सराङघाट सबस्टेसन निर्माण

File photo
File photo

तनहुँको बन्दीपुर गाउँपालिका–६ मा ३३-११ केभीको सराङघाट सबस्टेसन निर्माण सम्पन्न भएको छ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको एक सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत सराङघाट सबस्टेसन निर्माण गरिएको हो ।यसैगरी, तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मार्कीचोक सबस्टेसनदेखि बन्दीपुर गाउँपालिकाको डुम्रेसम्मको ३३ केभी प्रसारण लाइन ‘ट्यापिङ’ गरिएको तनहुँ वितरण केन्द्रका प्रमुख मेखराज जोशीले जानकारी दिए।

प्रसारण लाइन बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटमा ‘ट्यापिङ’ गरी सराङघाट सबस्टेसनसम्म पु-याउने १९ किलोमिटर लामो ३३ केभी लाइन पनि निर्माण सम्पन्न भएको छ। यसमध्ये एक हजार एक सय ३० मिटर प्रसारण लाइन भूमिगत गरिएको उनले बताए। प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन भएको तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण सञ्जाल सुधार आयोजनामार्फत निर्माण गरिएको प्रसारण लाइन र सबस्टेसन सोमबार ‘चार्ज’ गरिएको छ।

तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित तनहुँ जिल्लामा विद्युतीकरण गर्न र विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन सबस्टेसन र प्रसारण लाइन निर्माण गरिएको हो। आयोजनाअन्तर्गतकै तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित खैरेनिटार सबस्टेसनबाट घिरिङसम्म १९ किलोमिटर ३३ केभी प्रसारण लाइन र ३३÷११ केभीको घिरिङ सबस्टेसन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालित छन्।

प्रकाशित मिति: : 2023-02-14 14:57:00

प्रतिकृया दिनुहोस्