मुल ठेकेदारले बेइमानी गर्दा ठगिए पेटी ठेकेदार र तीन सय कामदार

सिंजा गाउँपालिका-१ डिग्राका दत्तबहादुर राेकाया सब परिवार हाेटल व्यवसायी थिए। पछि सानाे-सानाे ठेक्का गर्न लागे। त्यसरी नाफा कमाउँदै गएका उनले घर-घडेरी बैंकमा राखेर डाेजर किने। सडक निर्माणकाे काम आइरहेकै थियाे। कमाइ सन्ताेषजनक थियाे। याे काममा उनका दुई दाइ दलसिंह राेकाया र रणबहादुर राेकायाले साथ दिइरहेका थिए।

२०७६ चैत ४ गते उनका माइला दाइ रणबहादुर राेकायालाई हालका नेपाली कांग्रेका सभापति कर्ण बहादुर शाहीले फाेन गरेर आफ्नाे ठेक्काकाे काम गरिदिन आग्रह गरे। पेटी ठेक्काबाट कमाइ ठिकै हुने हुँदा उनले हुन्न भन्न सकेनन्। तर भाेलि तलमाथि हुन सक्छ भनेर फाेन कल रेकर्ड राखेकाे उनले सुनाए।

उनका अनुसार कनका सुन्दरीका मक्कर हमालले साइड हेर्ने गरी माैखिक सहमतिमा नाग्म-गमगढी सडकको सिंजा-२ घोडेङ्गादेखि कनकासुन्दरी-८ रोकायाबाडासम्मको खण्डमा सडक निर्माणकाे काम सुरु भएकाे थियाे।

पेटी ठेकेदार दत्त राेकायाका दाइ दलसिंह राेकायाका अनुसार घाेड्ङ्गा, प्याकुरेबाडा, डिग्रा जस्ता ठाउँमा कटिङ गर्दा गाउँलेहरुसँग झगडासमेत भयाे। राेकायाका दाजुभाइ स्थानीय भएकाे हुनाले धेरै असन्तुष्टिलाई साम्य पार्दै काम अगाडि बढ्याे। जब असारमा भुक्तानी लिने समय आयाे, उनीहरुले पैसा पाएनन्। मुल ठेकेदार भनिएका शाहीसँग खटपट भएर काम राेकियाे।

'भदाैमा मेराे भाइ दत्त राेकाया, मक्कर हमाल, भिमनिधि हमाल र कर्णबहादुर शाही बसेर फेरि काम सुरु गर्ने माैखिक सहमति भयाे, 'दलसिंहले भने, 'सबै चाँजोपाँजो मिलाउने काम कर्णबहादुर शाहीले गरेपनि ठेक्का उनका भतिजा दिपक शाहीको नाममा रहेछ।'

उक्त सडक निर्माणकाे सबैभन्दा अचम्म लाग्दाे पक्ष भनेकाे कर्णबहादुर शाहीले राेकाया परिवारलाई काममा लगाएकाे समय र उक्त ठेक्काको सम्झाैताकाे समय फरक पर्नु हाे। दत्त पेटी ठेकेदार बनेकाे समय २०७६ चैत ४ गते हाे भने सडक डिभिजन कार्यालयमा उक्त १३ नम्बरको ठेक्का ०७७ सालमा सम्झौता भएको देखिन्छ।

सडक डिभिजन कार्यालयका अनुसार १३ नम्बरको उक्त ठेक्का खड्का कृष्ण कन्ट्र्क्सन बाँकेका प्रतिनिधि दिपक शाहीसँग ०७७ सालमा सम्झौता भएको थियो। उनी कर्ण शाहीका दाइका छाेरा हुन्।

सडक स्तरोन्नतिको म्याद थपसहित ०७८ कार्तिक २३ गते सम्पन्न गर्नुपर्ने थियो। त्यो सडक निर्माण सम्पन्न भइ ५ करोड ७९ लाख भुक्तानी भइसकेको छ। सुरुमा नाफाकाे ३५ प्रतिशत पेटी ठेकेदार र ६५ प्रतिशत मुल ठेकेदारले पाउने भनिएपनि पछि मुल ठेकेदार शाहीबाट ३ करोड ७० लाख बजेटमा पेटी ठेकेदार रोकायाले काम लिएका थिए।

