एउटै पुस्ताले देशमा पटकपटक व्यवस्था परिवर्तन भएको देखे/भोगेको छ। आम जनताले त्यही फेरिएका व्यवस्थाहरुमा आफ्नो खुसी खोजिरहेका छन्। पछिल्लो पल्टको व्यवस्था फेरिँदा धेरैले ज्यान गुमाए, बेपत्ता पारिए, हिंसा खेपे भने घाइते, अपाङ्ग अनि मानसिक समस्या नथेगेका थोरै मात्र नेपाली छन्। वि.स. २०६३ मंसिर ६ गते शान्ति सम्झौता भएपछि दुई पटकका संविधान सभा निर्वाचनपछि जनताका हातले लेखेको भनिएको संविधानमा कोरिएका मौलिक हकमध्येको स्वास्थ्य आज पनि दुर्गममा पुग्न सकेको छैन।
सहर केन्द्रित योजना अनि आवश्यकताका आधार भन्दा पनि तारे होटलका छलफलबाट पारित कार्यक्रम जिल्लामा आउने गरेका कारण जनतामा सेवा नपुगेको भन्दै घर छेउमा सिंहदरबारको झल्को देखिने सरकार आएको छ। त्यही गाउँ अनि त्यही पृष्ठभुमिबाट मुल सत्ताको दैलोमा पुगेका संघीय सरकार र प्रदेश सरकारका जनप्रतिनिधिले जस्तै स्थानीय तहका शासकहरु पनि मौलिक र आधारभूत विषयभन्दा बाहिर भौतिक संरचना निर्माणको पछि दौडिरहेका छन्।
नयाँ जिल्ला रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका घर भएकी ६५ वर्षीया एक महिलाको बाल्यकाल घाँसदाउरा र वन जंगल गर्दैमा बित्यो। १७ वर्षकै उमेरमा विवाह गरेकी उनलाई संसार भनेकै घर र जंगल होला जस्तो लाग्थ्यो। उनले आफ्नो जीवनकालमा ८ बच्चा जन्माइन्। ३ सन्तान मरे भने ५ जीवित छन्। यीमध्ये २ बच्चा जंगलमै जन्माएर गाईवस्तुसंगै घर ल्याएकी थिइन्। पाँचौँ बच्चा जन्मेपछि उनको पाठेघर खस्न थालेको हो। तर पाठेघर खसेको कुरा उनले कसैलाई भनिनन्। कुनै जुनिको पापले होला जस्तो लाग्यो। राति सुत्नेबेला भित्र जाने पाठेघर दिनभरी योनीबाहिर झुन्डाएरै काम गर्नुपर्ने हुन्थ्यो। त्यही बीचमा देशमा सशस्त्र द्वन्द्व चल्यो। गाउँमा बस्न सक्ने अवस्था भएन। छोराछोरी अगाडि-पछाडि बोक्दै युद्धमा लागिन्। देशमा गणतन्त्र आए पनि महिलाका पीडा र दुख कसैले देखेन। अस्पताल र डाक्टरसंगको सामिप्यता कहिले भएन। अहिले पाठेघर पुरै बाहिर आएर हिँड्नसम्म नसक्ने उनलाई पीडा सहनु भन्दा मर्न पाए पनि हुन्थ्यो जस्तो लाग्छ।
सोही गाउँकी ३७ वर्षीया एक महिलाले १५ वर्षको उमेरमा भागेर विवाह गरिन्। १६ वर्षमै पहिलो बच्चा जन्मियो। पहिलो बच्चा जन्मिएपछि सेतो पानी बग्ने र तल्लो पेट दुख्ने समस्या सुरु भयो। त्यसपछि दोस्रो बच्चाको पालामा ५ दिनसम्म बेथा लाग्यो। अस्पताल जाँदै गर्दा बाटोमै जुम्ल्याहा बच्चा जन्मियो। हिउँदको सिजन बाक्लो हिउँ परेको थियो। जीवित जन्मे पनि चिसो सहन नसकेर २ वटै बच्चाकाे मृत्यु भयाे। त्यसपछि फेरि अरु दुई बच्चा जन्मिए। उनलाई अहिले तल्लो पेट दुख्ने समस्या छ। डाक्टरले पाठेघरको मुख्मा धेरै घाउ छ भनेका छन्।
पुथाकै २९ वर्षीय एक महिलाको १८ वर्षमा विवाह भयो। १९ वर्षमा पहिलो बच्चा जन्मियो। पेटमा बच्चा आएदेखि श्रीमानले ‘छोरी जन्मियो भने मारेर फालि दिन्छु’ भन्दै धम्की दिन थाले। संयोग उनको छोरी नै जन्मियो। सुत्केरी अवस्थामा गतिलो स्याहार भएन। सुत्केरी भएको ३ दिनदेखि काम सुरु गर्नुपर्ने भयो। आलो सुत्केरी भारी काम गर्दा पाठेघर झर्यो। एकातिर पाठेघर झरेको पीडा, अर्कोतिर श्रीमानको कुटाइ सहि नसक्नु भयो।
