सडक नखुल्दा बजार जान ठिक्क परेकाे जुम्ली स्याउ कुहिँदै

File Photo
File Photo

कृषि विकास कार्यालयले यस वर्ष जुम्लामा स्याउबाट मात्रै ५० कराेड आम्दानी हुन सक्ने अनुमान गरेकाे छ।

गत वर्ष १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको जुम्लामा यस वर्ष झण्डै १८ हजार मेट्रिक टन उत्पादन भएकाे अनुमान छ। जुन अघिल्लो वर्षकाे तुलनामा पचास प्रतिशतले बढी हुन आउँछ।

जुम्ली किसानकाे मुख्य आम्दानी मानिएकाे स्याउ उत्पादनमा वृद्धि हुँदा आर्थिक विकासले गति लिने अनुमान छ। तर, याे वर्ष दसैंकाे दिनबाट परेकाे अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध हुँदा लाखौंको स्याउ थन्किएर कुहिने अवस्थामा छ।

सिंजाका स्थानीय कमलबहादुर रोकायाकाे बगैंचामा यसपाली ७ क्विन्टल ५० किलो स्याउ फलेको थियो। उनले व्यापारीसँग सम्झौता गरेर प्याकेजिङसमेत गरिसकेका थिए। आम्दानी लिन ठिक्क परेकाे स्याउ कुहिने अवस्था आएपछि उनी चिन्तित छन्।

'व्यापारीले गाडी ल्याउने तयारी गरेकाे बेलामा आएकाे बाढीपहिरोले सडक बन्द भएपछि स्याउ त्यसै थन्किएको छ,' मलिन स्वरमा उनले भने, 'कार्टुनमा प्याक गरेकाे स्याउ कुहिएको गन्ध आउन थालिसक्यो।'

बाढीपहिरोले बाटो बन्द भएपछि टिपेर कार्टुनमा प्याक गरिराखेकाे एक गाडी स्याउ कुहिएर खेर जाने सम्भावना बढेकाे सिंजा गाउँपालिका-५ का किसान रामसिंह रावलले बताए।

'यसपालीकाे बाढीले स्याउकाे बगैंचामा समेत ठुलाे नेक्सानी गरेकाे छ,' उनले भने, 'पठाउनलाई ठिक्क पारेकाे स्याउ बाटाे बन्द भएपछि थन्किएकाे छ। चाँडै बाटाे नखुल्ने हाे भने नाेक्सानी बेहोर्नुबाहेक विकल्प हुँदैन।'

साउन २० गते काँचाे स्याउ टिप्नेले मनग्ये नाफा लिए। तर असाेज पहिला साता परिपक्व भएकाे गुणस्तरीय स्याउ टिप्ने रावल जस्ता किसानलाई बाढीले नाेक्सानी हात लगाइदिएकाे छ।

स्याउ बेचेर तिहार मनाउने सोच बनाएका किसान अकल बहादुर खत्री यतिबेला निराश छन्। बेच्नलाई तयार स्याउ विस्तारै कुहिन थालेकाे छ।

बाटाे बन्द भएपछि व्यापारी स्याउ किन्न आउँदैनन्। व्यापारी नआउँदा उनका समस्या हल हुन सकेका छैनन्। उनले भने, 'हजुर स्याउ त सड्न थालिसक्याे।'

जुम्लाकाे हिमा गाउँपालिका-१ आचार्यलिहीमा ९ वटा गाडीमा लोड भइसकेकाे स्याउ अलपत्र परेको सिंजा–६ का मानबहादुर रोकायाले बताए।

'लोड गरिसकेको स्याउका गाडी नचलेपछि २ हप्तादेखि बाटोमै थन्किएको छ। अब कुहिने हाे कि भन्ने चिन्ताले सताउन थाल्याे,' उनले भने, 'बाटाे कहिले खुल्ने हाे, ठेथान छैन। स्याउबाट नाफा कमाउँला साेचेकाे थिएँ। घाटा लाग्ने भयाे।'

बजारसम्म पुग्न नपाउँदै स्याउ कुहिने भएपछि निद्रा लाग्न छाेडेकाे उनकाे प्रतिक्रिया छ।

स्थानीय स्याउ व्यापारी शिवराज बुढाको २ गाडी स्याउ गाउँमै थन्किएको छ। किसानले उनलाई स्याउ बेचिसकेका छन्। सडक बन्द भएपछि स्याउ ढुवानी गर्न नपाउँदा उनले गालामा हात लगाएर बैरागीनुकाे विकल्प नभएकाे बताए।

'यसरी स्याउ थन्किनु हाम्रा लागि लगानी असुरक्षित हुनु हाे। लगानी सुरक्षित गर्न स्याउ जिल्ला बाहिरकाे बजारमा लिनुपर्छ,' उनले भने, 'बाटाे नै बन्द भएपछि कसरी बहिर लैजाने? सडक नखुल्दासम्म कुनै विकल्प छैन। कुहिएको स्याउ टुलुटुलु हेर्दा आँखा टिलपिलाउँछन्।' 

उनी जस्ता अधिकांश व्यापारीले किसानबाट ४५ देखि ५० रुपैयाँ प्रतिकेजीसम्म तिरेर स्याउ खरिद गरेका छन्। उनले सिंजामा मात्रै कम्तीमा ४० लाख मूल्यको स्याउ थन्किएको बताए।

'२ गाडी स्याउ दसैंअघि नै नेपालगन्ज र सुर्खेत पठाएकाे हुँ,' उनले थपे, 'तिहारको मौकामा स्याउ लैजाने तयारी गरेकाे थिएँ। बाटाे बन्द हुँदा सफल हुन सकिनँ।'

जुम्ली स्याउले राम्राे बजार पाउने सिजन भनेकै तीज, दसैं र तिहारमा हुन्। यो समयमा स्याउ बजारसम्म लैजान नसके राम्राे भाउ नपाउने जुम्ला चन्दननाथ -१० का किसान बिस्ने सार्कीले बताए। उनले भने, 'अब त विदेशी स्याउले बजार लिने बेला भइसक्याे।'

सिंजामा मात्रै झण्डै ५ देखि ६ वटा ट्रक लोड हुन पुग्ने स्याउ थन्किएको किसान रावले बताए। चाँडै बाटाे नखुले लाखाैँकाे नाेक्सान हुन सक्ने उनकाे मत छ।

यता सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले बाटाे खुल्न अझै हप्ता १० दिन लाग्ने बताए। उनले भने, 'हाम्राे जनशक्ति दिन रात नभनी सडक खुलाउन खटिएकाे छ। कालिकोटकाे सेरा बाडादेखि नाग्मगाडसम्मकाे बाटाेकाे धेरै ठाउँमा नाम निसाना नदेखिने गरी भत्किएको छ। त्यसैले केही समय लाग्ला।'

प्रकाशित मिति: : 2022-10-22 12:46:00

प्रतिकृया दिनुहोस्