किसानलाई अनुदानमा कृषि उपकरण

कास्कीको पोखरा महानगरपालिकाले कृषकलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ। महानगरले किसानलाई आधुनिक उपकरण वितरणका साथै उनीहरुलाई यसको प्रयोगबारे जानकारी समेत दिएको छ।

चालु आर्थिक वर्षको बजेटबाट पचास प्रतिशत अनुदानमा विभिन्न मेसिनरी सामान वितरण गरिएको पोखरा महानगरपालिकाका कृषि विकास महाशाखा प्रमुख मनहर कडरिया जानकारी दिए। महानगरले हाते ट्याक्टर दुई सय ६१ थान, कम्बाईन मिल ६२ थान, थ्रेसर ६ थान, ग्रास कटर एक सय आठ थान, पावर स्प्रे तीस थान, तेल पेल्ने मेसिन छ थान र ड्याङ बनाउने मेसिन २९ थान  अनुदानमा दिएको उनले बताए। 

कृषि महाशाखाले पोखरा महानगरका २५ वटा वडाका कृषकलाई मागका आधारमा ती सामान प्रदान गरेको हो। कृषिमा यन्त्रीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले महानगरले ती कृषि मेसिनरी अनुदानमा दिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिनुए। 

किसानलाई खेती गर्न सहज होस् भनेर अनुदानमा हाते ट्याक्टर दिइएको प्रमुख आचार्यले बताए। ‘गोरु पाल्न छाडेका छन्। परम्परागत रुपमा खेती लगाउँदा समय पनि धेरै लाग्छ, प्रमुख आचार्यले भने, ‘खेतीलाई सरल र सहज बनाउन कृषि मेसिनरी दिएका छौं। यसले कम समय लाग्छ। खर्च पनि कम हुन्छ।’ 

कृषिमा यान्त्रीकरण, व्यवसायीकरण र बजारीकरण गर्नुपर्ने भन्दै उहाँले यसका लागि किसानलाई सहयोग गरिएको बताए। ‘कृषिमा यान्त्रीकरण गर्नसके लागत घट्छ, मुनाफा बढ्छ’, उनले भने, ‘किसानको समस्या बुझेर कृषिमा यान्त्रीकरण गर्नतर्फ लागेका छौँ।’

महानगरको अनुदान सहयोगमा हाते ट्याक्टर लिनुभएकी पोखरा महानगरपालिका वडा नं. ३३ की कृषक ज्योती गुरुङले समय र पैसा बच्ने बताए । ‘गाउँमा हाते ट्याक्टर थिएन्। पालो कुरेर अरुलाई बोलाउनुपर्ने अवस्था थियो। अनि घण्टाको एक हजारसम्म पैसा पनि तिरियो,’ गुरुङले भन्नुभयो, ‘अब पैसा र समय बचत हुने भयो।’ 

प्रकाशित मिति: : 2023-03-22 06:08:00

प्रतिकृया दिनुहोस्