सिन्धुपाल्चोकमा ५६.२१ प्रतिशत मत खस्याे

बिएल संवाददाता

सिन्धुपाल्चोक

सिन्धुपाल्चोक जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा ५६. २१ प्रतिशत मत खसेकाे छ। आइतबार बिहान सात बजेदेखि सुरु भएको सम्पन्न मतदानमा एक लाख ४६ हजार तीन सय ४९ मत खसेको छ।

पुरुष ८० हजार ८ सय ६२ जना ६५ हजार ४ सय ४२ जना महिलाले मतदान गरेका छन्। सिन्धुपाल्चोकमा दुई लाख ६० हजार २ सय ७३ जना मतदाता छन्। सिन्धुपाल्चोकमा दुइ प्रतिनिधि र चार प्रदेश सभा निर्वाचन क्षेत्र छन्। मुख्य निर्वाचन कार्यालयका अनुसार सबै मतदान स्थलमा शान्तिपूर्वक मतदान सम्पन्न भएको छ। 

६ वटा मतदान केन्द्रकाे मतपेटिका  मतगणना स्थल आइपुगेकाे छ भने बाकि मतपेटिका आउने क्रम जारी छ। निर्वाचन क्षेत्र नं २ मा छिटपुट केही विवाद र झडप देखिए पनि तत्काल समाधान गरेर मतदान सम्पन्न गराउन सफल भएको प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले बताए।

 मतपेटिका स्टोररुम र मतगणना स्थल सुरक्षाकासाथ तयारी अवस्थामा राखिएको कोइरालाको भनाई छ। क्षेत्र नं १ को चौतारा नगरपालिकाको हलमा र क्षेत्र नं २ को समन्वय समितिको हल चौतारामा मतगणनाका लागि स्थल तयार पारिएको छ।

मतदानकेन्द्रमा छिटपुट घटना

दिनभर पाँचपोखरी थाङपाल गाउँपालिका ३ भोताङ मावि मतदानकेन्द्रमा नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको थियो। बिहानको सर्वदलिय बैठकमा अशक्त ब्यक्तिको हकमा घरका एकजनाले एक पटक मात्र प्रतिनिधि बनेर मतदानमा सहयोग गर्न मिल्ने निर्णय गरेको थियो।

तर मतदानको बेला २ बजेतिर अपाङगता , जेष्ठ नागरिकको प्रतिनिधि बन्दै एकजनाले ४ जना सम्मको मतदान गर्न गएको भन्दै झडप भएको थियो। सुरक्षामा खटिएका नेपाल प्रहरी र नेपाली सेनाले झडप नियन्त्रण गरेपछि मतदान अधिकृतले मतदान प्रक्रिया पुन सुरु गरि शान्तिपूर्ण मतदान सम्पन्न भएको हो। 

यस्तै मेलम्ची ११ स्थित जागेश्वरी निमावि बुथ बाहिर झडप भएको थियो। घटना स्थलमा नेपाल आर्मी परिचालीत भएका थिए। यस्तै चौतारा साँगाचोकगढी नगरपालिका ७ स्थित शिद्धिगणेश, कुविण्डे स्थित श्री पञ्चकन्या माविमा केही समय विवादका दृष्यसमेत देखिए। 

समग्रमा मतदानकेन्द्रहरुमा  भने भयरहित वातावरणमा मतदान भएको प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालले जानकारी दिए। छिटपुट घटना भए पनि त्यसलाई तत्काल समाधान भएका र सबै स्थानमा सामान्य रूपमा मतदान सम्पन्न भएको छ।

प्रकाशित मिति: : 2022-11-20 21:12:00

प्रतिकृया दिनुहोस्