आमसञ्चारका पश्चिमा विद्वानहरु भन्छन्, तिमीहरुको समाचारमा फलोअप नै हुँदैन। समाचार ब्रेक गर्न हतार गर्छौ तर त्यसको फलोअप गर्ने होसियारी अपनाउँदैनौ। तिमीहरुले बुझ्नुपर्छ, ब्रेकले फस्ट बनाउँछ, फलोअपले फ्याक्टको उत्खनन् गर्छ। हामीसँग उनीहरुका प्रवचन सुनेर अवाक हुनुको कुनै विकल्प हुँदैन। मेरा लागि यस्ता निरुपाय क्षणहरु धेरै आएका छन्।
गत वर्ष दी न्युयोर्क टाइम्स टावरमा यस्तै दृश्य दोहोरिएको थियो। अझ उनीहरुले यसो पनि भन्न भ्याए, तिमीहरुकोमा कपी एडिटर नै हुँदैन। त्यसैले तिमीहरुको एडिटोरियल कन्टेन्ट पनि लिङ्गेपिङ जस्तै हुन्छ जर्कले भरिएको। एउटै पृष्ठमा पनि कुनै कन्टेन्ट ज्यादै स्तरीय हुन्छ, कुनै ज्यादै स्तरहीन। सिन्डिकेट जर्नालिष्ट र प्रशिक्षार्थी पत्रकारका सामग्रीको कक्टेल बनाउँछौ तिमीहरु।
नेपाली पत्रकारिताको धरातलीय यथार्थ नै यही हो। हाम्रोमा बडाले जे गऱ्यो, त्यही नै ठीक चाला बन्छ। अन्तर्राष्ट्रिय प्रचलनमा सानाले बोले गफ र ठूलाले बोले उदाहरण बन्छ। तर, पत्रकारितामा त्यस्तो हुँदैन, स्रोतले बोले समाचार बन्छ। समाचार कि आफैं बन्छ, कि बनाइन्छ। हाम्रो नेपालमा समाचार पकाउन प्रशस्त स्युडो इभेन्टहरु हुन्छन्। तिनै स्युडो इभेन्टहरु जोडेर बिट बनाइन्छ र त्यसैको आधारमा सनातनी श्राद्ध हुन्छ र कहीँ त्यतैबाट पत्रकार पुरस्कृत हुन्छ। त्यसमा पनि शक्तिशाली पत्रिकाका सम्वाददाता त हरेक दिन या त पुरस्कृत भैरहेका हुन्छन्, या सम्मानित भैरहेका हुन्छन्, मुलुकभित्र होस् या बाहिर फार्म भिजिट पनि चलेकै हुन्छ। विदेश भ्रमणको बहानामा होस् या कुनै चाडबाड, या छोराछोरीको न्वारान, पास्नी, विवाह नै किन नहोस्, जंकिटको स्युडो इभेन्ट बन्छ। यो जंकिट संस्कृतिले कसरी पत्रकारितालाई राज्यको चौथो अंग बनाइरहने हो, अहिलेको चिन्ता र चासो नै यही हो।
नेपाली पत्रकारितालाई २१औं शताव्दी सुहाउँदो कसरी बनाउने? आजको ज्वलन्त प्रश्न मात्र हैन, चुनौती पनि हो यो। त्यसका लागि दक्ष जनशक्तिको आवश्यकता छ। आजको सन्दर्भमा त्यस्तो दक्ष जनशक्ति भनेको पढेको हो, परेको हैन। परेकाहरुले गर्ने पत्रकारिताको युग अब सकियो। उनीहरुले जे गरे, त्यो धन्य थियो। यो या त्यो जुन जोड र कोणको भए पनि उनीहरुले गरेको मिसन पत्रकारितको उज्यालो नै आजको तथाकथित नै सही व्यावसायिक पत्रकारिताको आधार हो। उनीहरु इतिहास हुन्, त्यसका लागि उनीहरुलाई धन्यवादका पात्र पनि बनाइनुपर्छ। तर, अहिलेको समय उनीहरुको हैन। अब नयाँहरुको समय बनाउन पत्रकारिताको समुचित अध्ययन र अध्यापन हुनुपर्छ। तर, त्यसको स्थिति पनि दयनीय बन्दो छ।
