हिउँद हिउँचुली,
नेपालगञ्ज झिलिमिली जुम्ला विजुली।
खलाचौरदेखि चौधबीसम्मको भूगोल जुम्ला, खलाचौरदेखि नाग्मसम्म तली जुम्ला, नाग्मदेखि सिंजासम्म उपरी जुम्ला, सान्नी रासकोटलाई पोरी जुम्ला र बारेकोटलाई कान्छो जुम्ला भनिन्थ्यो। सिंजा साम्राज्य विघटनपछि हालको समग्र कर्णाली जुम्ला नामले चिनिन्थ्यो। कर्णाली र भेरी नदीले काेरेकाे सिमानाकाे धेरै भूभाग जुम्ला थियाे। अर्थात् कर्णाली।
आज सुर्खेत पनि कर्णाली हो। अर्थात् बृहत् जुम्लाकाे पेरिफेरी। जब कर्णालीको समबन्ध दक्षिणतिर बढ्यो, तब जुम्लीहरुले दियाेले होस्, टुकीले होस् वा विजुलीले नेपालगञ्ज झिलिमिली भइरहेको देखे र जुम्लामा विजुलीको आवश्यकता महशुस गरे। यसरी माथिकाे गीतकाे भाका सृजना भएकाे हाे।
झरो (उज्यालाेकाे लागि बालिने सल्लाकाे टुक्राटाक्री अर्थात दियालाे) बाल्दा-बाल्दा धुवाँमा लतपतिएका जुम्लीहरुलाई भित्रभित्रै विजुलीको खरो भइरह्यो। त्यो खराे आज पर्यन्त कायम छ। त्यसैले कर्णाली उत्सव: कुडा कर्णालीको तेस्रो संस्करणमा दोस्रो दिनकाे एउटा शत्रकाे नाम थियाे, 'झराे उज्यालोकाे खराे।'
जसकाे सञ्चालक म आफै थिएँ। छलफलमा भाग लिने तीन जना अतिथिहरु थिए। मेराे कुनै फराकिलाे परिचय छैन। तर मसँगकाे छलफलमा भाग लिने अतिथिहरु इतिहासका पानामा कुनै न कुनै तवरबाट लेखिने गरी काम गरिरहेका थिए।
जुम्लाकाे आवाजलाई संसदमा बुलन्द गर्ने गजेन्द्रबहादुर महत, लाेडसेडिङ अन्त्य गर्ने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र बिउराबारी जलविधुत आयोजना निर्माण समितिकी अध्यक्ष निशा राना। आफ्नाे बाेल्ड परिचय स्थापित गरिसकेकाे व्यक्तित्वहरुलाई साेध्नुपर्ने प्रश्नहरु स्तरीय हुनुपर्छ भन्नेमा म सतर्क थिएँ। तर, कहीँकतै डर भने थियाे। त्यसैले छिनछिनमा पिसाब लागेजस्ताे भइरहन्थ्याे।
हाम्राे शेसनभन्दा अगाडि पत्रकार विष्णु विवेकले 'आरन र आविस्कार' शत्र चलाइरहेका थिए। उनकाे शत्र गज्जबले सञ्चालन भइरहेकाे थियाे। त्यही बेला आयाेजक संस्थाका एक सदस्यले, 'तपाईंले आफ्नाे शत्र यत्तिकाे चलाइदिनुभयाे भने पनि राम्राे भइहाल्छ' भने। बिमारीकाे ज्वराे बढेझैं डर बढ्याे। मुटुकाे धड्कन बढ्याे।
हामी कर्णाली कुनातिर जाने तयारी गर्दै थियौं। कुलमान आउँदै गरेकाे खबर तुफानी वेजमा आइपुग्याे। उनकाे परिचय सेलिब्रेटीकाे भन्दा कम छैन। धेरै मान्छेहरु उनीसँग तस्बिर खिचाउन लागे। सामान्य छलफलपछि हामी मञ्चमा उक्लियाैं।
हामीले छलफल गर्नुपर्ने विषयहरु कर्णालीमा विद्युत विस्तार र आपूर्तिमा देखिएका समस्या तथा समाधानका उपाय, ग्रामीण विद्युतीकरणको सम्भावना र पहिचान, सबैको पहुँचमा विद्युतलगायत थिए। अब भने म विस्तारै सम्हालिरहेकाे थिएँ।
