परिवारवादले गिजाेलिएकाे 'कर्नाटक'काे कथा

जेठा छोरा सांसद (विधानसभा), कान्छो छोरा सांसद (विधानसभा), एक बुहारी सांसद (विधानसभा), एक नाति सांसद (लोकसभा), अर्को नाति पनि सांसद (विधान परिषद्), सम्धि सांसद (विधानसभा), ज्वाइँको भाइ सांसद (विधानसभा)।

नेपालका पुराना नेताहरूले सिकिरहेको परिवारवादको जरो भारतीय राज्य कर्नाटकमा भेटिएको छ। अर्थात्, एउटै परिवारमा आठ–आठ जना सांसद छन्।

यो भारतीय पूर्वप्रधानमन्त्री तथा जनता दल ‘सेक्युलर’का सुप्रिमो एच.डी. देवगौडाको परिवार हो, जो आफैँ पनि राज्यसभामा छन्। गत चुनावमा एकजना नातिले हारे, यसपटक टिकटको दौडमा छन्। अर्की बुहारी पनि अहिले टिकटकै दौडमा छिन्।

देवगौडाको परिवार– कर्नाटकको पारिवारिक राजनीतिमै रुमल्लिएको छ। कर्नाटक प्रदेशमा ‘अप्रिल–मे’तिर विधानसभाको निर्वाचन हुँदैछ। राजनीतिक परिवारले उम्मेदवारीका लागि ‘लबिङ’ थालेका छन्।

भारतीय सत्ता राजनीतिमा त्यो जनता दल ‘सेक्युलर’मा मात्र होइन, भारतीय जनता पार्टी र भारतीय राष्ट्रिय कांग्रेस पनि उस्तै–उस्तै छन्।

परिवारवादी सांसद देवगौडा जनता दल ‘सेक्युलर’को सर्वोच्च पदमा कामयै छन्। उनी भारतको १२औँ प्रधानमन्त्री तथा कर्नाटक राज्यका पूर्वमुख्यमन्त्रीसमेत हुन्। उनी मात्र होइन, छोरा-बुहारीदेखि ज्वाइँ-सम्धीसम्म सांसद पदमै छन्।

पूर्वप्रधानमन्त्री देवगौडाको जेठो छोरा एचडी कुमारस्वामी विधानसभा सदस्य तथा पूर्वमुख्यमन्त्री हुन्। बुहारी अनिता कुमारस्वामी विधानसभा सदस्य छिन्।

कान्छो छोरा एचडी रेवन्ना विधानसभा सदस्य तथा पूर्वमन्त्री हुन्। बुहारी भवानी रेवन्ना पूर्वजिल्ला पञ्चायात सदस्य तथा अहिले विधानसभा सदस्यको टिकटको प्रमुख दाबेदार हुन्।

त्यस्तै, नातिहरू सुरज रेवन्ना विधान परिषद् सदस्य, प्रज्वल रेवन्ना, लोकसभा सदस्य र निखिल कुमारस्वामीले सन् २०१९ मा चुनाव हारे। तर अहिले फेरि टिकट खोज्दै हिँडिरहेका छन्। त्यसैगरी, सम्धि डीसी थम्मन्ना विधानसभा सदस्य र ज्वाइँको भाइ सीएन बालाकृष्ण विधानसभा सदस्य छन्।

खैर, कर्नाटक राज्यको सत्ता राजनीतिमा परिवारवादको प्रभुत्व कामयै छ। जहाँ सीमित परिवारले राज्यको राजनीति चलाइरहेका छन्। कर्नाटकसहित कैयौं भारतीय राज्यमा वंश राजनीति राज छ।

भारतीय सत्ता त्यहाँका ठूला जमिन्दार र ‘भ्रष्ट’ व्यापारी परिवारको हातमा छ। यी दलका नेताहरू परिवार र नातावादको भरमा बाँचिरहेको छ। जनता दल ‘सेक्युलर’ मात्र होइन, कर्नाटकमा भाजपादेखि कांग्रेसले दशकौंदेखि वंशवादको राजनीतिमै रमिरहेका छन्।

प्रकाशित मिति: : 2023-01-31 20:40:00

प्रतिकृया दिनुहोस्