केही समयअघि पत्रकारिता पढ्नेको बाढी आएको थियो। तर, अहिले त्यो खहरेमा परिणत भएको छ। नेपाली पत्रकारितामा आफ्नो रोल मोडल नपाउनु, घुमाएर होस् या सिधै पत्रकारितालाई पार्टीकै टाट्नामा लैजानु, तलव र करिअर दुबै नहुनुलगायतका जल्दाबल्दा समस्याका कारण विद्यार्थीहरुले आफ्नो भविष्य देखेनन् र अर्कै डिसिप्लेनको बाटो लागे। यही हालत हुने हो भने अबको केही वर्षपछि रत्नराज्य क्याम्पसले नै सारा नेपाली पत्रकार उत्पादन गर्ने कारखानाकै काम गर्नुपर्ने हुन्छ। त्यो स्थिति नेपाली पत्रकारिताका लागि शुभ हो भनेर किञ्चित पनि भन्न सकिन्न। घुमी फिरी रुम्जाटार भनेझैं नेपाली पत्रकारिता रत्नराज्यदेखि रत्नराज्य नै हुने स्थिति बन्दो छ। यो स्थितिले पत्रकारिताका प्रोजेक्ट प्राध्यापकहरुलाई कति चिम्सो बनाउने हो, हेर्नु छ।
गत वर्ष दी न्युयोर्क टाइम्स टावरमा यस्तै दृश्य दोहोरिएको थियो। अझ उनीहरुले यसो पनि भन्न भ्याए, तिमीहरुकोमा कपी एडिटर नै हुँदैन। त्यसैले तिमीहरुको एडिटोरियल कन्टेन्ट पनि लिङ्गेपिङ जस्तै हुन्छ जर्कले भरिएको। एउटै पृष्ठमा पनि कुनै कन्टेन्ट ज्यादै स्तरीय हुन्छ, कुनै ज्यादै स्तरहीन। सिन्डीकेट जर्नालिष्ट र प्रशिक्षार्थी पत्रकारका सामग्रीको कक्टेल बनाउँछौ तिमीहरु।
धेरै वर्षअघिको कुरा काठमाण्डू विश्वविद्यालयमा अध्यापन गराइरहेको बेला एक विद्यार्थीले सोधे, नेपालमा पत्रकारितामा पुरस्कार पाउने हैसियत के हुनुपर्छ? मेरो उत्तर थियो, पत्रकारिताप्रतिको समर्पण र योगदान। त्यही विषयमा प्रोजेक्ट वर्क गरिरहेका उनले मेरो उत्तरलाई पत्ताएनन् र फिस्स हाँस्दै भने, सरले ढाट्नुभयो। मेरो अध्ययनले त पार्टीको मान्छे हुनुपर्ने देखायो। उनले पार्टीका बारेमा व्याख्या गर्दै भने कि राजनीतिक पार्टीको कि कुनै बिट पार्टीको। यी दुईटामध्ये एउटाको भयो भने पुरस्कार र सम्मानको फालिम लाग्छ।
उनले त्यतिबेला दुई लाख थैलीको राष्ट्रिय पत्रकारिता पुरस्कार पाउने एक पार्टी पत्रकारको प्रसंग उठाए। उनले ती पत्रकारको योग्यता बताए, कांग्रेस समर्थक पत्रिकाको सम्पादक, कांग्रेसको महासमिति सदस्य र प्रचार विभागको सदस्य र त्यही नाममा कांग्रेसको पक्षमा पर्चाकारिता र अन्यको विपक्षमा गाली बेइज्जती पत्रिका। अनुसन्धान नै गरेका मेधावी विद्यार्थीले अघि सारेका तथ्यप्रति मैले विमति राख्ने ठाउँ थिएन। मैले उनको कुरा सुनेपछि भनेँ, उनको बारेमा मेरो केही प्रतिक्रिया छैन। उनी मेरा राम्रा साथी हुन्। हामी सँगै मिसन पत्रकारिता गर्थ्याैँ।
उनले थपे, यस्ता पर्चाकारले मुलुकको राष्ट्रिय पत्रकारिता पुरस्कार पाउने भएपछि हामी कसलाई रोल मोडल मानेर पत्रकारिता गर्ने? मसँग उनको प्रश्नको उत्तर थिएन, मैले फेरि पत्रकारिताकै एक सिद्धान्तको सहारा लिएर भने, पत्रकारितामा प्रोक्सिमिटी हुन्छ, म त्यही आधारमा उनले पुरस्कार पाएकोमा प्रतिक्रिया नजनाउने बताएर तर्किए। अझ, उनी झर्कँदै थिए, यही त खरावी छ नि सर। तपाईंहरु सहधर्मिताका नाममा पत्रकारले गरेका अनि पत्रकारितामा भएका खरावीहरुको विरोध नै गर्नुहुन्न। गंगोत्री नै फोहोर राखेर कसरी गंगा सफा होला र?