याे शत्र राेचक हुन्छ भन्ने लाग्दै थियाे। कारण एकपल्ट संसदमा गजेन्द्र महतले विजुली समस्याको विषयलाई लिएर कुलमान र तत्कालीन उर्जा मन्त्रीलाई श्री ३ भनेर व्यङ्ग्य गरेका थिए। श्री ३ भनेर व्यङ्ग्य गर्ने र व्यङ्ग्य खाने दुबै पात्र एउटै मञ्चमा हुँदा कस्ताे हाेला भन्ने धेरैकाे काैतुहलता थियाे। शत्रकाे सुरुवात नै दर्शककाे आशाबाट गरिएकाे थियाे र धेरैको काैतुहलता मेटियाे। उनीहरुकाे सम्बन्ध राम्राे रहेछ। उनीहरु हाँसेपछि मेराे धक फुक्याे। मलाई डर लाग्न छाेड्याे। एक हिसाबले भन्ने हाे भने आँट बढ्याे।
झरोले उज्यालो गर्छ। तर झरोको परिभाषा यतिले मात्रै पुग्दैन। झरो परिवर्तनको सम्वाहक हो। विद्रोहको ज्वाला हो। संघर्षको प्रतिक हो। त्यसैले कर्णाली उत्सवमा शत्रकाे नाम झराेबाट जुराइनु सुखद संयाेग थियो। र त खाेतल्नु थियाे, झराेकाे संघर्षपूर्ण इतिहास।
जब १८४६ मा गोर्खा राज्यले जुम्ला राज्यलाई षड्यन्त्र पूर्वक हरायो, तब जुम्लामा गोर्खा राज्यले अधियाँ सर्त तोक्यो। अर्थात् वर्षभरिको उत्पादनको आधा हिस्सा गोर्खालीहरुलाई बुझाउनुपर्ने। जसले अत्यन्तै न्यून उत्पादन हुने हिमाली भेगका मान्छेकाे पेटमा लात हानिरहेकाे थियाे। हर दिन पीडा दिइरहेकाे थियाे।
त्यसबेलाकाे समाजका अगुवाहरु कालु पाध्या र शंकर पाध्या आपसी वैमनस्यता साँधिरहेका थिए। याे कुरा दैनिक १८ घण्टा बेसी काम गर्ने महिलाहरुलाई चित्त बुझेकाे थिएन। त्यसैले उनीहरुमार्फत अगुवा दुई पाध्यालाई मिलेर संघर्ष गर्न आह्वान भयाे। ध्यानाकर्षण भयाे।
कालु पाध्या, शंकर पाध्या, दुबै मिली एक।
दुई मिली नेपाल बाइजाउ, अधियाँ नटेक।।
त्यसपछि कालु पाध्या र शंकर पाध्या मिलेर एक महिना दिन बढी पैदल हिँडेर नेपाल(काठमाडौं) गएका थिए। उनीहरुले सिंजाबाट झराे लिएका थिए। नेपाल राज्यकाे ध्यान तान्ने गरी झराे बालेर विराेध जनाए। राज्य सञ्चालकबाट साेधनी भयाे माग के हाे भनेर। त्यसपछि उनीहरुले वर्षभरि दु:ख गरेर कमाएकाे बालीकाे आधा हिस्सा राज्यलाई दिन नसकिने बताए। परिणाम अधियाँ शर्त हटाएर पाँच पैसा कर तिर्दा हुने बनाइयाे।
तर जब संघर्षशील मान्छेको अभाव हुन थाल्याे, जब संगठित आकार घट्न थाल्याे, तब सत्ताले आफ्नाे नियत देखायाे। अर्थात् सधैंभरि दबाउने मानसिकता राखेकाे सत्ताले माैका छाेप्याे र कर बढायाे। पाँच पैसाबाट एकाएक तीन गुणा कर बढाएर १५ पैसा पुर्यायाे। त्यसपछि तिनै महिलाहरुले राज्यकाे चरित्र उदङ्ग्याउने गरी गीत गाए। जुन कर्णालीकाे अलिखित साहित्यिक इतिहासमा पुस्तान्तरण हुँदै आजसम्म अस्तित्वमा छ।
अहिले मर्या शंकर पाध्या, अहिल्यै आयो जाँच।
पाँच तिर्न्याले पुन्न तिर्यो, जुम्ला बसाइँ काँ छ ??
