किसानलाई तरुल खन्न र बिक्री गर्न भ्याइ नभ्याइ

File Photo
File Photo

माघेसङ्क्रान्ति नजिकिँदै जाँदा यतिबेला तरुल खन्न र बिक्री गर्न किसान व्यस्त बनेका छन्।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा उत्पादन भएको तरुल खनेर बजारमा बिक्रीका लागि उनीलाई भ्याइनभ्याइ भएको हो।

माघेसङ्क्रान्तिमा तरुलको माघ धेरै हुने हुँदा यतिबेला किसानले आफ्नो बारीमा लगाएको तरुल खनेर बजारसम्म लैजाने काम गरिरहेका छन्। माघेसङ्क्रान्तिमा तरुलको माग पनि हुने र सहजरूपमा बिक्री हुने भएपछि आफूले लगाएको तरुल खनेर बिक्रीका लागि बजार लगेको हुप्सेकोट गाउँपालिका–५ का मकरसिंह सारुमगरले बताए।

“अहिले तरुलको माग धेरै हुन्छ, बिक्री गर्न पनि समस्या हुँदैन, यसैले अहिले लगाएको सबै तरुल खनेर बजार पुर्याइयाे”, उनले भने। आफूले यस वर्ष करिब दुई क्विन्टल तरुल बेचेको बताए।

धौवादीका शेरबहादुर झेडीमगरले पनि आफूले लगाएको तरुल खनेर बजारसम्म पुर्याएका छन्। माघेसङ्क्रान्तिका दिनमा यसको महत्व हुँदा अहिले समयमै बजार पुर्याउन् आफूहरू लागेको उनले बताए। “आजभोलिमा बेच्यो भने बेच्यो, पछि कसैले त्यति खोज्दा पनि खोज्दैन, भाउ पनि हुन्न त्यसैले अहिले लगाएको तरुल खनेर बेच्न चटारो छ”, उनले भने।

एक दिनका लागि धेरै उपभोग हुने र अन्य समय खासै महत्व नहुने हुँदा धेरै लगाउनसमेत जोखिम रहेको उनले बताए। तर अहिले लगाएको जति बजारीकरणमा भने  समस्या नभएको मगरको भनाइ छ।

पहाडी क्षेत्रमा धेरैजसो किसानले तरुल लगाउने गरेको उनको भनाइ छ। किसानले अदुवा खेतीसँगै बीचमा तरुल लगाउने गरेका छन्। धेरैजसो किसानले पञ्जे (हात्तीपाइले) तरुल लगाउने गरेको उनको भनाइ छ। यो तरुल स्वादिलो हुने हुँदा माग धेरै हुने भएका कारणले किसानले पञ्जे तरुल लगाउने गर्छन्।

तरुल लगाउने किसानलाई तरुल बिक्रीबाट घर खर्च चलाउन र माघेसङ्क्रान्ति मनाउन सहयोग पुग्ने गरेको उनको भनाइ छ। “तरुल बिक्रीबाट सामान्य घर खर्च पनि चल्छ, सङ्क्रान्ति मनाउन खर्च पनि पुग्छ”, उनले बताए।

केही वर्षयताबाट तरुल उत्पादनमा भने कमी हुँदै गएको किसान तिलक रानाले बताए। कीरा लाग्ने समस्याका कारण पछल्ला केही वर्षयता उत्पादनमा भने कमी हुँदै गएको उनले बताए। अदुवा खेतीमा पञ्जे तरुल  लगाउँदा राम्रो हुने र बाहिर लगाउँदा राम्रो नहुने हुँदा अदुवा लगाउने सबैजसो किसानले तरुल लगाउने गरेको रानाले बताउछन् ।

तर पछिल्ला वर्षमा तरुलमा कीराको समस्या देखिएपछि किसानले थोरै–थोरै क्षेत्रफलमा लगाउने गरेको उनको भनाइ छ। यसले उत्पादनमा समेत कमी हुँदै गएको रानाले बताए।

नवलपुरको पहाडी क्षेत्रबाट अहिले दैनिकजसो करिब १० क्विन्टल तरुल कावासोतीमा मात्रै आउने गरेको कावासोतीमा तरुल थोक बिक्रेताका रूपमा काम गर्दै आउनुभएका व्यवसायी लालबहादुर सारुले बताए। कावासोतीसहित दलदले क्षेत्रमा समेत सोही मात्रामा तरुल पहाडी क्षेत्रबाट किसानले ल्याउने गरेको उनले बताए। नवलपुरमा उत्पादन भएको तरुल स्थानीय बजारसँगै पोखरा र काठमाडौँमा खपत हुने गरेको उनको भनाइ छ।

आफूले अहिले पहाडी क्षेत्रमा उत्पादन भएको तरुल दैनिकरूपमा पोखरा र काठमाडाँैमा पठाउने गरेको सारुले बताए।

दैनिकजसो किसानले ल्याएको तरुल बिक्रीमा समस्या नभएको र सबै खपत हुँदै आएको उनले बताए । सारुका अनुसार किसानले अहिले प्रतिकेजी रु ४५ सम्म बुझ्ने गरेका छन्।

आफूहरूले बाहिरी जिल्ला पठाउँदा भने ढुवानीसहित सबै लागत जोडेर मूल्य प्रतिकेजी रु ७० देखि रु ८० सम्म पर्ने गरेको सारुले बताए ।  नेपाली समुदायमा माघेसङ्क्रान्तिमा तरुल, सखरखण्डसँगै चाकु, सेलरोटीलगायतका परिकार खाने प्रचलन रहेको छ।

प्रकाशित मिति: : 2023-01-10 08:39:00

प्रतिकृया दिनुहोस्