ती विद्यार्थीले सोधेको प्रश्नको चित्तबुझ्दो उत्तर दिन नसकेकोमा मलाई एक किसिमको ग्लानी भैरहेको थियो। मैले मनमनै आफैंलाई भने, हो त नेपालमा पुरस्कारको खेती त्यसरी नै भैरहेको छ। या त पार्टीले सिफारिस गरेका पर्चाकार पुरस्कृत भैरहेका छन् या त विटका नाममा पर्चाकारिता गर्नेहरुले पुरस्कारको जंकिट लिइरहेका छन्। सरकारले दिने पुरस्कारको मात्र हैन, नेपाल पत्रकार महासंघले पुरस्कृत गर्नेहरुको सूची पनि त्यस्तै हुन्छ। त्यहाँ पनि पार्टीको कोटामै पर्नुपर्ने हो र कोटामै भागवन्डा गरिने हो। नानाथरिका गुठीहरु, बाबुआमालाई अमर बनाउन बनाइएका प्रतिष्ठानहरुले बाँड्ने मान, सम्मान र पुरस्कारको त झन् के कुरा भयो र?
सारमा, प्रश्न ती पार्टी पत्रकारको मात्र हैन, न उनले पाएको पुरस्कार ठीक या बेठीक भन्ने नै हो। प्रश्न उनी योग्य हुन् या अयोग्य भन्ने पनि हैन, हामी कस्तो मानक निर्माण गर्न गैरहेका छौं भन्ने मात्र हो। उनी त कलेजको कक्षामा सन्दर्भबस उठेका एक प्रतिनिधि पात्र मात्र हुन्। यहाँ पुरस्कार पाउने केही सदावहार पत्रकारहरु नै छन्, जसको पेशा नै पुरस्कारका लागि आवश्यक लविंग गर्ने र वातावरण बनाउने हो। अहिले मुलुकभित्र मात्र हैन, बाहिर पनि पुरस्कारका पसल थापिएका छन्। हरियो रंगका पैसा कमाउनेहरुले पुरस्कारका नाममा त्यसको क्लोरोफिल सुगाउने चलन पनि यहाँ बढ्दो छ। त्यसमा कुनै योगदान या अन्य र्यासनलको प्रश्नै छैन र हुने कुरो पनि भएन। उनीहरुको पक्षमा केही गरिदिए वापतको टिप्स हो, जसले पुरस्कारको हुर्मत मात्र लिने काम गरिरहेको छ।
पुरस्कारको कुरा गर्दा, व्यक्तिको, पार्टीको त के प्रश्न भयो र? जसलाई मन पर्छ जे जे नाममा जे जे बहानामा दिए पनि हुन्छ। दिनेले त दिए पनि अरे, लिनेले पनि त विचार पुर्याउनुपर्ने हो। आफूले पुरस्कार, मान र सम्मानका नाममा कतै टिप्स या जंकिट त लिइरहेको छैन? प्रश्न पुरस्कारको मात्र पनि हैन, राम्राभन्दा पनि हाम्रालाई बुई चढाएर हरेक क्षेत्रका राम्राहरुको दोहन गर्ने बढ्दो अपसंस्कृतिको हो। यो अपसंस्कृतिले वाचडगको भूमिका निर्वाह गर्ने राज्यको चौथो अंग पत्रकारिताको किमार्थ पनि भलो गर्दैन।
आगे उनीहरु नै जानुन्।