पूर्वप्रमहरूकै झुन्डको गोलघरमा घुमिरहेको राजनीतिमा निर्वाचनअघि र पछिबीच तात्त्विक अन्तर देखिएन।
राजनीतिलाई सेवा होइन, पेसा बनाइयो। सत्तामा संस्कारले भन्दा सनकका कारण दाउपेच भइरह्यो। राजनीति फोहोरी खेल बन्यो। देशमा व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन भएन। पात्र फेरिए तर प्रवृत्ति फेरिएन। पार्टीहरू पूर्वप्रधानमन्त्री र पूर्वमन्त्री उत्पादनको कारखाना बनिरहे।’
यी उक्तिसँगै सीमित व्यक्तिको स्वार्थ र झन्के राजनीतिक धु्रवीकरणको प्रहसनमा अस्थिरताको चित्र अंकित छ। मुलुकको परिवर्तन र विकासमा केन्द्रीय राजनीति नै मुख्य बाधक बनिरह्यो। राष्ट्रपतिको चयन, सत्ताप्राप्ति र सत्ताच्युतभित्रको अन्तर्यसँग राजनीतिले बालुवाटारको गौंडोलाई छोडेन। तेस्रो शक्तिले पहिलो र दोस्रो शक्तिलाई कठपुतली बनाएर नचाउँदा रमाउने रमितेहरूको भीडमा न जनादेशको सम्मान छ न त राष्ट्रप्रेम। केवल दलाधीशका पिछलग्गुहरूको अन्धभक्तिका लागि कृपाको वर्षात् भइरहेको देखिन्छ। राज्यसत्ता बाँडी खाने खेलको चक्रव्यूहमा फसिरह्यो।