कुनैबेला नीति, सिद्धान्तप्रतिको प्रतिबद्धतामा आधारित एकतामा विश्वास गर्ने नेतृत्व अनि नीति सिद्धान्तअनुसारको व्यवहार गर्न दृढ अनुशासित कार्यकर्ताको पार्टी भनेर चिनिने नेकपा एमालेले क्रमश: आफ्नो परिचय भुल्दै गएको मात्रै छैन, उसका नीति र व्यवहारहरुले विगत एमालेको उज्यालो छविसहितको इतिहासमाथि नै अन्याय गर्ने देखिएको छ।
एक त विगतमा एमाले-माओवादी मिलेर बनेको नेकपा हुँदै कमरेडी भावना छोडेर नेतालाई ‘बा’ (सर्वेसर्वाको रुपमा) मान्ने प्रवृति सुरु गराउने केपी शर्मा ओली नै हाल एमाले अध्यक्ष रहनुभएकाले त्यो पार्टी यसै पनि ‘बामाले’को रुपमा कहलिएको छ। त्यसमाथि निर्वाचनपश्चातको ‘बार्दली गठबन्धन’ को गठन र दुई महिनामै त्यसको विघटन हुने दिनसम्म आइपुग्दा एमालेले जे जे गर्यो र अहिले पनि गरिरहेको छ। त्यसले उसलाई पार्टीको रुपमा भन्दा पनि आफ्नो फाइदाको लागि जे पनि समर्पण गर्न तयार रहनु पर्ने पेशाकर्मीहरु (जसको ठेट नेपाली शब्द नलेखौं) को समूहको रुपमा स्थापित गर्दै लागेको छ।
बहुदलीयतासहितको लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणदेखि विकाससम्म महत्वपूर्ण भूमिका खेलेको एमाले आज जुन खालको विहारी राजनीतिको पर्याय बन्दै गएको छ। त्यसले त्यो पार्टीमा रहेका निष्ठावान कार्यकर्ताहरुलाई त चिन्तित पार्ने नै भयो तर त्यससंगै लोकतन्त्रलाई माया गर्ने आम तमामलाई पनि चिन्तित बनाउँदै लगेको छ।
कतिपय पाठकहरुलाई लाग्न सक्ला कि एमाले एउटा बिग्रिएर आम रुपमा लोकतन्त्रलाई के फरक पार्ला त? हो, सिधा हिसाबले सोच्दा त्यो सवाल ठिकै हो तर लोकतान्त्रिक व्यवस्थाको एउटा महत्वपूर्ण पार्टी नीति सिद्धान्त सबै त्यागेर जोसुकैसंग जे जसरी भए पनि सत्ता साझेदारी गर्नुपर्छ र गर्न हुन्छ भन्ने मान्यताको वकालत गर्दै त्यसको अभ्यास गर्छ भने त्यसले सिंगो प्रणालीलाई नै दूषित पार्दै जाने खतरा हुन्छ। त्यसैले केही समयदेखि एमालेले लिएको नीति र अङ्गीकार गरेको व्यवहारलाई हेरेर चिन्ता एमालेको भन्दा पनि त्यसले प्रणालीमा पार्ने प्रभावको गर्न खोजिएको हो।
यति भनिसकेपछि एमालेले गरिरहेको र दुनियाँले देखिरहेको अनि उसैको इतिहासलाई समेत लज्जित पार्न काफी हुने उसका व्यवहारहरुको अलिकति व्याख्यात्मक चर्चा गरौँ। त्यसको सुरुवात गर्दै गर्दा स्मरण गरौँ- त्यो क्षण जब केपी ओलीले दुई पटक संसद विघटन गरिसकेपछि तत्कालीन नेकपा मात्रै नभई एमालेसमेत छिन्नभिन्न हुने अवस्था बनेपछिको परिवेशमा विगतमा नेकपाका एक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अनि एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल समेतको समर्थनमा शेरबहादुर देउवा प्रधानमन्त्री हुने अवस्था बन्यो।
इतिहासदेखि वर्तमानसम्मका घटनाहरुले पुष्टि गरेका छन् कि तत्कालीन अवस्थाको निर्माण तत्कालीन प्रधानमन्त्रीको रुपमा केपी ओलीले गर्नुभएको असंवैधानिक संसद विघटनकै कारण भएको थियो। तर आफ्नो कमजोरी लुकाउन केपी ओली र एमालेले देउवालाई प्रधानमन्त्री बनाउन मात्रै प्रचण्ड र माधव नेपालले पार्टी विभाजन गरेको अर्थ लगाएर माधव नेपाल र प्रचण्डहरुको दोहोलो काढेको काढेकै गरे।
