नेकपा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्यकाे समानुपातिक बन्दसूचीमा परेकी लक्ष्मीकन्या बुढा उर्फ कमरेड 'प्रतिक्षा' २०५७ सालमा माओवादी आन्दोलन अगाडि बढाउन भन्दै भूमिगत भएकी थिइन्। त्यसबेला उनी जम्मा १४ वर्षकी थिइन्। कलिलाे उमेरमा मालेमावाद र प्रचण्डपथ जिन्दावाद भनेर दायाँ हात कसिलो बनाउँदै गर्दा उनी सैद्धान्तिक रुपमा परिपक्व भइसकेकी थिइनन्।
यत्ति कुरा चाहिँ थाहा थियाे, 'पार्टीले अन्याय र विभेदकाे विरुद्ध संघर्ष छेडेकाे छ। न्याय र समानतामुलक समाजकाे परिकल्पना गरेकाे छ।' त्यसैले उम्लदाे रगत भएका उनी जस्तै कलिला मुनाहरु क्रान्तिका निम्ति चिल्ला पात सावित हुँदै थिए।
पार्टीले भूमिगत रुपमा सञ्चालन गरेकाे संगठन निर्माण, मार्क्सवाद र वैज्ञानिक समाजवादकाे कक्षा लिँदै गर्दा उनी दिक्षित हुँदै थिइन्। त्यसले क्रान्तिका निम्ति थप जनशक्ति उत्पादन गर्ने उर्जा प्रदान गर्थ्याे। त्यही उर्जा लिएर प्रतिक्षा गाउँगाउँ पुग्थिन्। स्कुल-स्कुल जान्थिन्। जसले नयाँ संगठन निर्माण हुन्थ्याे। पार्टीका डब्लूटी कार्यकर्ता बढ्थे।
वाक कलाकी सिपालु बुढा दुस्मनकाे आँखा छलिछलि पार्टीको पवित्र उदेश्यलाई आम जनताकाे मनमनमा पुर्याउने चेस्टा गर्थिन्। उनलाई त्यतिबेला लाग्थ्याे पार्टी धेरै हदसम्म सफल भएकाे छ। क्रान्तिका निम्ति पवित्र मनले संगठित हुनेकाे संख्या बढ्दैछ।
पार्टी संगठन दिनु दुई गुना रात चाैगुना बढेकाे देख्दा उनीजस्तै तमाम कार्यकर्ताले बढ्दाे उमेरका रहरहरु मारे। उमंगहरु बिर्सिए। रमाइला क्षणहरुलाई पनि क्रान्तिका निम्ति भनेर खर्चिए। परिणाम धेरै ठाउँहरुमा पार्टी सफल हुँदै थियाे।
मनका इच्छा चाहनाहरु दबाएर पनि एउटा अजिवकाे खुसी मिल्थ्याे, त्याे थियाे- क्रान्ति, सुनाैलाे बिहान। निरन्तरकाे गतिविधिले उनलाई सबै जसाे जनवर्गीय संगठनकाे केन्द्रीय स्तरकाे नेतासम्म पुर्यायाे।
युद्ध छेड्दा दुस्मनकाे गला रेट्ने उदेश्यसहित उनीहरु रणभूमिमा जान्थे। सबै युद्ध सफल भएनन्। कतिपय ठाउँमा हार पनि बेहाेर्नु पर्यो। जति ठाउँमा जिते त्यहाँबाट विजयी उत्सव मनाउँदै फर्किए। त्यहाँ घाइते भएका साथीहरुलाई सँगै लिएर उपचार गरे। हारेका ठाउँमा घाइतेहरुलाई तड्पिँदै छाेड्नु पर्यो।
उनी सम्झिन्छिन्, 'हामीले जितेकाे ठाउँमा सहिद भएका कमरेडहरुलाई सलामी दिएर अन्तिम बिदाई गर्यौं। तर हारेकाे ठाउँमा मलाई लैजानुस् भनेर कमरेडहरुले अनुनय गर्दा गर्दै समेत त्यतिकै छाेडेर हिँड्नु पर्यो। मन अत्यन्तै भारी हुन्थ्यो। त्यसैले पनि पार्टीले सहिदहरुकाे सपना साकार गर्नुपर्छ।'
माओवादी आन्दोलनकाे उदेश्य सत्ता कब्जा गरेर देशमा नाैलाे जनवाद स्थापना गर्ने थियाे। तर वार्ताकाे टेबुलबाट सम्झाैतामा आन्दोलन टुङ्ग्याइयाे। संसदीय व्यवस्थाकाे खराे विराेध गर्ने पार्टी संसदीय राजनीतिमा जबर्जस्ती धकेलिनुपर्ने स्थिति आयाे।
