २०२४ मा हुने राष्ट्रपति चुनावमा उम्मेदवारी दिने तयारीमा रहेका ट्र्म्प पहिलो पूर्वराष्ट्रपति हुन्, जसलाई अपराधिक काण्डमा गिरफ्तारी गरिँदैछ।
ट्र्म्पका वकिल टड ब्लेञ्चकाअनुसार ट्र्म्पले आफूमाथि लागेको आरोपको अस्वीकार गर्दै आउँदो राष्ट्रपति निर्वाचनमा आफ्नो विजय निश्चित भएकोमा डराएर आफूमाथि राजनीतिक प्रतिशाेध राखेको बताएका छन्।