आफूले गरेको असंवैधानिक संसद विघटनविरुद्ध उभिएर संविधानको पक्षधरता प्रस्तुत गर्ने माधव नेपालको त नाम लिँदासमेत आफूले कुल्ला गर्नुपर्छ भनेर केपी ओली स्वयंले भन्न भ्याउनुभयो। उहाँको असंवैधानिक कदमलाई अदालतले नै गलत ठहर गर्दै सच्याउँदा समेत उहाँले गल्ती स्विकार्ने भन्दा पनि अन्य नेताहरुलाई गाली गर्नुलाई बहादुरी ठानिरहनुभयो। उहाँकै कारण गाली संस्कृति यति बढ्यो कि आम मानिसहरुले टिभी रेडियोमा राजनीतिक समाचार नै हेर्न वा सुन्न समेत दिक्क माने।
जब उहाँको सत्ता ढलेर निर्माण भएको नयाँ सत्ता गठबन्धन दलहरु चुनावमा गठबन्धन बनाएर होमिए, त्यस गठबन्धनलाई ‘ठगबन्धन’ भन्नेदेखि त्यसका नेताहरुलाई निरन्तर गाली गर्नमै पनि उहाँ व्यस्त रहनुभयो। एकातिर लोकतन्त्र र संविधान पक्षधरहरुको एउटा गठबन्धनलाई गाली गर्दै गर्दा आफू चाहिँ ‘मण्डले’हरुसंग समेत गठबन्धन गर्न पनि ओली नै अग्रसर रहनुभयो।
जब केपी ओलीको कारण जनताले अत्यधिक बहुमत दिएर बनाइदिएको नेकपा सरकार ढलेर नयाँ सरकार बनेपछिको तत्कालीन पुनर्स्थापित संसदको बाँकी अवधिसमेत सकेर भएको चुनावमा जनताले सत्ता निर्माणमा गठबन्धनलाई अनिवार्य बनाइदिए, तब कुनैबेला गठबन्धन गर्नु अपराध नै हो कि भन्ने केपी ओली तत्काल गठबन्धन निर्माणको मसिहा बनेर उत्रनुभयो। यति हुँदै गर्दा केपी ओली त सर्वाङ्ग भैसक्नु भएकै थियो, तब त केपी ओलीसामु बोल्नै नसक्ने एमाले पंक्ति नै पो निरीह बन्याे।
त्यस्तो देखिने गरी राजनीतिक पतनको बाटोको सुरुवात केपी ओलीले तब गर्नुभयो, जब नीति सिद्धान्त र कार्यक्रमविना एमाले कोही कसैसंग गठबन्धन गर्दैन भन्ने आफ्ना हुँकारको खिलाफ गएर नेपाली कांग्रेस र माओवादीमध्ये गठबन्धन छोडेर जो पहिला आउँछ, त्यसैलाई प्रधानमन्त्री दिने टेण्डर खोलेर उहाँ आफूसहित एमालेको सामर्थ्य नै लिलाम गर्न तयार हुनुभयो।
आफूभित्र रहेको स्वार्थको चंगुलमा परेर कांग्रेसका सभापति देउवा र प्रचण्डले पनि केपी ओलीको ‘बार्दली टेण्डर’ मा नलजाई आवेदन हालेकै हुन्। अनि संसदको अंकगणितमा आफू समान रहेको कांग्रेसका देउवाभन्दा आफूले सहारा दिएको भनेर जस लिन सकिने र कजाउन पाइने माओवादीका प्रचण्ड नै ओलीको रोजाई बने।
यति भैसक्दा केपी ओलीको टेन्डर ओलीले भनेअनुसार भरेकोले प्रचण्ड नै प्रधानमन्त्री भए। हेर्दा ओलीले जितेको जस्तो देखिएको भए पनि त्यति हुँदै गर्दासम्म नीति सिद्धान्तमा सहमतिपश्चात मात्रै सत्ता गठबन्धन हुन्छ भन्ने केपी ओलीको भनाइ फेल खाइसकेको थियो। त्यति मात्रै हैन केपी ओली ‘बार्दली’ मा बसेर कहिले देउवालाई त कहिले प्रचण्डलाई फोन गर्दै 'आउनुस् आउनुस् हामीलाई सकेसम्म सस्तोमा छिटो सत्ता लानुस्' भन्दै हुनुहुन्थ्यो भन्ने पनि तत्कालै सर्वत्रले थाहा पाइसकेका थिए। तर प्रचण्ड प्रधानमन्त्री बन्न मात्रै निर्वाचन अगाडिको गठबन्धन छोडेर ‘बार्दली’ पुगेकोले मानिसहरुको नजरमा ओलीभन्दा प्रचण्डप्रति संसय ज्यादा थियो अनि एमालेजनलाई चाहिँ पृष्ठभूमि लुकाएर नै सहि कथित बामपन्थी सरकारको दुहाइ दिएर लाज ढाक्ने बहाना मिलेको थियो।