इतिहासमा झराेले संघर्ष गर्न सिकाएकाे थियाे। राज्य कति अँध्यारो छ भनेर देखाइदिने ज्याेति झराे बनेकाे थियाे। र पनि राज्यले असली रुप देखाउँदै कर्णालीलाई दबाइरह्याे। परिणाम आज पनि कर्णाली अँध्यारो छ। त्यसैले सत्ताका कान ठटाउन सांसद महतले जुम्लाबाट बाजागाजा लिएर काठमाडौं गएका थिए। जुन जुम्लीहरुकाे संघर्षपूर्ण इतिहासकाे निरन्तरता थियाे। यति हुँदा पनि राज्यबाट ग्रामीण विद्युतीकरणका लागि न्यूनतम प्रयत्नहहरु भएनन्।
आर्थिक र सामाजिक हिसाबले ४२ हजार मेगावाट विजुली उत्पादन क्षमता भएकाे देशमा २४ हजार मेगावाट कर्णाली नदीबाट मात्रै निकाल्न सकिन्छ। तर हालसम्म कर्णालीमा एउटा पनि ठूला आयोजना नबन्नु प्राधिकरण र यसको नेतृत्व श्री तीनकै दिशामा उन्मुख माएकाे सांसद महतकाे तर्क थियाे।
४ हजार एक सय ८० मेगावाट विद्युत् उत्पादन क्षमता भएकाे संसारकै सबैभन्दा सस्तो लागतमा निर्माण गर्न सकिने माथिल्लो कर्णाली परियाेजना भारतीय निर्माण कम्पनी जिएमआरकाे झाेलामा छ र खाेला कब्जा छ। जसले ९०० मेगावाट मात्रै विजुली निकालेर बाँकी ३२ सय मेगावाट क्षमतालाई सदाकाे निम्ति नामेट पार्दैछ।
अथाह विद्युत् उत्पादनकाे सम्भावना भएकाे कर्णालीमा आइसोलेटेड मोडमा चानचुन दुई मेगावाट र प्राइभेट पार्टीबाट ८ मेगावाट गरी जम्मा १० मेगावाट विजुली मात्रै उत्पादन हुनु बिडम्बना हाे। जसमा मुगुकाे चार सय, डोल्पाकाे दुई सय, हुम्लाकाे पाँच सय, जुम्लाकाे चानचुन साडे चार सय, कालिकोटकाे पाँच सय र रुकुमकाे दुई सय किलाेवाट पर्छन्। सरकारी तवरबाट एउटा पनि मेघा प्राेजेक्ट सञ्चालनमा छैन। प्राइभेट पार्टीले दैलेखमा उत्पादन गरेकाे आठ मेगावाट विद्युत् कर्णालीकाे लागि गाैरवकाे आयाेजना हाे।
हाललाई विकल्प भनेकाे राष्ट्रिय प्रसारण लाइन हाे। तर राष्ट्रिय प्रसारण लाइन तान्ने पनि सिमा हुन्छ। बढीमा २५ देखि ३० किलोमिटरभन्दा लामाे दूरीमा सबस्टेसन जरुरी हुन्छ। तर, दैलेखबाट जुम्लासम्म एक सय ९५ किलोमिटर दूरीमा तार तानिएको छ। जुन बेलाबेला चुँडिइरहन्छ। कच्ची धागोले चंगा उडाएजस्ताे। जसले कर्णालीलाई अपेक्षाकृत उज्यालो दिन सकेको छैन।
समग्रमा काेहालपुर स्टेसनबाट कर्णालीमा तीन सय किलोमिटर बढीकाे तार अव्यवस्थित रुपमा कर्णालीमा फैलाइएको छ। कर्णाली उत्सवमा सहभागीले कुलमानलाई व्यङ्ग्य गरे, 'हावा लाग्याे भने, तारमा रुखका पात लागे भने पनि विजुली जान्छ।' अर्थात् विजुली बाल्नलाई खराे भइरहेकाे छ। विकल्पमा कर्णालीका ग्रामीण बस्ती झराे बाल्न बाध्य छन्। झराेबाट निस्कने धुवाँले कर्णालीबासी निस्सासिरहेका छन्।
विद्युत् प्राधिकरणकाे सन् २०२०/०२१ को वार्षिक प्रतिवेदनमा कुलमानकाे रिपोर्ट हेर्दा नेपालका ठूला जलविद्युत आयोजना जम्मै पूर्वतिरका नुवाकोट, रसुवा, दोलखा, पोखरा, म्यादीमा छन्। सम्भावना हुँदाहुँदै पनि कर्णालीमा ठूला आयोजना बनाउन कसले रोक्यो?
१९६८ सालमा फर्पिङ लघु जलविद्युत् परियोजनाबाट नेपालमा विजुली बल्दा चीनमा विजुली नै थिएन। अहिले चीन संसारकै सबैभन्दा बढी विद्युत् उत्पादन गर्न सक्ने क्षमता भएको देश बनिसक्यो। तर त्यसको ११० वर्ष बितिसक्दा समेत कर्णालीका सबै जिल्लामा विद्युत् पुग्न सकेको छैन। कर्णालीमा विद्युतको इतिहास सुरु हुन पनि एक युग सकिनु पर्ने हाे? यी र यस्ता थुप्रै प्रश्नहरुकाे उत्तर आउन बाँकी नै छ।
जवाफमा कुलमानले कालिकाेट फुकोटकाे दुई सय मेगावाट र डोल्पा जगदुल्लाकाे दुई सय मेगावाट विजुली उत्पादन सकिनेबित्तिकै कर्णालीकाे विद्युत् समस्या कम हुँदै जाने बताए। सँगसँगै पाँच वर्षभित्रमा सबै जिल्लामा एक सय ३२ केभिएकाे प्रसारण लाइन जडान गरिसक्ने उनले बचन दिएका छन्।
समग्रमा कर्णालीकाे आफ्नाे उत्पादन भएन भने जतिसुकै केभिएकाे प्रसारण लाइन हुँदा पनि कर्णालीकाे विद्युत् समस्या समाधान हुने छैन। त्यसैले आफ्नाे उत्पादन बढाउने संयन्त्रकाे विकास नगरी कर्णाली उज्यालो हुने छैन।