ती तेह्र दिन...

रमा श्रेष्ठ

काठमाडौं

मृत्यु शाश्वत सत्य हो। जीवनमा मृत्यु अवश्यम्भावी छ। ‘ढिलो र चाँडो मात्र हो, हामी सबै त्यही मार्गका यात्री हौँ’ भनेर आफ्नै मनले, परिवारजनका सदस्य, साथीभाइ, आफन्तहरुले भनिरहनु हुँदा पनि आफ्नो मान्छेको मृत्युको सत्य स्विकार्न साह्रै गार्हो भयो।

अरुलाई बुझाउन जति सजिलो हुन्थ्यो, आफूलाई पर्दा त सर्वस्व नै डुबेको अनुभूति हुने रहेछ। आफ्नो मान्छे गुमाउनुको पीडा त छँदै थियो, त्यसमाथि विधिवत रुपमा गर्नुपर्ने कामको चटारो पनि अगाडि नै थियो। यद्यपि हिन्दु परम्पराअनुसार पुरा गर्नुपर्ने रीतिरिवाजलाई न त टार्न सकिन्थ्यो, न त्यसलाई पछाडि धकेल्न नै।

परिवारमा एक जनाको अनुपस्थिति सधैं खड्किने भयो भन्ने त्रास बढेको बढै थियो। अत्यावश्यक चिजहरु खोजी भइरहेको बेला कुन चिज कता छ, कसले दिने, कता गर्ने र  कसरी गर्ने? भन्ने प्रश्नहरुको जवाफ दिइरहनु मेरो लागि सहज पक्कै थिएन।

घरका सदस्यहरूले सबै कुराको जिम्मा लिँदा-लिँदै पनि हिन्दु धर्म परम्पराअनुसार पुरा गर्नुपर्ने केही महत्वपूर्ण रीतिरिवाज, विधिहरु मैले र छोरा आफैँले निर्वाह गर्नुपर्ने रहेछ। यस्तो असहज परिस्थितिमा पनि आफू सम्हालिँदै सबै कुरा सहजीकरण गर्दै लानुपर्ने कस्तो बिडम्बना!

कहिल्यै निको नहुने घाउ मलम लगाएर निको बनाउन सम्भव त थिएन। यद्यपि दुखको त्यस घडीमा प्राप्त हुने साथ र सहानुभूतिले सम्हालिन मद्दत नहुने नै पनि हैन। हाम्रो परम्पराअनुसार मृत्युपश्चात क्रिया कर्म गर्न भनेर छुट्यााइएको दिनहरुमा आफ्ना आफन्तहरुको आउने जाने क्रम भइरहेको थियो। सबैले संसारको रित नै यस्तै हो, जन्मेपछि मर्नुपर्छ, ढिलो चाँडो मात्र हो, जानेबेला भएको थिएन, छोरा साथी छ, पढे लेखेको छौ, समझदार छौ, भगवानलाई पनि राम्रो मान्छे नै मनपर्ने रहेछ आदि कुराहरुले ढाडस दिइरहेका थिए भने कसैले धार्मिक ग्रन्थहरु महाभारत, रामायण पढ्न, ध्यानमा जान, योगामा मन लगाउन सुझाइ रहेका थिए। आउने आफ्ना आफन्तहरुले जतिसुकै ढाडस दिएता पनि यो मनले त्यो सबै कुराहरुलाई मान्न तयार थिएन। मात्र आफूले गरेको हरेक प्रयास सही भएन कि, मैले यसो गरेको भए हुन्थियो, उसो गरेको भए हुन्थ्यो कि भन्ने लागिरहन्थ्यो।

जानेसम्म, सकेसम्म सबै गरेको ज्ञान हुँदाहुँदै पनि यो अस्पतालभन्दा अर्को अस्पताल लानुपर्ने थियो कि या त छिमेकी मुलुक नै लैजान सकिन्थ्यो कि भन्ने कुराले आफैँलाई दोष दिइरहेको हुन्थे। अनि आउने आफन्तहरुले सम्झाउने क्रममा भन्नुभए जस्तै भगवानले राम्रो मान्छेलाई नै लाने भए यो धर्तीमा राम्रो मान्छे बन्नुको अर्थ नै के रह्यो त भन्ने लाग्थ्यो।

आउने-जानेहरु मध्येहरुबाट विद्यमान मूल्य मान्यताअनुसार काम भए/नभएको कुरामा ध्यान दिनेहरु पनि त्यतिकै थिए। तीमध्ये कोही-कोहीले त कर्मकाण्ड क्षेत्री, बाहुन वा नेवारी रीतिरिवाजले गर्ने भन्ने विषयमा जान्न उत्सुकतासमेत पनि देखाइरहेका थिए भने कतिपयले लुगा बार्नेबारे, छोराले कति दिनमा कपाल काट्ने भन्ने विषयलाई पनि नियालिरहेका थिए।