विधिको विडम्बना अनि ओलीको दुखद नियति नै भनौं, बनेको दुई महिनामै ‘बार्दली गठबन्धन’ टुटेर फेरि निर्वाचन पूर्वकै गठबन्धन बन्यो। आफूले गरेको लिलामी व्यापार फ्लप भएपछि पनि केपी ओलीसंग ‘तितो विगत भुलेर भएपनि बाम सरकार बनाउन प्रचण्डलाई समर्थन दिएको थियौं तर उनलाई पचेन’ भन्दै जोगिने बहाना थियो। तर उहाँ यतिसम्म लाग्नुभयो कि आजको मितिमा त एमाले केही लाभको लागि नै सहि बाटोमा बसेर आफ्नो अस्मिता लुटीदेउ भनेर कराउने पात्रझैं बनाएर 'आउ आउ मैले मागेको तिमी देउ अनि मेरो समर्थनमा प्रधानमन्त्री हाेउ' भन्दै छ।
यतिसम्म कि अहिले स्पष्ट जित्ने आधारसहित राष्ट्रपति हुन आठ दलीय उमेदवार बनेका रामचन्द्र पौडेलको प्रतिस्पर्धामा सुवास नेम्वाङलाई उतारेर आफैंले झैं नीति सिद्धान्तविहीन ढंगले अरु पनि हिँड्छन् होला भन्ने आशा गरेर चुनावी दाउपेच चालिरहेको छ। केही दिन अगाडि केपी ओलीले प्रधानमन्त्री बनाएका प्रचण्डलाई नेपाली कांग्रेसले विश्वासको मत दिँदा ढोक्सा नथाप्न चुनौती दिने उनै केपी ओली आफैं चाहिँ ढोक्साको संस्थागत अभ्यासमा लागेको देखिँदैछ।
त्यसैले दुई महिना अगाडि कथित बामपन्थी सरकार बनाएको दावी गर्दै आफैंले बनाएको प्रधानमन्त्री प्रचण्डलाई अपदस्त गर्दै कांग्रेसका देउवादेखि रामचन्द्र पौडेलसमेतलाई प्रधानमन्त्रीको लालच देखाउँदै हुनुहुन्छ। अनि उहाँकै पदचाप पछ्याउँदै उहाँका नेताहरु पनि जे जसरी हुन्छ सरकारमा सहभागी हुने खेलको प्रचारमा व्यस्त छन्। जसअनुसार उनीहरु लाज नमानी 'कांग्रेस कहाँ चुप लाग्छ र? किन चुप लाग्नु हामी छंदैछौं नि समर्थक' भन्दै सगौरव अन्तर्वार्ता दिँदैछन्।
अत, उल्लेखित सबै गतिविधिले केपी ओली अनि उहाँको कथित अडानयुक्त व्यक्तित्वको बिम्बलाई गलत सावित त गरेकै छ भने त्यससंगै सुनौलो विगतको इतिहास भएको एमाले चाहिँ च्याँखे जुवाको प्रमुख संवाहक बन्दै गएको छ भन्ने पुष्टि हुन्छ। हिजो आग्रह पूर्वाग्रह राखेर केपी ओलीहरुले नै अडानहिन भन्ने गरेको माधव नेपालले आफूले पाएको प्रधानमन्त्रीदेखि राष्ट्रपति सबै त्यागेर आफू आफ्नो मूल्य मान्यतामा सम्झौता नगर्ने सन्देश दिंदै गर्दा केपी ओली र उहाँको कोटरी भने सत्ता बाहेक केही नदेख्ने र त्यहाँ पुग्न अनि टिक्न जे पनि गर्ने पात्रको परिचय निर्माण गर्न अभिसप्त भएको सुस्पष्ट भएको छ।
केपी ओली र उहाँको कोटरीको मान्छेहरु त त्यस्तै थिए, अहिले त उनीहरुको असली रुप स्पष्ट भएको मात्रै हो। त्यस सत्यलाई बुझ्न त विगतदेखि वर्तमानसम्मको सुक्ष्म अध्ययनले स्पष्ट पार्छ नै त्यसैले त्यसमा के चिन्ता गर्नु छ र? तर एमाले त केही वर्ष अगाडिसम्म नीति सिद्धान्तमा जनपक्षीय अनि व्यवहारमा प्रशंसनीय थियो तर आज त्यो पार्टी खराब संस्कारको पर्याय बन्यो।
केपी ओलीले नै प्रयोग गर्ने सांकेतिक बिम्बको सहारा लिंदै भन्ने हो भने एमाले एक ढोक्सा बन्न पुग्यो, जसलाई थापेर केपी ओली सत्ताको फरक फरक स्वाद चाख्न अभ्यासरत रहने हुनुभयो। केपी ओलीको नेतृत्व रहुन्जेल एमाले ढोक्सा नै बनिरहने स्पष्ट जस्तै छ। तर पनि एक पटक केपी ओलीलाई फेरि पनि सोध्न मन छ 'कमरेड केपी ओली, एमालेलाई ढोक्सा बनाउने खेल खेलिरहने हो?' अनि 'हो भने अब कतिन्जेल? एमाले नामेट नहुन्जेल?