शिक्षा मानव जीवनमा अपरिहार्य छ भन्ने कुरा सुन्दै हुर्किएकाे थिएँ। उसो त सधैं यही बुझेको हुँ कि शिक्षा भनेको पुस्तक भित्रको पानामा लेखिएका अक्षरहरु हुन्, जसले मानिस बन्न सिकाउँछन्। शिक्षा भोगाइ पनि रहेछ भन्ने चाहिँ समयले सिकाएकाे हाे। एकदिनमा कति धेरै काम गरिन्छ, कति धेरै मानिसहरुसँग साक्षत्कार गरिन्छ अनि कयाैँ अध्ययन र अनुभव गरिन्छ। हरेक अध्ययन, अनुभव र भाेगाइले केही न केही प्रभाव पारिरहेकाे हुन्छन्, त्यसो भए त्यो पनि त सिकाइ रहेछ वा भनौं शिक्षाको एक भाग रहेछ। जीवनमा मानिसको भोगाइको पराकाष्ठा हुन्छन्, त्यसमा केन्द्रित गर्ने हो भने हामी चाहिँ भोगाइको प्रथम चरणतिरै छौँ।
यसरी लेखिरहँदा मेराे मन निकै भारी हुन्छ। किनकि, बाल्यकालमा सम्झन लायक केही छैनन्। हुन त अहिले पनि सम्झनाका लागि राख्ने केही छैनन्। तर, बाल्यकाल भन्ने बित्तिकै मन भारी हुने चाहिँ धेरै कमको होला। बाल्यकाल लगभग एउटा नराम्रो सपनाजस्तै सकिएको हो, जो ब्युँझिएपछि ‘थ्याङ्क्स गड्’ सपना पाे रहेछ भन्ने अनुभव हुन्छ। तर, सपना चाहिँ काल्पनिक हुन्छ, धेरै समय दुखाउँदैन। अनि, विगत चाहिँ काल्पनिक जीवनको भोगाइ भएकोले आफूसँगै हिँडिरहन्छ। मेरो एउटा सुन्दर बाल्यकाल खुसी पाउँदै अनि समय गुमाउँदै बित्यो। बाल्यकाल सम्झदा मस्तिष्कमा धेरै खुसी, थोरै अभाव अनि अपमानका घाउ झल्किन्छन्। बाल्यकालको समय नै छुट्टै थियो, सानोतिनो कुरामा खुसी र दुख हुन्थ्यो। त्यो बेलाको सकारात्मक र नकारात्मक जस्तोसुकै घटना होस्, प्रभाव पारेको चाहिँ पछिसम्म छाप रहिरहँदोरहेछ। खुसी हुन र नराम्रा कुरा अस्वीकार गर्न सिक्नुपर्छ भन्ने क्रममै छु म, सायद अझै केही टिनेज बाँकी रहेकोले होला।
बाल्यकाल सम्झदा मेरो ओठमा मुस्कान आउने भनेको ड्याडीसँग बिताएको समय र उहाँले गरेका कुराहरु मात्र हुन्, जो मलाई सबैभन्दा बहुमूल्य समय लाग्छ। फर्केर तिनै दिनमा जान पाए अझै धेरै कुरा समेटेर राख्ने थिएँ, ताकि आजको दिनमा ड्याडी नहुँदा पनि ती यादहरुले ड्याडीको कमी पूरा गर्ने थिए। यो बच्चै छु भन्ने हर्कत हो, जो असम्भव कुराहरु सोचेर खुसी हुन्छु। अहिले पनि अलिकति कसैले थाेरै आफ्नोपन देखाइदिए म पूरै त्यो व्यक्तिको खुसीको लागि दौडिन्छु। अलिकति ड्याडीको आकृति भेटेँ भने त्यो अञ्जान व्यक्ति अब मेरो जीवनको हिस्सा हो भन्ने भाव उत्पन्न हुन्छ। सायद, म भित्रको बाँकी रहेको अपरिपक्वताको नतिजा हुनसक्छ यस्तो सोच आउनु। किनकि आफ्नो पनि आफ्नो नहुने दुनियाँमा अरुले अलिकति आफ्नोपन देखाउँदा उसलाई पूरै आफ्नो मान्नु त अपरिपक्वता नै हो।
यस्तै अपरिपक्वता र जिज्ञासाले भरिएको एकहुल सुन्दर भविष्यकाे गन्तव्य भेट्न दौडिरहेको प्रतियोगिहरुसँग म मेरो दिनभरको समय बिताएर आउँछु। खासै त केही हाेइन, उनीहरुको यात्रा सहज गराउन पाए हुन्थ्याे भन्ने प्रयासमा अक्सर समयहरु बगिरहन्छन्। मलाई आफू भित्रको त्यो हिजोकाे बाल्यकालमा सही/गलतको भूल-भूलैयामा भूलेको मसँग भेटिरहेको छु भन्ने अनुभूती हुन्छ। बाल्यकालको मस्तिष्क भनेको एउटा गिलो माटोको थुप्रोजस्तै हुन्छ, जसलाई जस्तो आकार दियो त्यस्तै बन्छ। प्रश्न गर्ने उमेर हो, उनीहरुको अनि प्रश्नहरू यस्ता हुन्छन् कि जसको उत्तर खोज्न हम्मेहम्मे पर्छ।
मलाई उनीहरुको प्रश्नले हरेकदिन कुनै न कुनै नयाँ कुरा सोच्नमा व्यस्त बनाइरहेको हुन्छ। पाठ्यपुस्तकभन्दा बाहिर पनि अध्ययनको पुस्तकालय छन्, जो समाज हो। समाजका हरेक ठाउँमा सिकाइ छन्, उनीहरुको प्रश्नले नै यो कुराको प्रमाण दिन्छ कि अबको पुस्ता कति आत्तुर छ समाजको अध्ययन गर्न। हामीले सोधेको प्रश्नमा जम्मा पाठ्यपुस्तक समेटेको हुन्छ तर उनीहरुको प्रश्न यो विश्व समेट्छ। जबसम्म चित्तबुझ्दो उत्तर भेट्दैनन् तबसम्म त्यो उत्तरको खोजी गर्नुपर्छ भन्ने ज्ञान उनीहरू आफैं सिक्ने र जान्ने भइसकेका छन्। आफ्नो समाजमा के चल्दैछ ? र त्यसको तात्पर्य के हो ? यदि त्यो गलत हो भने किन गलत हो ? र सही हो भने के आधारमा समाज त्यसलाई सही सावित गर्दछ ? यस्ता प्रश्नहरुले नै यो पुस्तालाई भोलिको दिनमा असल व्यक्तित्व बन्न सहयाेग गर्छ।
यो पुस्ता आफूलाई समाजको रीतिरिवाजमा पाइलामा पाइला मिलाएर चल्नुभन्दा पनि त्यसको इतिहास बुझ्न र त्यो इतिहासमा गरेको गल्ती नदोहोर्याउन तत्पर छ। समाजमा भएका अन्धविश्वासलाई कसरी विज्ञानले हराउन सक्छ ? कसरी आउँदो पुस्तालाई यो दलदलमा नपर्न हामी उत्प्रेरित गर्न सक्छौँ भन्ने जिज्ञासा र खोजको हौसला उनीहरुको अनुहारमा सधैं झल्किरहेको हुन्छ। मलाई उनीहरुसँगको वार्तालापमा कहिल्यै पनि म शिक्षक र ऊ विद्यार्थी हो भन्ने भाव नै हुँदैन। हामी बराबरी छलफलमा र त्यसको खोज/निष्कर्षमा ध्यान केन्द्रित हुन्छौं। मेरा धेरै दु:खद क्षणलाई सहज बनाउने मेरो साथी हुन् यी पात्रहरू, जो मलाई सधैं अघि बढ्ने हौसला र संघर्ष गर्ने प्रेरणा दिइरहन्छन्। म हरेकदिन नयाँ-नयाँ विषयवस्तुको अध्ययन गरिरहन्छु उनीहरुको व्यवहारबाट।
मेरो जीवनको सुखद क्षण हो यो, जुनबेला म यो पुस्तासँग समय बिताइरहेको हुन्छु। हामी एउटा परिवारजस्तै भएर सिक्नुपर्छ है...। कहिलेकाहीँ कुटाइ पनि खाइन्छ र कहिलेकाहीँ माया पनि पाइन्छ। कहिलेकाहीँ आँसु पनि आउँछ अनि कहिले पुरस्कारले खुसी पनि ल्याउँछ तर हामी सिक्न छोड्नुहुन्न भनिरहँदा उनीहरुको अनुहारमा जुन खुसी छाउँछ। त्यो खुसी दिनभरको थकान अनि तनावलाई कतै टाढा लगिदियाैँजस्तै अनुभव हुन्छ।
संघ संस्था एउटा व्यवसाय हो, यहाँ उनीहरुले सिकेको शिक्षाको मूल्य तिर्छन्। त्यसमा म हाेइन भन्दिनँ तर यही संघ संस्थाबाट जोडिएको हाम्रो सम्बन्ध त्यो मूल्यभन्दा धेरै अमूल्य छन्। उनीहरुले दिएको प्रेम, सिकाएको र सिकेको कुरा, उनीहरुलाई दिएको दण्डबाट पाएको दण्ड हरेकको छुट्टै कथा अनि व्यथा छन्, जसमा आनन्द मात्र छन्। खेलकुद, नाच/गान, अध्ययन, मनोरञ्जन यस्ता हरेक कुरामा