युद्धकालमा माओवादीले जनतामाझ गरेका बाचाहरु क्रान्तिकारी भूमिसुधार, शिक्षा, स्वास्थ्य नि:शुल्क, राेजगारीकाे सुनिश्चितता, समतामूलक समाजकाे निर्माणलगायत संसदीय राजनीतिले स्थापित गर्न सकेन।
तथापि पहिलाे संविधान सभाकाे निर्वाचनमा जनताले माओवादीलाई भारी मत दिए। त्यसबेला पार्टीले जनचाहना अनुरुप काम गर्ने, सहिदका सपना साकार पार्ने विषयमा ध्यान दिन नसक्दा पछिल्लो समय पार्टीका धेरै जनाधारहरु गुमेकाे प्रतिक्षाकाे बुझाइ छ।
क्रान्ति र निरन्तर क्रान्तिका नाममा माओवादीमा दरार आउँदा जनतामा निराशा छायाे। त्याे कार्यभार पूरा गर्ने दायित्व माओवादीकै काँधमा रहेका उनकाे बुझाई छ। 'पार्टीले उठाएका मुद्दाहरु र हिजाे जनतामाझ खाएका कसम पूरा गर्ने जिम्मेवारी हाम्रो हाे भन्ने लाग्छ,' उनले भनिन्।
उनी सांगठनिक गतिविधि सँगै लेखन कार्यमा पनि सक्रिय छिन्। विद्यार्थी राजनीति र संगठन विस्तारकाे क्रममा उनले जनादेश साप्ताहिकमा धेरै लेख रचनाहरु छपाएकी थिइन्। युद्ध पछि महिला अधिकारका निम्ति सक्रिय उनले लेखन कार्यलाई व्यवस्थित बनाउने काेसिस गरिरहेकी छन्।
त्यसैकाे प्रतिफल कर्णालीमा महिला भाग एक र दुई तथा मुक्ति अभियानलगायत तीन वटा पुस्तकहरु यसअघि नै प्रकाशित भइसकेका छन्। भर्खरै उनकाे निबन्ध संग्रह 'छरिएका खुसीहरु' प्रकाशित भएकाे छ।
'पछिल्लो समय क्रान्तिकाे निम्ति भनेर दिलाे ज्यान दिएका कमरेडहरु निराश हुनुहुन्छ। उहाँहरुसँग अन्तरक्रिया गर्दा अहिले देशमा भएका सबै परिवर्तन माओवादी आन्दोलनका उपलब्धि हुन भन्ने गरेकी छु। आमूल परिवर्तनकाे मुद्दा ओझेलमा पर्न नदिन छरिएका खुसीहरु व्यवस्थित गर्न खाेजेकी हुँ,' उनले भनिन्।
प्रतिक्रियावादी भन्दा प्रतिक्रियावादी संघसंस्थाभित्र छिरेर तिनकाे भण्डाफाेर गर्ने लेनिनवादी नीति अनुरुप संसदकाे उपयाेग गरेका नेपाली कम्युनिष्टहरुले संसदीय राजनीतिबारे व्यापक समिक्षा गरी नकसेकाे अवस्थामा त्यहीँबाट सुधारका गतिविधि गर्नुकाे विकल्प नरहेकाे उनकाे मत छ। त्यसैले यतिबेला उनले पार्टीले प्रदेशकाे समानुपातिक बन्दसूचीमा नाम राख्दा जनतासँग पार्टीको निम्ति र आफ्नाे निम्ति मत मागिन्।
बन्दसूचीकाे तीन नम्बरमा नाम परेकी उनी प्रदेश सांसद भए विभेदकारी व्यवहारविरुद्ध कडा कानुन बनाउन सक्रिय रहने बताउँछिन्। 'मञ्चमा समानताकाे चिल्ला कुरा गर्नेहरु घरमा खस्रा व्यवहार प्रदर्शन गर्छन्,' उनले भनिन्, 'उनीहरुलाई नै कारबाहीको दायरामा ल्याउने कानुन बनाउनु पर्छ। त्यसबाहेक पार्टीले जनयुद्ध ताका जनतासँग गरेका बाचा क्रमशः पूरा गर्ने गरी लाग्नेछु। यदी पार्टीले अवसर दियाे भने।'