धार्मिक महोत्सवमा उठ्यो सवा दुई करोड

फाइल तस्बिर
फाइल तस्बिर

सशस्त्र द्वन्द्वका बेला स्थानान्तरण भएको संस्कृत गुरुकुललाई गाउँमै पुनःस्थापना गर्ने उद्देश्यले सञ्चालित ‘बिहुँकोट धार्मिक महोत्सव–२०७९’ मा रु दुई करोड २५ लाख सहयोग सङ्कलन भएको छ। 

काठेखोला गाउँपालिका–५ रामकोटधाममा बिहीबारदेखि सुरु भई बुधबार सकिएको महोत्सवमा सो रकम उठेको महोत्सवका संयोजक देवीलाल सुवेदीले जानकारी दिए। 

उनका अनुसार महोत्सव सुरु हुनुअगावै रु ६५ लाख जुुटिसकेको थियो भने त्यति नै रकम सहयोगको प्रतिबद्धता आएको थियो। 'धेरै रकम विदेशमा रहनुभएका बिहुँकोटे दाजुभाइ, दिदीबहिनी र शुभेच्छुकहरुबाट प्राप्त भएको छ' उनले भने।

आयोजकले महोत्सवबाट रु तीन करोड सङ्कलन गर्ने अपेक्षा राखेको थियो। महोत्सव सकिए पनि आर्थिक सङ्कलन अभियान भने जारी रहने जनाइएको छ। बिहुँकोट अन्तर्राष्ट्रिय समाजको पहल र सङ्कल्पमा महोत्सव आयोजना गरिएको हो। 

रामकोटधामका संस्थापक दिवङ्गत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजले विसं २०३१ मा स्थापना गर्नुभएको गुरुकुल पाठशाला विसं २०५६ मा तनहुँको देवघाटमा सरेको थियो। 

उक्त गुरुकुललाई पुनः रामकोटधाममै फर्काउने उद्देश्यले महोत्सव आयोजना गरिएको परमानन्द सन्यास आश्रमका संरक्षक श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीले बताए। 

गुरुकुल परम्पराका माध्यमबाट संस्कृत विद्यालाई अघि बढाउनुपर्नेमा उनको जोड छ। सात दिनसम्म चलेको महोत्सवमा सन्त सम्मेलन, धार्मिक प्रवचन, बैदिक पूजाअर्चना, झाँकी प्रदर्शनी, भजन सङ्र्कीतन, पञ्चेबाजा प्रतियोगितालगायत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो।

महोत्सवमा धवलागिरि र आसपासका क्षेत्रबाट श्रद्धालुहरूको उल्लेख्य सहभागिता रहेको थियो। महोत्सवबाट सङ्कलित रकम संस्कृत गुरुकुल सञ्चालनमा खर्च गरिने समाजका अध्यक्ष सुवेदीले बताए। 

'आर्थिक स्रोत र पूर्वाधारको सुनिश्चिता भएपछि गुरुकुल सञ्चालनमा आउँछ' उनले भने, 'गुरुकुल पाठशालाले संस्कृत विद्या र सनानत संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास लिएका छौँ।'

प्रकाशित मिति: : 2022-12-14 21:39:00

प्रतिकृया दिनुहोस्