रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ५ जस्पुर गाउँका ६५ वर्षीय पूर्णलाल विश्वकर्माले लामो समयदेखि आरन पेशा गर्दै आएका छन्।
आफ्ना पुर्खाले पुस्तौँपुस्ताबाट चलाउँदै आएको यस पेशालाई निरन्तरता दिन उनले पनि १३ वर्षको कलिलै उमेरबाट आफ्ना बाउबाजेको सहयोगीको रुपमा बसेर सिक्न थाले।
समयसंगै उमेर बढ्दै जाँदा पारिवारिक जिम्मेवारीले बाँध्न थाल्यो। त्यतिबेला गाउँघरमा जातीय छुवाछुत चरम बिन्दुमा थियो। दलित समुदायको भएकाले उनले छोएको पानीसमेत माथिल्लो जाति भनिनेहरुले नखाने हुँदा अन्य पेशा रोज्न सकेनन्। दुईछाक टार्नकै लागि उनले बाउबाजेकै पेशालाई निरन्तरता दिने साेच बनाएर अगाडि बढे।
सुरुसुरुमा घरेलु औजारहरु हँसिया, खुर्पा, खुकुरी, कुटो, कोदालो आदि निर्माण गरिदिए बापत गाउँलेहरुले हिसाब गरेर धान, गहुँ, मकै जस्ता खाद्यान्न दिने गर्थे। कसैले परिश्रम गरेबापत ठिकै अन्न दिने गर्दथे भने कसैले सानो जाति भनेर ठग्ने पनि गर्दथे। आफूले छोएको पानी नचल्ने भएपनि आफूले बनाएका औजारहरु ठुलावडा भनिनेहरूका घरमा मात्रै होइन, मन्दिरमा पनि प्रयोग भएको देख्दा सन्तुष्ट हुँदै खुसीका साथ पेशालाई निरन्तरता दिने उर्जा मिलेको उनी बताउँछन्।
अनेकौं समस्याको बाबजुद गाउँमै यही पेशालाई निरन्तरता दिँदै आए। हाल ५ वर्ष यताबाट व्यावसायिक रुपमा आरन पेशालाई निरन्तरता दिन होलेरी बजारबाट कामको सुरूवात भयो। तर फलामलाई शारीरिक परिश्रम र बल खर्चेर आकार दिन त्यति सजिलो भने छैन।
आधुनिक र विद्युतीय युगमा पनि दिनभरी फलाम पिट्दा उमेरका कारण शरीर दुख्ने र परिश्रमअनुसार कमाई पनि नहुने उनले दुखेसो सुनाए। स्थानीय सरकारले आवश्यक उपकरण दिन सके आफूहरुलाई सहज हुने विश्वकर्माको भनाई छ।
पुरानै प्रविधिबाट काम गर्दा दिनभरिको कमाईले साँझ-बिहानको छाक टार्न हम्मेहम्मे परिरहेको उनले बताए। स्थानीय सरकार रुन्टीगढी गाउँपालिकाले भने आफूहरु जस्तो निम्नस्तरको पेशाकर्मीहरुको मर्म बुझ्नुको सट्टा कुनै पनि चासो नदिएको उनको गुनासो छ।
पहुँच नहुनेहरुलाई स्थानीय सरकारले नहेर्ने र पेशालाई निरन्तरता दिन नसकिने बाध्यता रहेको अन्य आरन व्यवसायीको समेत भनाई छ। यसरी दलित समुदायको परम्परागत पेशालाई संरक्षणमा सरकारले ध्यान नदिने हो भने आरन पेशा संकटमा पर्ने सम्भावना बढेको छ।