नेपालको अर्थतन्त्र चर्को ब्याजदर, ब्याजदरको अस्थिरता र कर्जा सङ्कटबाट गुज्रिरहेको छ। यसले लगानीको वातावरण धूमिल पारेको छ। राजस्व सङ्कलनमा सङ्कुचन आएको छ। ब्याजदर अस्थिर हुनुको कारण बजारसँग सम्बन्धित प्रणालीगत जोखिमलाई लिन सकिन्छ। त्यस बाहेक प्रचलित कानून तथा आन्तरिक परिवेशको अवस्थिति र नियामकीय प्रावधानहरूका कारण ब्याजदरमा अस्वाभाविक उतारचढाव (चलखेल) देखिने गरेको छ। यस्तै‚ तरलताले पनि यसमा प्रत्यक्ष प्रभाव पारेको छ।
भुक्तानी सन्तुलनको स्थिति (विदेशी मुद्रा सञ्चितिको अवस्था)का कारण नेपालको अर्थतन्त्रमा तीनदेखि पाँच वर्षको अवधिमा अधिक तरलता तथा तरलता सङ्कटको चक्र घुम्ने गरेको छ।
नेपालले कुल गार्हस्थ्य उत्पादनको करीब ५० प्रतिशत बराबरको वस्तु तथा सेवा आयात गर्छ। कुल उत्पादनको पाँच प्रतिशत बराबर मात्रै निर्यात गर्छ। आर्थिक वर्ष २०७८/७९ मा कुल वस्तु तथा सेवाहरूको उपभोग करीब २८ प्रतिशत आयात मार्फत भएको देखिन्छ। आन्तरिक उत्पादनले कुल उपभोगको ७२ प्रतिशत मात्रै ओगटेको छ।