‘मोदीको हत्या गर्नुपर्छ’ भन्ने कांग्रेस नेता पक्राउ

फाइल तस्बिर
फाइल तस्बिर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध आपत्तिजनक टिप्पणी गरेपछि भारतीय राष्ट्रिय कांग्रेसका नेता राजा पटेरियालाई प्रहरीले पक्राउ गरेको छ।

मध्य प्रदेशका पूर्वमन्त्री पटेरियाले एउटा बैठकमा प्रधानमन्त्री मोदीमाथि विवादास्पद टिप्पणी गरेका थिए। सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि उनीविरुद्ध मुद्दा दर्ता भएको थियो।

पूर्वमन्त्री पटेरियालाई मंगलबार एकाबिहानै पन्नास्थित निजि निवासबाट भारतीय प्रहरीले पक्राउ गरेको हो। ‘मोदीको हत्या गर्न तयार रहौँ’ भनेपछि भाजपाले कडा विरोध गरेको छ। 

मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले पूर्वमन्त्री पटेरियाको अभिव्यक्ति लिएर आपत्ति जनाएका छन्। ‘कानुनले आफ्नो बाटो लिन्छ। मोदीजी जनताको हृदयमा छन्। देशैभरको श्रद्धा र आस्थाका केन्द्र हुन्। कांग्रेसले मैदानमा उनीसँग प्रतिस्पर्धा गर्न सक्दैन, त्यसैले कांग्रेस नेता मोदीजीलाई मार्ने कुरा गर्छन्।’ 

कांग्रेस नेता पटेरियाले आफ्ना कार्यकर्तालाई भारतीय संविधान बचाउनुपर्ने अबस्था आएको दाबी गर्दै ‘मोदीको हत्या गर्न तयार हुनुपर्ने’ मत राखेका थिए। उनीविरुद्ध पन्नाको पवई प्रहरी चौकी र जबलपुरको ओमाती थानामा मुद्दा दर्ता गरेपछि पक्राउ गरिएको हो।

प्रकाशित मिति: : 2022-12-13 09:14:00

प्रतिकृया दिनुहोस्