कसैले कस्तो खाले चलन भनेर टीकाटिप्पणी गर्न पनि भ्याएका थिए। हिजोसम्म नाम, मान, पद, प्रतिष्ठा र नाता लगाएर सम्बोधन गरिने व्यक्तिलाई पितृ नामले सम्बोधन गर्दाको पीडा छुट्टै र असह्य नै भयो। अझै उदेक लाग्दो त पण्डितजीहरुको व्यवहार पनि महशुस गरें।

कतिपय बेलामा उहाँहरुको शैली र व्यवहार, संस्कार र संस्कृतिको नाममा गरिने कर्महरुले कतै कसैको लागि चाहिँ नयाँ स्वरूपको व्यवसायको आकार त ग्रहण गर्दै छैन भन्ने सोच्न बाध्य पनि पार्यो। सद्भाव र संवेदनशील समयमा पनि धर्मले के भन्छ भन्दा पनि लोकले के भन्छ भन्ने स्थितिलाई बेहोर्नु मेरो लागि सजिलो थिएन।

जसले जे जसो भनेता पनि ब्राह्मणले भने अनुसारको सबै रीतिरिवाज र धार्मिक परम्परा पुरा गर्नुपर्ने दायित्व तय गर्नु त छँदै नै थियो हामीले। ती सबै भनाइ, गराइ, सोधाइ सबै स्वाभाविक हुँदाहुँदै पनि कतिपय भनाइहरु सुन्दा असहज लाग्यो। एकाधबाहेक प्रायले जिम्मेवारीको काँध अब छोरामाथि आयो, छोरालाई अगाडि सार्नुपर्छ, अब जे गर्दा पनि छोरालाई सोध्नुपर्छ, छोरा छँदैछ जस्ता कुरा भनिरहँदा आफूले तालिम दिन जाँदा महिला दिदीबहिनीहरुमा उत्प्रेरणा जगाउन महिलाहरु स्वयं सक्षम हुनुपर्छ, परिवारमा हामी सधैँ हात थाप्ने मात्र होइन, दिन सक्ने योग्य हुनुपर्छ। परिवार धान्न महिलाको भूमिका पनि अरु सदस्यहरु सरह हुन्छ, छोरी विवाह नहुँदासम्म बुबा, विवाहपछि श्रीमान र बुढेसकालमा छोराको अधिनमा रहेर काम गर्नुपर्छ भन्ने मानसिकता विस्तारै बदल्दै लानुपर्छ, परनिर्भर होइन, आत्मनिर्भर बन्नुपर्छ भन्दै आएको कुरा निरर्थक भएझैँ भयो।

तालिममा भनिएका र बुझाइएका लवजहरु मात्र सिद्धान्तमा सिमित हुने हो त? महिलाले महिलालाई हेर्ने दृष्टिकोण भनाइभन्दा माथि व्यवहारमा भने उठ्न नसकेको नै रहेछ त? आफूभन्दा सानै भए पनि निर्णायक चाहिँ छोरा मान्छे नै हुनुपर्ने हो र? जस्ता विचारहरु मनमा खेल्न थाल्यो। प्राय: महिलाहरु स्वयं नै अझै पनि परनिर्भरताको ट्याग बोकेर हिँडेको मन पराउने रहेछ भन्ने लाग्यो त्यसबेला।

सुझाउने बुझाउने सबै महिलाहरु नै भएका कारणले पनि म मा त्यो सोच आएको हुन सक्छ। आमाले छोराछोरी जति नै बुढो भएपनि आफूलाई सधैँ सानै लाग्छ भन्नु हुन्थ्याे, तर व्यवहारमा त्यसो नहुँदो रहेछ। व्यवहारमा त छोरा सानै किन नहोस् उनलाई नै अभिभावक बनाउँदो रहेछ।

परिवारभित्र सरसल्लाहले निर्णय लिनु राम्रो हो, तर अब त छोरालाई भन्नुपर्छ भनेर बारम्बार भनिरहँदा भनाइ र गराइबीचको खाडल उस्ताको उस्तै नै देखें। अवस्थाअनुसार विचार र व्यवहार दुबै मिलाउँदै लैजान सके पो भनाइ, गराइ र बुझाइको तारतम्य मिल्थ्यो होला सायद। कर्म काण्डको लागि तय गरिएको त्यो १३औँ दिनले मलाई तितो यथार्थहरु छर्लङ्ग भएको अनुभूत भयो।

प्रकाशित मिति: : 2022-10-30 21:30:00

प्रतिकृया दिनुहोस्