नीति नियम केही नबुझेकी उनी परिवारको दबाबमा घरबाट निस्किन बाध्य भइन्। माइतीको शरणमा पुगेकी उनी रनभुलमा परिन्। छिमेकी कसैले अदालत गएर सम्बन्ध विच्छेद गर भन्ने सल्लाह दिए। अदालत खोज्दै सदरमुकाम झरेकी उनलाई आफन्त र श्रीमानले खाली कागजमा हस्ताक्षर गराए। अहिले उनलाई अंश नपाउने कागज भनेर भनिएको छ।
माइतीमा खान पुग्दैन। त्यहाँ बस्दा सबैले हेला गर्छन्। सेतो पानी बग्ने र पाठेघर खसेको छ। पटकपटक मर्न प्रयास गरे पनि छोरीको कारण बाँचिरहेकी छिन्। पुथा उत्तरगंगा गाउँपालिका र ओरेक नेपालको आयोजनामा सञ्चालन गरिएको शिविरमा स्वास्थ्य सेवा लिन आएका धेरै महिलाहरुले पहिलोपल्ट डाक्टरको अनुहार देखेका थिए।
माथिका घटनाहरु दुर्गमका प्रतिनिधि पात्र मात्र हुन्। यहाँका अधिकांश महिलाहरुको स्वास्थ्यको अवस्था दर्दनाक छ। संसार गतिशील बनाउने आमाको पाठेघरभित्र १० महिना बसेर निस्केका सन्तानले आफू हुर्किँदै जाँदा आमाको संवेदनशीलता भुलेका कारण धेरै महिलाहरुले उपचार अभावमा दुख पाउने गर्छन्। स्वास्थ्यलाई मौलिक हक भनेर संविधानमा लेखिए पनि दुर्गमका गाउँमा आधारभूत सेवासमेत पाउन मुस्किल पर्छ।
यतिबेला दुर्गममा महिलाहरुका स्वास्थ्यमा अनेकन समस्याहरु छन्। घर छेउका जनप्रतिनिधि जानकार पनि छन् तर समस्या समाधानमा चासो भने दिने गरेको पाइँदैन। बेलाबेलामा निशुल्क स्वास्थ्य शिविर चलाउने, पाठेघरको निशुल्क अप्रेशनका लागि सुविधा सम्पन्न ठाउँमा पठाउनका लागि छलफल गर्ने कोही हुँदैन। भर्खरैका दुई चुनावका समयमा भोट माग्न गाउँ छिरेका राजनीतिक नेतृत्व र अघिल्लो कार्यकाल सकाएका जनप्रतिनिधिहरु स्वास्थ्य समस्या बुझ्न गाउँ हिँड्ने गरेका छैनन्।
संसारमा सृष्टि सञ्चालन गर्ने पाठेघरको अवस्था यसो हुनु भनेको देश, समाज र घर परिवारकै लागि लाजमर्दो कुरा हो। हामी जहाँ बसेर जन्मियौँ, त्यही ठाउँलाई कुल्चिँदै छौँ। अहिले पनि हाम्रो समाजमा पाठेघर झर्नु भनेको लाजको विषय मानिन्छ। यहाँका महिलाहरुमा दाउरा घाँस, घरभित्रका कामदेखि संसार केही पनि छैन भन्ने भनक देखिन्छ। उनीहरुमा आफ्नो शरीरको सरसफाइदेखि स्वास्थ्यका लागि उनीहरुसंग समय र उपाय पनि छैन।
अहिलेको परिवर्तनमा द्वन्द्वको उद्गमस्थल मानिने रुकुम-रोल्पाका धेरै महिलाहरुको ठुलो हात रहेको छ। द्वन्द्वको समयमा पिल्सिएका यहाँका महिलाको स्वास्थ्यका सवालमा युद्ध लडाएकाहरु समेत बोल्ने गरेको पाइँदैन। हिंसारहित सुरक्षित वातावरणमा आत्मसम्मान पूर्वक जीवन जिउन पाउने प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो। नेपालको संविधानले महिलालाई लैंगिक भेदभाव विना समावेशी हक, सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हकलगायतका मौलिक हकहरुको प्रत्याभूति गरेको छ। कागजी रुपमा रहेका यी नीति र नियमले अहिले पनि हाम्रो समाजमा महिलाहरुले नरकीय जीवन जिउन बाध्य छन्।
(लेखक ओरेक रुकुमका जिल्ला संयोजक हुन्।)