मनिषाजी, नबिर्सनलाई त कहिलै सम्झेको पनि त हुनुपर्ला नि !

'अरूले बिर्सेर होला तर राजेन्द्र लिङ्देनजीले बिर्सनुभएको छैन वीपी बालाई ।' 

यो भनाइ हो नेपाली कांग्रेसका स्वप्नद्रष्टी नेता वीपी कोइरालालाई 'बीपी बा' भन्ने उनकै नातिनी मनिषा कोइरालाको ।

मनिषा कोइराला भन्ने बित्तिकै धेरै मानिसको आँखामा एक बलिउड नायिकाको छबि नाँच्छ । 

उनै मनिषा यतिबेला बलिउडमा चलिरहेको उनको सेकेण्ड इनिङको फिल्मी करिअरको सेड्युअललाई पज गरेर नेपालमा राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीको  चुनावी प्रचारप्रसारमा सहभागी हुन आएकी छिन् ।

यही क्रममा उनले बसन्तपुरमा आयोजित राप्रपाको चुनावीसभामा यस्तो भनाइ राखेकी हुन् । 

यो सुनेर अरू त हाँस्ने भए नै, स्वयं राप्रपाका कार्यकर्ता पनि मजैले हाँसे । अझ त्यसमा पनि राजेन्द्र लिङ्देन त गजब्बैले हाँसे होलान् ।

मनिषालाई एउटा कुरा थाहा हुनुपर्ने हो, कुनै कुरा नबिर्सनलाई पहिला त कहिले कतै सम्झेको हुनुपर्छ । राजेन्द्र लिङ्देनको डीएनएमै निर्दलीयता छ । उनी कहिलै बहुदलीय प्रजातन्त्रको पक्षधर रहेनन् । कुनै बेला मण्डले भनेर चिनिने राष्ट्रवादी विद्यार्थी मण्डलको फेर समातेर राजनीति गरेका उनले वीपी कोइरालालाई सम्झने न कुनै परिस्थिति बन्यो, न कुनै अवस्था । 

राजेन्द्रले जब कहिलै वीपी कोइरालालाई सम्झेनन् भने उनले बिर्सने भन्ने कुरै आउँदैन ।  त्यसैले बिर्सने भन्ने कुरा नै बेकारको कुरा हो ।

नेपालको चुनावमा अन्टसन्ट भाषण हुन्छ । त्यस्तो भाषण गरेर केपी ओली दुनियाँलाई हसाइरहेकै थिए, छन् । यही मेसोमा मनिषा कोइराला पनि एक किसिमको 'डार्क कमेडी'को एउटा प्लट लिएर त्यसमा मिसिन त आइपुगेकी हैनन् ?, प्रश्न गर्नुपर्ने भएको छ ।  

कुनै समय अत्याधिक मदिरा र चुरोट सेवनको लतमा फसेकी मनिषामाथि धेरै पुरूषहरूसँग उठबस गरेको गसिप पनि बनाइन्थ्यो ।  उनका बारेमा त्यतिबेला भारतीय सञ्चारमाध्यमा श्रृङ्खलावद्ध गसिप आएका थिए । तर, नेपालमा धेरैले भारतीयहरूले नेपाली चेलीलाई खेदेको भनेर ती गसिप पत्याउँदैनथे । यसमा उनलाई नेपालीले आदर गर्ने वी पी कोइरालाकी नातिनी हुनुको फाइदा पनि थियो । 

'अरूले बिर्सेर होला तर राजेन्द्र लिङ्देनजीले बिर्सनुभएको छैन वीपी बालाई ।'  यो भनाइ हो नेपाली कांग्रेसका स्वप्नद्रष्टी नेता वीपी कोइरालालाई 'बीपी बा' भन्ने उनकै नातिनी बलिउड अभिनेत्री मनिषा कोइरालाको । यो एक किसिमको असामान्य भनाइ (एब्नमर्ल स्टेटमेन्ट) हो । यस्तो भनाइ सामान्य मानिसले दिनै सक्दैन ।

समाचारको एउटा परिभाषाले गसिप समाचार हुदैन भन्छ । समाचारको यही अपरिभाषित परिभाषाले पेज थ्री जन्माउँछ र यसैभित्र सेलिब्रेटीहरूका वास्तविक कुरा गसिप बनेर आउँछन् । यो पनि सत्य हो ।

बलिउड अभिनेत्री मनिषा कोइरालाले उनको यही बिन्दास लाइफस्टाइलका कारण बलिउडको पहिलो इनिङको करिअर मात्र सकिइनन्, बैबाहिक जीवनको दु:खद अन्त्य गर्ने पृष्ठभूमी पनि कमाइन् । उनले यस सत्यलाई नेपालका केही स्वनामधन्य मिडिया स्टारहरूलाई दिएको अन्तर्वार्तामा स्विकार पनि गरेकी छिन् । 

पछिल्लो समय उनी क्यान्सरजस्तो महारोगबाट बाहिर आइन् । तर, उनको दिमाखमा त्यसले पार्ने मनोवैज्ञानिक प्रभावको केही छाप हुनसक्छ । उनको यो पछिल्लो अभिव्यक्ति कतै त्यही छापको संकेत त हैन ? शंका गर्न सकिन्छ । किनकि, यो एक किसिमको असमान्य भनाइ (एब्नमर्ल स्टेटमेन्ट) हो । यस्तो स्टेटमेन्ट सामान्य मानिसले दिनै सक्दैन । 

अब प्रश्न उठ्छ, कतै मनिषा पनि असामान्य मानसिक परिस्थितिबाट त गुज्रिरहेकी छैनन् ? 

कामना गरौं, यस प्रश्नको उत्तर 'छैनन्' भन्ने आवोस् । अहिलेका लागि नोट अफ डिसेन्ट नै सही, यति चाँहि भन्नैपर्ने हुन्छ, मनिषाजी नबिर्सनलाई त कहिले सम्झेको पनि हुनुपर्यो नि । कि कसो ?

प्रकाशित मिति: : 2022-11-12 21:05:00

प्रतिकृया दिनुहोस्