उत्तिकै उत्सुकता अनि उत्तिकै सहभागीता। मानौं उनीहरुलाई हरेक कुरा जान्नुपर्छ भन्ने रुचिको कुनै हद नै छैन। जीवन होस् त यस्तो, १० वर्षमा कति धेरै कुराहरू परिवर्तन हुने रहेछन्। मैले हिजो बिताएको बाल्यकाल र अहिले संगत गरेको बाल्यकालबीच आकाश पातलको फरक भेट्छु। मलाई मेरो कामसँग धेरै लगाव छ। यो क्षेत्रले मलाई धेरै कुराहरु दिएको छ, जुन प्रेम र सम्मान हाे। सायद, म भागेदार छैन त्यो प्रेम र सम्मान दिएको छ। खासगरी यी पात्रहरू, जो मेरा हरेक पीडाबाट मुक्ति दिन्छन्, खुसी रहन सिकाउँछन्। म भित्रको ‘म’लाई स्वीकार गर्छु।
यहाँ हरकोही प्रतिभावान छन्, हरेकभित्र एउटा फरक-फरक क्षमता छ। यो जरुरी छैन कि हरकोही पढ्नमा उत्कृष्ट होस् वा अध्ययनमा उत्कृष्ट विद्यार्थी मात्र भोलि गएर सफल व्यक्तित्व बनाउँछ। यो भ्रम हो, अध्ययन पाठ्यपुस्तक मात्र हाेइन। उनीहरु भित्रको प्रतिभाको प्रस्फुटन नै उनीहरुको सफलताको कारण हो। हरेकमा सम्भावना छ, भोलिको दिनमा एउटा सफल व्यक्तित्व बन्ने चाहे त्यो जुनसुकै क्षेत्रमा होस्। उनीहरुको प्रतिभा प्रस्फुटन गराउन नसक्नु चाहिँ हामी शिक्षक र अभिभावकको कमजोरी हो। हामी हाम्रा बालबालिकालाई चाहेको भविष्य भेट्ने दबाबमा उनीहरुलाई दौडिन लगाउछौँ, नाकि उनीहरुले चाहेको भविष्य दिनमा उनीहरुलाई सपोर्ट गर्छौँ। किनकि, डर छ हामीलाई समाजको। समाजको प्रश्नको। हामी उनीहरुलाई हामीले चाहेजस्तो भविष्य दिने दौडमा उनीहरु भित्रको भविष्यमा कब्जा गरिरहेछौं। यो समाजको डर हाम्रो बालबालिकाको प्रतिभाको र उनीहरुको सुन्दर भविष्यको बर्बादी हो। हाम्रो डर उनीहरु भित्रको ऊर्जालाई डढेलो लगाइरहन्छ। हामीले उभ्याइदिएकाे विवशता र लाचारताले उनीहरुलाई हिँड्न बाध्य बनाउँछ, जस्तो हिजो हामी बाध्य थियौँ। हामी सुन्दर भविष्यको खोजीमा हरेकदिन उनीहरु भित्रको सुगन्धलाई मार्दैछौँ। पुँजीवादले जगडेको यो पुस्तालाई हामी हामीले गरेको गल्ती दोहोर्याउनतिर उत्प्रेरित गरिरहेका छौँ। यदि उनीहरुले आफू सफल नहुनुको प्रश्न गर्ने हो भने हामीसँग केही उत्तर हुने छैन।
हामी कहिले बुझ्छौँ कि अबको पुस्ता हामीले चाहेजस्तो हाेइन, उनीहरुले चाहेजस्तो हुनुपर्छ। ताकि, भोलिको दिनमा पछुताे र गुनासाे नआउन्। बोल्नु र गर्नुमा धेरूे फरक छ। हामी ठुलो मान्छे बनाउँछौँ भन्ने वचन पूरा गर्न उनीहरुलाई मानिससमेत बन्ने गुण सिकाउन बिर्सिन्छौँ। यो हाम्रो कमजोरी हो कि हामीले हाम्रो पुस्तालाई चाहेजस्तो सिक्ने वातावरण दिन सकेनौं। हामी हाम्रा बालबालिकालाई अभाव, अनुशासन र धैर्यताको ज्ञान नै दिन सकेनौं। सायद त्यसैले उनीहरुभित्र अराजकता बढ्दै जान्छ। सही र गलतको पर्वाह नगर्ने स्वभावलाई निरन्तरता दिँदै जान्छन्। किनकि उनीहरुलाई थाहा छ, भोलि मान्नुपर्ने र बन्नुपर्ने समाजले भनेजस्तो हो, नकि उनीहरुले चाहेजस्तो। हामी हाम्रो पुस्तालाई उनीहरुको गन्तव्यमा पुग्न कहिले सही मार्ग देखाउछौँ ?