मकवानपुरमा निर्वाचन कर्मचारीका लागि तालिम सुरु

आगामी मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनमा मकवानपुर जिल्लाभर खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूका लागि आजबाट मतदान सञ्चालनसम्बन्धी तालिम सुरु भएको छ। 

जिल्लाका तीन सय ७४ मतदान केन्द्रमा खटिने सात सय २८ मतदान अधिकृत तथा सहायक मतदान अधिकृतसहित थप ७२ जनालाई मतदान सञ्चालनसम्बन्धी तालिम दिन लागिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। प्रदेश निर्वाचन कार्यालय हेटौँडाले आयोजना गरेको दुईदिने तालिमपछि कर्मचारीलाई निर्वाचन सामग्री हस्तान्तरण गरेर मतदान केन्द्रमा खटाइने जनाइएको छ।

जिल्लाको एक सय ६५ वटा मतदानस्थलमा तीन सय ६४ मतदान केन्द्र रहेका छन्। खटिने सात सय २८ र अरु थप १० प्रतिशत गरी आठ सय जनालाई तालिम दिन सुरु गरिएको प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ। चुनावमा गर्नुपर्ने सबै कामका विषयमा जानकारी दिएर उनीहरूलाई खटाउन लागिएको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए।

प्रत्यक्षतर्फका र समानुपातिक उम्मेदवारका लागि मत राख्ने तरिका, भीड नियन्त्रण, मसी लगाउने, नाम रुजु गर्ने, दोहो¥याएर मत हाल्न आएमा अपनाउनुपर्ने तरिका, मतदाताले गोप्यरूपमा मतदान गर्न पाउने आफ्नो अधिकारलाई सुरक्षित ढङ्गले प्रयोग गर्नेबारे प्रशिक्षित गराइने उनले बताए। मङ्सिर १ गतेसम्म निर्वाचनका लागि खटाइएका सबै कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पुगिसक्नुपर्ने छ।
 
तीन लाख सात सय ३३ मतदाता रहेको मकवानपुरमा दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र छन्। जिल्लाका तीन सय ६४ वटा मतदान केन्द्रमध्ये १९ वटालाई अतिसंवेदनशील र ६० वटा केन्द्रलाई संवेदशील केन्द्रको रूपमा लिइएको छ। तीन सय ६४ मतदान केन्द्रमा करिब तीन हजार कर्मचारी खटिने जनाइएको छ।

मकवानपुर क्षेत्र नं १ मा एक लाख ५० हजार एक सय ५५ र क्षेत्र नं २ मा एक लाख ५० हजार पाँच सय ७८ मतदाता छन्। जिल्लामा पाँच जना तेस्रो लिङ्गी मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2022-11-12 17:17:00

प्रतिकृया दिनुहोस्