चालु पूँजी कर्जासम्बन्धी मार्ग निर्देशन स्थगन गर्न अर्थमन्त्री पौडेललाई चेम्बरको आग्रह

फाइल तस्बिर
फाइल तस्बिर

अर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक समृद्धि र उन्नतिका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन्।

अर्थतन्त्रमा देखिएका सबै समस्याको समाधानका लागि आफूले पहल सुरु गरेको उनको भनाइ छ।

नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री पौडेलसँग आज भेटवार्ता गर्दै पूँजीगत खर्चमा सुधार, भन्सार सहजीकरण, चालु पूँजी कर्जासम्बन्धी मार्ग निर्देशनको स्थगनलगायतका विषयमा ध्यानाकर्षण गराएको थियो।

चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितको टोलीले भन्सारको सहजीकरण गरेर राजस्वको दायरा फराकिलो बनाउनुपर्ने, वस्तुहरूको आयात निर्यातमा कारोबार मूल्यलाई मान्यता दिनुपर्ने बताए। 

उनले भने, 'भन्सार प्रक्रियामा सन्दर्भ मूल्य कायम हुँदा यसले राजस्व प्रभावित भएको छ। अवैध कारोबारलाई प्रोत्साहन मिलेको छ। सरकारको राजस्व सङ्कलन कार्य प्रभावित भएको छ।' 

अध्यक्ष मल्लले सीमा नाकामा हुने अवैध कारोबार रोकेर भन्सार प्रणालीलाई व्यवस्थित गर्न नवनियुक्त अर्थमन्त्री पौडेलसमक्ष आग्रह गरे। 

नेपाल राष्ट्र बैंकबाट हालै जारी भएको 'चालु पूँजी कर्जा मार्गदर्शन २०७९' ले विद्यमान तरलता अभावको परिस्थितिमा व्यावसायिक क्षेत्रमा थप असहज परिस्थितिमा सिर्जना गरेकाले सो मार्गदर्शन स्थगित गर्नुपर्ने चेम्बरको माग छ। चेम्बरले उठाएको माग सम्बन्धमा आफू गम्भीर भएको अर्थमन्त्री पौडेलले बताए। 
 

प्रकाशित मिति: : 2022-12-29 19:07:00

प्रतिकृया दिनुहोस्