यसअघिका उम्मेदवारले जनतालाई दिएको आश्वसन पूरा गर्नु नै मेरो भिजन हो : थापा

तेजन खड्का

उर्लाबारी 

राप्रपा नेतृ रेखा थापाले यसअघिका उम्मेदवारले जनतालाई देखाएको पुरा नभएको आश्वसन पुरा गर्नु नै आफ्नो भिजन भएको बताएकी छिन्। 

मोरङ क्षेत्र नम्बर-३ मा राप्रपाबाट प्रत्यक्ष तर्फ प्रतिनिधी सभा निर्वाचनमा उम्मेदवार बनेकी थापाले कानेपोखरीमा जनतासँग प्रत्यक्ष कुराकानीमा सो कुरा बताएकी हुन्।

नेतृ थापाले मतदाता हैन मत लगानीकर्ता बन्न स्थानीयलाई सुझाइन्। 'तपाईहरु मतदाता हैन यसपटक मत लगानीकर्ता बन्नुहोस थापाले भनिन्, 'मलाई जिताउनुभयो भने तपाईहरुको आशा र भरोसा बन्नेछु। म तपाईहरुको मत खेर गएको अनुभुति कदापि हुन दिन्न।'

घरदैलो कार्यक्रममा रेखासँग जनताले अघिल्लो जनप्रतिनिधिले केही नगरेको र फर्केर मुख देखाउन समेत नआएको भन्ने जस्ता गुनासो राखेका छन् तर रेखाले एक पटक सोही प्रवृत्तिको अन्त्यका  लागि मत लगानीकर्ता बनेर आफ्नो मत परिवर्तन गर्न आग्रह गर्ने गरेकी हुन्। 

जनताले उनको भिजन सोध्दा थापाले भनिन्, 'तपाईँहरूलाई म के दिऊ? जबकी अघिल्लो जनप्रतिनिधिहरूले क्षेत्रको विकास नै केही गरेका छैनन् सबै अधुरा छन्। बिच बाटोमा बजेट नहराई तपाईँहरू सम्म पुर्‍याउनु नै मेरो मुख्य भिजन हो।' 

घरदैलो कार्यक्रममा उनले आफ्नो कुरा राख्न भन्दा जनताको कुरा सुन्दै आएकी छन्। 

उनले आफ्नो पहिलो काम अघिल्लो जनप्रतिनिधिले देखाएका सपना र आश्वासन पुरा गर्दै यहाँका जनतालाई आफैँ सबल बनाउने रहेको बताएकी छिन्।

 थापा यस क्षेत्रमा आएसँगै पहिलो पटक महिला प्रतिनिधि पाएको भन्दै उनलाई साथ दिने महिलाहरूको संख्या ठुलो रहेको छ।

'आज मोरङका जनताको सेवाका लागि, विगत ३० वर्षदेखि संसद्मा पुगेका दलका नेताहरूले मोरङवासीका लागि गरेको काम हेर्दा, समाजले एउटा नेतृत्वबाट गर्ने अपेक्षा र नेतृत्वले जनताप्रति गरेको घातका कारण मोरङका जनताका खातिर युवाले गरेको विद्रोह हो'  उनले भनिन्, अब पनि हामी नबोले, हामीले आवाज नउठाए कस्ले उठाउँछ ?'

तमाम समस्या देखेर नै आफूले मोरङ ३ बाट यूवा विद्रोहको रूपमा उम्मेदवारी दिएको उनको तर्क छ। 

'रंगमञ्चको पर्दामा रेखा थापाको जुन खालको योगदान थियो अब नेपाली समाजको, मोरङवासीको, आमाहरू अनि छोरीहरूका लागि विशेष योजनासहित विशेष काम गर्नेछु' उनले भनिन्।
 

प्रकाशित मिति: : 2022-10-19 22:00:00

प्रतिकृया दिनुहोस्