जुम्ला पछिल्लो समय अत्यधिक मात्रामा लागुऔषध खपत हुने जिल्लाकाे रुपमा चिनिदैछ। यसले कराेबार बढाउँदै लगेकाे देखिन्छ। यसलाई जिल्ला प्रहरीको कार्यालय जुम्लाले दायर गरेकाे मुद्दाकाे तथ्यांकले पुष्टि गर्छ।
जुम्लामा आर्थिक वर्ष २०७७/०७८ मा ब्राउन सुगर र चरेस गरी पाँच वटा मुदा दर्ता भएका थिए। आ.व. २०७८/७९ मा ब्राउन सुगर र चरेस गरी सात वटा मुदा दर्ता भए भने चालु आ.व.मा ब्राउन सुगर र चरेसका ४ वटा मुद्दा दर्ता भएका छन्।
प्रहरीले निकालेकाे तीन वर्षकाे तथ्यांक हेर्दा १८ देखि ४० वर्ष उमेरका ४४ जना प्रकाउ परेका छन्। त्यस्तै १८ वर्ष भन्दा मुनिका तीन जना छन् भने ४० देखि ६० वर्षका दुई जना रहेका छन्।
प्रहरी प्रशासनले लागुऔषध नियन्त्रण गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएपनि प्रयोगकर्ताकाे संख्या घट्न सकेकाे छैन। बरु बढ्दैछ। जसले काराेबारकाे दायारा बढाउँदै लगेकाे पाइन्छ।
प्रयाेकर्ता र काराेबारी दुबैमा युवा पुस्ताकाे संलग्नता देखिएको डिएसपी नरेन्द्र चन्दले बताए। साथी-संगीको दबाब, मनोरञ्जनका लागि, उत्सुकता लागेर, खुसी भएर, मानसिक तनाव भएर पारिवारिक समस्या भएर वा पढाइमा समस्या भएर याे उमेर समूहका केटाकेटी लागुऔषधकाे दुर्व्यसनीमा फस्दै गएकाे उनकाे तर्क छ।
घर परिवार तथा अभिभावकको हेलचक्य्राई र निगरानीकाे अभाव हुँदा किशोरावस्थाका केटाकेटी लागुऔषधको तलमा फस्दै गइरहेका छन्। जुम्ला प्रहरीकाअनुसार लागुऔषधको तलमा फसेकाहरु १८ वर्षदेखि ४० वर्षसम्मका बढी छन्।
विद्यालयस्तरका विद्यार्थीलाई समयमै सचेत गराउन सके केही हदसम्म प्रयाेगकर्ताकाे संख्या घटाउन सकिने विषयमा प्रहरी लागिरहेको डिएसपी चन्दले बताए। ‘हामीले जुम्ला बजारका ट्युसन सेन्टरमा पढ्ने विद्यार्थीहरुसँग सचेतना कार्यक्रम संचालन गरिरहेका छाैं,’ उनले भने, ‘लागुऔषध प्रयोग गर्दा हुने नाेक्सानी बताउँदा विद्यार्थी सचेत हुने हुन्छन्। यसबाट उमेर समूहका नागरिकलाई बचाउन सकिन्छ।’
लागुऔषध प्रयाेग गर्दा सिरिन्जका कारण एच.आई.भी, एड्स, हेपाटाईटिस तथा यौनजन्य रोगहरुकाे संक्रमण हुने, तौल घट्ने, शरीर दुब्लाउने, खानामा रूचि नहुने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका फरेन्सिक विशेषज्ञ डा. अपुर्व आचार्यले बताए।
उनले भने,‘लागू औषधकाे ओभरडोज भएमा प्रयाेगकर्ताकाे ज्यानै जान सक्छ। एकोहोरोपन, फ्रस्टेसन, डिप्रेशन, सोच्न सक्ने शक्ति हराउने, स्मरण शक्ति कम हुने, नकारात्मक भावनाको सिर्जना हुने, आत्महत्या गर्न प्रेरित हुने हुन्छ। जुन निकै खतरनाक अवस्था हाे।’
