भारतको महाराष्ट्रमा एचथ्री एनटू भाइरस सङ्क्रमित दुई जनाको मृत्यु

बिएल संवाददाता

नयाँ दिल्ली
Symbolic photo
Symbolic photo

भारतको पश्चिमी राज्य महाराष्ट्रमा एचथ्री एनटू भाइरस सङ्क्रमित दुई जनाको बुधबार मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

महाराष्ट्रका स्वास्थ्यमन्त्री तानाजी सावन्तले भन्नुभयो, 'सङ्क्रमित मृतकमध्ये एक जना अहमदनगर जिल्लाका मेडिकल विद्यार्थी भएको र अर्को एक जना नागपुरका ज्येष्ठ नागरिक भएको स्थानीय अस्पतालबाट प्राप्त सूचनामा उल्लेख छ।'

'दुवै बिरामीमा अन्य थुप्रै समस्या पनि उपचारका क्रममा देखिएको थियो,' उनले भने। 

दुई जनाको मृत्यु भएको पुष्टि भएपछि स्थानीय सरकारले सङ्क्रमण हुनबाट सावधानी अपनाउन स्वास्थ्य प्रशासन र राज्यभरका अस्पताललाई सचेत गराएको छ। राज्यमा हालसम्म तीन सय ५० भन्दा बढी बिरामीमा एचथ्री एनटू भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

भारतका धेरै भागहरूमा फ्लुका बिरामीहरू बढेका छन् र बिरामीहरूले लामो समयसम्म खोकी लाग्ने, ज्वरो आउने र श्वासप्रश्वाससम्बन्धी समस्याहरूको गुनासो गरिरहेका छन्।

स्वास्थ्य मन्त्रालयले एकीकृत रोग निगरानी कार्यक्रम (आईडीएसपी) सञ्जालमार्फत विभिन्न राज्यमा मौसमी फ्लुको अवस्थालाई नजिकबाट नियालिरहेको जनाएको छ। भारतको काउन्सिल अफ मेडिकल रिसर्चले पनि मौसमी फ्लुको रोकथामका लागि सावधानीबारे परामर्श जारी गरेको छ।

गत हप्ता सङ्घीय स्वास्थ्य मन्त्रालयले कर्नाटक र हरियाणामा एचथ्री एनटू इन्फ्लुएन्जाका कारण एक÷एक जनाको मृत्यु भएको पुष्टि गरेको थियो।

प्रकाशित मिति: : 2023-03-16 05:36:00

प्रतिकृया दिनुहोस्