किराँती स्वादको लागि ‘मुन्दुम फार्म स्टे’ (फाेटाे/भिडियाे)

सहरको व्यस्त र भाग/दाैडको जीवनदेखि केही समय शान्त वातावारणमा रमाउन चाहनेहरूका लागि धुलिखेल र नमोबुद्ध सेरोफेरो उत्कृष्ट ‘होलिडे स्पट’ हो।

विश्वभर काेराेना महामारीले मानव जीवनको आवतजावत र सम्पूर्ण आर्थिक गतिविधिसँगै पर्यटन क्षेत्र पनि ठप्प भयो। त्यही कोरोना महामारीपछि काठमाडाैँदेखि ४३ किलोमिटरको दुरीमा परिवारिक वातावरणमा अर्गानिक खानपिन र बास बस्नलाई ‘मुन्दुम फार्म स्टे’ खुल्यो।

काठमाडाैँदेखि नमोबुद्धको बाटोमा पर्छ, मुन्दुम फार्म स्टे।

फार्म स्टेका संचालक मित्र रमेश राईको निम्तो लामो समयदेखि थियो तर पुग्ने योजना भने बल्ल गत शुक्रबार मात्रै पूरा भयो। हामी तीन युवा उद्यमी लिला खड्का, फाेटाे पत्रकार नवीन गुरुङ र म बेलुकी ७ बजेतिर पुगेका थियौँ, फार्म स्टे।

हामी पुग्दा क्याम्पफायर वरिपरि एक हुल पाहुना नेपाली गीतमा झुमिरहेका थिए।

मौसम हल्का चिसो, शान्त वातावरण, घन्किरहेको म्युजिक, तुल्सी चियाको चुस्किले शरीर ततायौँ र हामी तीन भाइ भलाकुसारीमा मस्त भयौँ। राति अबेरसम्म क्याम्पफायर वरिपरि बसेर पोर्क सेकुवा र कोदोको चुस्की लिँदै निकैबेर गफगाफमा रमायौँ, संचालक मित्र रमेश राईसँग। मित्र नवीन र लिला भाइ आनन्दित भए, रात बितेको पत्तै भएन।

समुद्र सतहदेखि करिब २ हजार मिटरमा फूलबारीस्थित मुन्दुम फार्म स्टे। मौसम सफा हुँदा पूर्वतिर लाङ्टाङ हिमालको लामो लर्कन अवलोकन गर्न सकिन्छ। हामीले भने बिहान हिमाल अवलोकन गर्न सकिँएन, मौसमले साथ दिएन।

पुर्ख्यौली घर भोजपुरका रमेश राईले कोरोना महामारीको लकडाउनमा मुन्दुम फार्म स्टेको जन्म भएको सुनाए। ‘यसअघि अन्य साथीहरु यो ठाउँमा होटल चलाएका थिए, लकडाउनमा बन्द भयो,’ रमेशले बताए।

लामो समयकाे कोरोना महामारीका कारण लकडाउन लम्बिदै गयो। यही मौकामा यो ठाउँमा के गर्ने सकिन्छ भनेर पर्यटन व्यवासायी राईले सोचे। पर्यटनलाई कृषिसँग जोडेर लैजाँदा पर्यटन दिगो हुन सक्ने सोच उनको दिमागमा फुर्‍याे र जन्मियो मुन्दुम फार्म स्टे। २७ रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा मौसमअनुसार अर्गानिक तरकारी फल्छ, दूधको लागि भैंसी पनि पालिएको छ र माछापोखरीसमेत छ। कृषि पर्यटनको उदाहारण हो, मुन्दुम फार्म स्टे।

फार्म स्टे भ्रमणमा आउने पाहुनलाई पूर्वमा अवस्थित मुन्दुम पदमार्गमा पाइने खानपिन, रहनसहन र विशेषताको सूचनासमेत दिने गर्छन्। मुन्दुमी संस्कृतीको सानाे झलक पनि हो, यो ठाउँ।

मैयुङ-टेम्के-साल्पा-सिलिचुङ पर्यटन प्रवर्धन केन्द्रका अध्यक्षसमेत रहेका रमेश राईको नेतृत्वमा २०७४ सालमा पर्यटन अध्येता, संचारकर्मी, पथ प्रर्दशकको टोलीले मुन्दुम पदमार्ग अध्ययन र अन्वेषण गरी पहिचान गरेकाे हाे। पदमार्गमा पूर्वी नेपालको मध्यपहाडी क्षेत्रमा रहेको मुन्दुम ट्रेक प्राकृतिक सौन्दर्यले भरिपूर्ण, समृद्ध जैविक विविधताका साथै किराँती राईको सभ्यतासँगै पूर्वी नेपालको संस्कृति र जीवनशैलीको स्वाद चाख्न पाइन्छ।

संचालक राईकाअनुसार फार्म स्टेमा किराँती परिकार वाचीपा, बंगुरको सेकुवा, लोकल कुखुरा, धराने सुकुटी, कोदोको रक्सी, भोजपुरको टक्सारे रक्सी, ढिँडो खानाको सातै ग्रीन टी, मिन्ट टी, फ्रेश जुसलगायतका परिकार खुवाइन्छ।

फार्म स्टेका विशेषताहरु हिमाललगायत मध्यपहाडी क्षेत्रका गाउँ/बस्तिका प्यानोरमिक भ्यु, आरमदायी कोठा, अर्गानिक खाना, शान्त वातावरण र क्याम्पिङको व्यवस्था पनि छ। एक रातमा ३५ जना पाहुना बास बस्न सकिने व्यवस्था छ। हाल विशेष अफरको रुपमा प्याकेजको रू. २२०० मा डिनर, ब्रेकफास्ट र रुमसहित पाइन्छ।

त्यस्तै बिहानै मिन्ट वा ग्रिन टीको चुस्की र ब्रेकफास्टपछि २-३ घण्टाको जंगलवाकसहित नमोबुद्धको हाइकिङ गर्न सकिन्छ। त्यस्तै शुक्रबार र शनिबारबाहेक अन्य बारमा ग्राहकलाई विशेष छुट दिएको पनि संचालक राईले बताए।

फार्म स्टे भ्रमणमा आउने पाहुनाले कोशेलीको रुपमा मुन्दुम ट्रेल क्षेत्रको भिर माहुरीको मह, चौरीको घ्यू, कोदोको रक्सी, भेडाको लुकुनी किनेर लैजान सक्छन्।

कसरी पुग्ने ?

काठमाडाैँबाट बनेपा धुलिखेल हुँदै काभ्रे भञ्ज्याङ्। त्यहाँबाट नमोबुद्ध जाने बाटो पछ्याउँदै ४ किमीको दुरीमा फूलबारी पुगिन्छ। फूलबारी बजारबाट थोरै अगाडि दाहिनेतर्फ ढलान गरेको उकालो बाटोमा मुन्दुम फार्म स्टे छ।

थप जानकारीकाे लागि: ९८४००५४२०४ र ९८१०३३९३३४ ।

प्रकाशित मिति: : 2022-11-04 21:40:00

प्रतिकृया दिनुहोस्