उनकाअनुसार लागुऔषध प्रयोगकर्ताहरु एकान्तमा बस्न रुचाउने, असमान्य व्यवहार देखाउने, दुब्लाउँदै जाने, पढ्न मन नगर्ने, अपराधिक कार्यमा संलग्न हुने हुन्छन्। जसले धन सम्पतिको बरबाद हुन्छ भने सामाजिक मूल्य र मान्यताहरु क्रमशः भत्किँदै जाने सम्भावना रहन्छ।
मान्छेमा एक प्रकारकाे लत सिर्जना गरी दुर्व्यसनीमा फसाउने वस्तु वा पदार्थलाई लागुऔषध भनिन्छ। लागु पदार्थले शारिरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने गरेकाे डा. आचार्यकाे भनाइ छ। ‘यसले हाम्राे स्नायू प्रणालीमासमेत गम्भीर खालकाे प्रभाव पार्ने हुँदा भावना र सोचाइमा परिवर्तन ल्याइदिन्छ।’
कानूनद्वारा निषेध गरिएकाे गाँजा, अफिम, हिरोइन, मर्फिन, कोकिन आदिलाई अवैध लागुऔषध भनिन्छ भने सूर्तिजन्य पदार्थ र कानूनद्वारा नियन्त्रित मधिरासमेत लागु पदार्थमा पर्दछन्।
विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनि परिभाषित गरेको छ। जसअनुसार गाँजा, औषधोपयोगी गाँजा, अफिम, तैयारीको अफिम, औषधोपयोगि अफिम, कोकाको झार र पात, अफिम तथा कोककाको सारतत्व मिश्रण वा लवणसमेत मिलाई तयार गरिने कुनै पदार्थ लागुऔषध हुन्।
नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगञ्ज, भैरहवा तथा काँकरभिट्टा लगायतका प्रमुख नाकाबाट लागूऔषध भित्रिने गरेकाे प्रहरीकाे तथ्यांक छ। विभिन्न मुलुकबाट नेपालमा लागुपदार्थ भित्र्याउने वा नेपाल हुँदै अन्य मुलुक लैजाने क्रम विगतदेखि नै चल्दै आएको लागुऔषध नियन्त्रण ब्यूरोकाे रिपोर्ट छ।
त्यस अलवा अतिरिक्त खुल्ला सीमाको फाइदा उठाउँदै भारतबाट लागुपदार्थ अन्य नाकाहरूबाट समेत नेपाल भित्र्याउने गरिएको छ। नेपालमा गाँजा तथा ब्राउन सुगर अन्य लागु पदार्थभन्दा सस्तो भएकाले याे बढी खपत हुने गरेकाे डिएसपी चन्दले बताए। गाँजा जुम्लामा प्राकृतिक रुपमै उत्पादन हुन्छ भने ब्राउन सुगर भारतकाे रुपइडिहा हुँदै जुम्लासम्म पुग्ने गरेकाे छ।
‘लागूऔषधकाे बढ्दाे काराेबार नियन्त्रण गर्न प्रहरीको एकल प्रायसले मात्रै सम्भव हुँदैन,’ डिएसपी चन्दले भने, ‘यस्तो कार्यमा राजनीतिक दल, नागरिक समाज, युवा विद्यार्थी सबैकाे सहयोग चाहिन्छ।’
उनकाअनुसार अहिले प्रहरीले जुम्लाका ८ वटै स्थानीय तहमा पुगेर अन्तरक्रिया गरी नागरिकलाई सचेत पार्ने काम गरिरहेकाे छ। पहिलोपटक सिंजा गाउँपालिकामा अन्तरक्रिया गरी कार्यक्रमकाे सुरुवात गरिएकाे छ।
प्रहरीको निगरानी बढेसँगै प्रयोगकर्ता पक्राउ पर्ने र मुद्दासमेत बढ्ने गरेको जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए। ‘जुम्ला लागुऔषधको हब बन्दै छ। लतमा फस्नेहरु कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरु बढी छन्,’ उनले भने,‘सबैभन्दा बढी सचेत अभिभावक हुन जरुरी छ भने पक्राउ परेका आफन्तलाई छुटाउन दबाब दिने काम बन्द गर्नुपर्छ।’
ब्राउन सुगर, चरेस, गाँजाजस्ता लागुऔषधको विषयमा हरेक पालिका र वडास्तरमा प्रभावकारी संयन्त्र बनाएर काम गर्नुपर्ने सांसद विनिता कठायतले बताइन्।
‘म जुम्लामा हुँदा डिएसपी र सीडीओ सापसँग कुरा भएकाे थियाे। त्यसबेला हामीले युवा पुस्तालाई सिर्जनशील हुने र कुलतमा फस्न नदिने गरी संयन्त्र बनाउने विषयमा छलफल गरेमा थियौं,’ उनले भनिन्।
उनकाअनुसार स्थानीय प्रहरीले काे–काे लागुऔषधकाे दुर्व्यसनीमा फसेका छन् र काे–काे काराेबार गर्छन् भन्ने थाहा हुँदा पनि पक्राउ गर्न सकेका छैनन्। कारण आफूलाई भाैतिक आक्रमण हुने, पारिवारिक सम्बन्ध बिग्रने डर छ। त्यसैले जुम्लाकै स्थानीय प्रहरीलाई सरुवा गराएर बाहिरका प्रहरी ल्याउने तथा जासुसी संयन्त्र प्रभावकारी रुपमा चलायमान बनाउने विषयमा छलफल भएकाे छ।
एक पटक कुलतमा फसिसकेपछि सितिमिति छुटाउने गाह्राे हुने हुँदा निकै संयमता अपनाउनुपर्ने फरेन्सिक विशेषज्ञ डा. आचार्यले बताए।
‘आपूर्ति नियन्त्रण गर्न सके लागू औषधकाे माग घटाउन सकिन्छ,’ उनले भने,‘लतमा लागिसकेको भए उपचार तथा पुनर्स्थापना गरी क्षति न्यूनिकरण गर्नतिर साेच्नुपर्छ।’
हालसम्म नेपालमा लागुऔषध नियन्त्रणका लागि लागुऔषध (नियन्त्रण) ऐन, २०३३, लागुऔषध नियन्त्रण राष्ट्रिय नीति, २०६६ लागुऔषध नियन्त्रण रणनीति, २०६६, लागुऔषध नियन्त्रण कार्ययोजना, २०७५ लागुऔषध प्रयोगकर्ताहरूको लागि उपचार तथा पुन:स्थापना केन्द्र सञ्चालन निर्देशिका, २०७५, लागुऔषधको नियन्त्रण र रोकथामसम्बन्धी कार्यक्रम सञ्चालन सम्बन्धमा स्थानीय तहलाई मार्गदर्शन, २०६७ लागु औषधको मौखिक प्रतिस्थापन उपचार पद्धति कार्यसञ्चालन निर्देशिका, २०७० र साझेदारीमा लागुऔषध प्रयोगकर्ताहरूको उपचार तथा पुनस्थापना केन्द्र सञ्चालन सम्बन्धी कार्यविधि, २०७५ जस्ता कानुनहरु बनेका छन्।
तर, पनि नियन्त्रण हुनुकाे साटाे झन् बढ्दै जानू समस्या भएकाे सांसद कठायतले बताइन्। उनले भनिन्, ‘सीमा-नाकाहरुमा कढाइ र जिल्ला जिल्लाका नाकाहरुहरुकाे सुरक्षा संयन्त्र बलियाे बनाउनुपर्छ।’