जिल्लाको म्याग्दे गाउँपालिका– ७ नं को विकट क्षेत्रमा सेवा केन्द्रमार्फत दिन थालेको छ। वडाको पूर्वी भेगमा बसोबास गर्ने वडावासीलाई वडासम्म सेवा लिन कठिनाई भोग्नुपरेपछि सेवा केन्द्रमार्फत सेवा प्रदान गरेको हो।
वडासम्म आउनको लागि लामो दूरी हिँड्नुपर्ने र सडकमार्गबाट अत्यन्तै घुमाउरो पर्ने भएकोले सहज रुपमा सेवा दिन सेवा केन्द्र स्थापना गरेको वडाध्यक्ष बसन्तकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार सेवा दिइएको पहिलो दिन मङ्गलबार मात्रै अठ्सठ्ठी जना स्थानियले सेवा लिएका छन्। सहज रुपमा सेवा पाउँदा उनीहरुमा खुसी छाएको छ। सेवाग्राहीको चापलाई हेरेर हाललाई महिनामा दुई पटकसम्म सेवा केन्द्रबाट सेवा दिने लक्ष्य राखिएको उनले बताए।
उक्त केन्द्रवाट डाँडागाँउ टोल, हर्षपुर टोल, पँयरटोल, बेलबोट टोल, एक्लेवर टोलका स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित हुने वडाले जनाएको छ। वडाबाट हुने सम्पूर्ण सेवा केन्द्रबाट निःशुल्क प्रदान गर्ने व्यवस्था मिलाइको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए।
नौ सय १४ महिलाको पाठेघरको परीक्षण
त्यसैगरी म्याग्दे गाउँपालिकाले एकीकृत घुम्ती शिविरबाट गाउँपालिकाले प्रदान गर्ने सबै सेवा प्रदान गरेको छ। शिबिरबाट नौ सय चौध जना महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको परीक्षण गरिएको छ।
महिलामा अत्याधिक समस्या हुने पाठेघरको मुखको क्यान्सर परीक्षणमा पालिकाभरिका पाँच वटा वडाभित्रका महिलाले सेवा लिएका हुन्। घुम्ती शिविरमा बहिरङ्ग सेवा अन्तर्गत बिरामीको स्वास्थ्य परीक्षण, उपचार तथा औषधि वितरण गरिएको थियो। रगतमा ग्लुकोजको परीक्षण, खकार परीक्षणका लागि नमूना सङ्कलन, औलोरोगको परीक्षण गरिएको म्याग्दे गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख दिनेश पण्डितले बताए।
शिविरमा जन्म, मृत्यृ, बसाइँसराइ, एवं सम्बन्धविच्छेदका दर्ता्लगायतका सेवा प्रदान गरिएको थियो। व्यवसाय दर्ता, राजस्व सङ्कलन, मालपोत तथा भूमिकर सङ्कलन, ज्येष्ठ नागरिक एवं अपाङ्गता परिचयपत्र वितरण गरिएको गाउँपालिकाका अध्यक्ष श्रेष्ठले जानकारी दिए।
बिउबिजन वितरण एवं कृषि अनुदान माग सङ्कलन, पशुसेवा शाखा अन्तर्गत पशुको गोबर परीक्षण र नतिजाको आधारमा पशु पक्षीलाई औषधि वितरण, बाख्रापाठा एवं बहर बन्ध्याकरण एवं बिरामी पशुको उपचार व्यवस्थापन, उपभोक्तासँग योजना सम्झौता लगायतका सेवा प्रदान गरिएको थियो।
परिवार नियोजन परामर्श सेवा, कोभिड– १९ विरुद्धको पहिलो, दोस्रो र अतिरिक्त मात्रा खोप सेवा, आयुर्वेद सेवा, स्वास्थ्य बीमा सेवा घुम्ती शिविरबाट उपलव्ध गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए।