लक्ष्मीकन्याको निबन्ध संग्रह 'छरिएका खुशीहरु' सार्वजनिक

नेकपा माओवादी केन्द्र)की नेत्री तथा सर्जक लक्ष्मीकन्या बुढाले लेखेको निबन्ध संग्रह 'छरिएका खुशीहरु' सार्वजनिक भएकाे छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जुम्ला पुगेकाे अवसरमा पुस्तकको विमोचन गरेका थिए।

पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष प्रचण्डले समाजको वास्तविक चरित्रलाई शब्द चित्रण गर्दै प्रकाशनमा ल्याएर गतिलो सन्देश दिनु लक्ष्मिकन्याकाे नेपाली  साहित्यलाई याेगदान भएकाे बताए।

'साहित्यले समाजलाई शब्दमा उतार्ने हाे। यसमा लक्ष्मीकन्या सफल हुनुभएको छ,' उनले भने, 'समाजमा उपलब्ध यस्ता सृजना र प्रतिभाहरुको संरक्षण गर्नुपर्छ।'

लेखिका बुढाले वर्तमान राजनीतिका कारण निराश भएर बसेका पूर्णकालीन कार्यकर्ता, सहिद परिवार र घाइते अपांगहरुको समस्या तथा अवस्थालाई निबन्ध मार्फत अभिव्यक्ति गरेकी छन्।

'अहिलेको उपलब्धि हाम्रो रगत र पसिना साटेर आएको हो। हामीले निराश होइन, खुशी हुनुपर्छ,' उनले भनिन्, 'हाम्रा छरिएका खुशीहरुको संगम एउटै हुनुपर्दछ। किनकी राष्ट्रको परिवर्तनसँग हाम्रो सम्बन्ध जोडिएको छ।'

पिछडिएका क्षेत्रका महिलाको विद्यमान अवस्था, बालविवाह, श्रम, कार्यबोझदेखि समाजमा भएका विकृति, सांस्कृतिक कुप्रथा र त्यसले मानवीय जीवनमा पारेका प्रभावलाई पनि निबन्ध संग्रहमार्फत उजागर गरिएको उनले बताइन्।

याे उनकाे चाैँथाे कृति हाे। यसअघि उनका 'कर्णालीमा महिला' भाग– १ ०७२ र २ ०७५,  'मुक्ति अभियान' ०७७ नामक कृति प्रकाशन भइसकेका छन्।

प्रकाशित मिति: : 2022-11-12 09:34:00

प्रतिकृया दिनुहोस्