एमाले-राप्रपाको सम्बन्ध र रामचन्द्र पौडेलको नियति

ओम आचार्य

विराटनगर

नेपाली कांग्रेसले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिएदेखि राजनीतिमा वृतिमा अनेकाैँ चर्चा-परिचर्चा चल्याे। अहिले राजनीति समीकरण पनि फेरिएकाे छ।

नेकपा एमाले र राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएसंगै राजनीतिक सम्भावनाको चर्चा परिचर्चा झनै चुलिएकाे देखिन्छ। राजनीतिमा असम्भव भन्ने कुरा केही हुँदैन भन्ने कुरा पनि झन् प्रष्टै भएकाे छ।

पहिला सात दलीय गठबन्धन थियो। त्यसमा पनि काँग्रेससमेतकाे विश्वासको मत प्राप्त प्रचण्ड नेतृत्वकाे सरकारलाई थियाे। तर अहिले एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले पुन: विश्वासको मत लिनुपर्ने अवस्थामा आइपुगेको छ।

राष्ट्रपति निर्वाचनको मितिलाई हेर्दा त्यस समयभित्र असन्तुष्ट पार्टीहरुले चलखेल गर्ने प्रयाप्त सम्भावना छ। राष्ट्रपतिको निर्वाचनसम्म विश्वासको मत कायम राख्ने र सरकारबाट नबाहिरिने दाबी गरेकाे एमाले अहिले एकाएक समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि विभिन्न खाले राजनीतिक अनुमान गर्न थालिएको छ।

अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रचण्डप्रतिको अभिव्यक्तिले ओली हदैसम्म जान सक्छन। त्यो भनेको प्रचण्डले लिने विश्वासको मतको मितिसम्म भन्दा पनि राष्ट्रपतिको निर्वाचनकै समयमा अनेकन चलखेल गर्न सक्छन्।

एमालेबाट राष्ट्रपतिकाे उम्मेदवार बनेका सुवास नेम्वाङलाई मत दिनको लागि अनुरोध गर्दै लेखेको पत्रको पहिलो चरणको हद हो। अहिलेको आठ दलीय गठबन्धनभित्र यसरी नै मत माग्दै पत्र प्रेसित गरिएको छ।

राप्रपा र एमालेले विश्वासको मत फिर्ता लिएपछि यी दुई अब निकटका दिनमा दुध र पानी जस्ता देखिने छन्। दुधमा पानी मिसाउनुस् या पानीमा दुध, छुट्याउनका लागि आँखाले सकिँदैन। त्यसो त योभन्दा पूर्व कमलथापा पनि मिसिएकै हुन्। कम्युनिष्टहरु जे पनि गर्न सक्छन् आफ्नो स्वार्थ र राजनीतिमा।

एमालेले अहिलेको ठुलो शत्रु काँग्रेसलाई देखेको छ। त्यसमा पनि यो आठ दलीय गठबन्धन जसकाे नेतृत्व काँग्रेसले गरेको छ। यसैको आधार भूमिमा काँग्रेसले राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेललाई प्रस्तुत गरेको छ। याे गठबन्धनलाई जसरी पनि भंग गरेर नयाँ समीकरण बनाउँदै सुवास नेम्वाङलाई विजय गराउन हदैसम्म लचिलो हुन सक्छ एमाले। त्यो भनेको साना दललाई पनि प्रधानमन्त्रीको अफर दिँदै अन्य मन्त्रालयहरू पनि साना दलहरुमा वितरण गर्नेसम्म हुन सक्छ। यस्तो अवस्थामा भोलि राजेन्द्र लिङ्देनलगायत जो कोही पनि पर्न सक्छन्।

आठ दलबाहेकका दलहरु, त्यसमा पनि लिङ्देन र केपी ओलीबाट भोलिका दिनमा राजनीतिक उपद्राे नमच्चाउलान् भन्न सकिँदैन। किनभने अर्का चर्चामा आएका नेता दुर्गा प्रसाईंको मेची महाकाली अभियानको अन्तिम कार्यक्रम फाल्गुन २० मा काठमाडाैँमा गर्ने भनिएको छ। त्यो कार्यक्रममा यी दुई दलमध्ये राप्रपाको त सहभागिता त हुन्छ नै। एमालेको अधिकारिक रुपमा सहभागिता नरहेपनि त्यहाँ यी दुईको दुध र पानीको सम्बन्ध रहेकोले सहभागिता हुनै नै अनुमान र सम्भावना रहन्छ। यसैबाट आगामी दिनमा नयाँ राजनीतिक समीकरण हुने सम्भावना छ।

अहिले देशको राजनीति विधि र पद्धतिमा चलेको छैन। नीति नियममा चलेको छैन। इमान्दारिता र विश्वासले चलेको छैन। कुनै पनि राजनीतिक दलले धर्म राखेको छैन, अनुशासन राखेको छैन। सबै राजनीतिक दलहरु लोभी-पापी छन् र स्वार्थ सर्वोपरी छ।

यही कारणले राष्ट्रपतिको निर्वाचनसम्म पनि यो आठ दलको सहमति यथावत रहन्छ भन्न सकिँदैन। त्यसो त हाम्रो धर्म शास्त्र र ज्योतिषले पनि आठ अंकलाई शुभ मान्दैन। आठलाई मृत्यु सूचक मानिन्छ। यो आठ दलको गठबन्धन कति लामो समयसम्म समीकरण बन्छ भन्ने संसय छ।

रामचन्द्र पौडेलको नियति

प्राय सबै राजनीतिक दलका शीर्ष नेताहरुसंग सौहार्द सम्बन्ध बनाएका वरिष्ठ नेता रामचन्द्र पौडेललाई काँग्रेसबाट राष्ट्रपतिमा प्रस्तुत गर्ने निर्णय काँग्रेसभित्र सकारात्मक रुपमा लिएको देखिएको छ।

सामान्यतया अन्य नेताको तुलनामा शालिन र भद्र देखिने पौडेल विपक्षी दलका नेताहरुलाई समेत सौम्य रुपमा आलोचना गर्ने नेताको रुपमा चिनिन्छन्। रामचन्द्र पौडेल योभन्दा पूर्व केही वर्ष अगाडि प्रधानमन्त्रीका उम्मेदवार भएका थिए। त्यसबेला उनी १७ पटक प्रधानमन्त्रीकाे उम्मेदवार बने र १७ पटक नै पराजय भोग्नुपर्यो। पौडेलको यो पराजय अहिले राष्ट्रपतिको उम्मेदवारीमा पुन: नदोहरियोस्।

काँग्रेसभित्रै सभापति शेरबहादुर देउवाको समेत राष्ट्रपतिमा उम्मेदवारीको चर्चा चलिरहँदा पौडेलको नाममा काँग्रेसले निर्णय गर्यो। राष्ट्रपति निर्वाचनमा स्पष्ट बहुमत कुनै पनि दलका उम्मेदवारले प्राप्त गर्न नसकेको अवस्थामा पुन: उम्मेदवारी प्रस्तुत गर्नुपर्ने हुन्छ। पौडेलजीको नियति हेरौँ, यसपालि नियतिले साथ देला!

प्रकाशित मिति: : 2023-03-01 21:10:00

प्रतिकृया दिनुहोस्