अब सदरमुकाम नुन ल्याउन जानुपर्ने बाध्यता हट्याे

फाइल तस्बिर
फाइल तस्बिर

कालीकोटको पचालझरना गाउँपालिका–८ को भैँसीसेन गाउँमा आयोडिनयुक्त नुन डिपोको स्थापना गरिएको छ।

नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको जिल्ला शाखाको समन्वयमा आयोडिनयुक्त नुन डिपोको स्थापना गरिएको हो।

आयोडिनयुक्त नुन गाउँमा नै उपलब्ध गराउने उद्देश्यले डिपोको स्थापना गरिएको पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाहीले बताए। 'आयोडिनयुक्त नुन ल्याउनका लागि जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता थियो', उनले भने, 'अब सदरमुकाम जानुपर्ने बाध्यता हटेको छ।' 

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड जिल्ला शाखाको सहकार्यमा गाउँमा नै नुन डिपोको स्थापना गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर विश्वकर्माले बताए। 'आयोडिनयुक्त नुन ल्याउनका लागि यहाँबाट सदरमुकाम जान र आउनका लागि कम्तीमा रु तीन हजार खर्च हुने गरेको थियो।

'त्यहाँ गएर पनि एकजनाले पाँच किलो मात्र नुन पाउने गर्नुहुन्थ्यो', उनले भने, 'प्रतिकिलो नौ रुपैयाँ पर्ने नुनका लागि ल्याउन जाँदा खर्च बढी हुने गरेकामा अब त्यो हट्ने भएको छ।' पचालझरना गाउँपालिकाको लामो प्रयासपछि पालिकाको स्थानीयलाई बीच ठाउँमा डिपो स्थापना गरिएको गाउँपालिका अध्यक्ष शाहीले बताए।

प्रकाशित मिति: : 2023-03-26 20:37:00

प्रतिकृया दिनुहोस्