सडक निर्माणकाे सम्पूर्ण काम आफूले सम्पन्न गरेकाे पेटी ठेकेदार राेकायाले बताए। उनले भने, 'हामीले बेला-बेला आग्रह गर्दा पनि पैसा पाएनाैं। पछिल्लो समय हामीले पैसा पाउनुपर्ने भनी मुद्दा हालेका छाैं। काम सबै हामीले नै गरेकाे सिंजा र कनकासुन्दरी गाउँपालिकाले औपचारिक रुपमा लिखित जवाफ दिएका छन्। तर कर्ण शाही पहुँचवाला भएका हुनाले हामीले मुद्दा हार्न सक्ने सम्भावना छ। तर न्याकाे खाेजी भने गरी नै रहनछाैं।'

अदालतमा मुद्दा चलिरहेकोले ८६ लाख रकम भुक्तानी बाँकी रहेको छ। उक्त सडक निर्माणमा लागेका पेटी ठेकेदारले रकम भुक्तानी नपाउँदा निर्माण कार्यमा लागेका कामदारले समेत ज्याला पाएका छैनन्।

सिंजा-१ की मुलकली कामीले दैनिक पाँच सय रुपैयाँ ज्याला पाउने गरी उक्त काममा लागेकी थिइन्। उनले काम गरेर आएको रकमले घर खर्च चलाउन सहज हुने सोचिन्। तर दुई वर्ष बित्यो, ज्याला पाइएकी छैनन्।

'न मेराे घर खर्च चल्यो, न कामको ज्याला पाएँ,' उनले भनिन्, 'काम हामीले ठेकेदारको लागि गरेका हौं कि घरको सहज जीवनयापन गर्नको लागि मजदुरी गरेका हौं।'

नाग्म-गमगढी सडकको सिंजा-२ घोडेङ्गादेखि कनकासुन्दरी-८ रोकायाबाडासम्मको खण्डमा काम लगाइएको थियो। 'घर नजिकै आएको विकास निर्माणमा मजदुरी गरौं, काम पनि हुने जीवनयापन पनि सहज हुने भन्ने ठानियो,' उनले थपिन्, 'उल्टै ज्याला नपाउँदा कठिन अवस्था झेल्न पुग्याैं।'

कनकासुन्दरी-८ की इमिला शाही लुगाफाटो बदल्ने र नुनतेल जोहो गर्नकै लागि मजदुरीमा लागेकी थिइन्। सडकमा ढुंगा फुटाउनेदेखि बोक्ने र माटो बालुवा बोक्नेसम्म गरिन्। घरको महत्वपूर्ण काम पनि छाडेर काममा लागेकी उनले २० दिन काम गरेको ज्याला पाइनन्।

उनको प्रत्येक दिनको पाँच सय रुपैयाँको दरले २० दिनको १० हजार रुपैयाँ हुन्छ। गाउँमा १० हजार रुपैयाँले धेरै काम गर्न सकिन्छ। हामीले इमान्दारिता देखायौं। ठेकेदारले बेइमान गरे', उनले भनिन्, 'अहिलेसम्म ज्याला पाएका छैनौं। तत्काल ज्याला उपलब्ध गराइदिन सरोकारवालासमक्ष हारगुहार समेत गरेका छौं। सुनुवाइ छैन।'

नाग्म-गमगढी सडकमा काम गर्ने मुनकली र इमिला प्रतिनिधि पात्र मात्र हुन्। उनीहरुजस्ता झण्डै ३ सय मजदुरले ज्याला पाएका छैनन्।

मजदुरी गर्नेदेखि दैनिक उपभोग्यदेखि निर्माण सामग्री उपलब्ध गराउने एक सय बढी व्यापारी सबै आफ्ना घरमा पैसा माग्न आउँदा घरकाे वातावरण नराम्ररी बिग्रिएकाे पेटी ठेकेदार राेकायाले बताए। उनले भने, 'सडक निर्माण भइसकेपछि रकम निकाशा हुने र सबैको रकम एकैपटक दिने भनेका थियौं। तर दुई वर्ष बित्यो मुल ठेकेदारका कारण हामी घर न घाटकाे हुने स्थिति आयाे।'

ज्याला नपाएपछि मजदुर सबै सडकमा निस्किएर ज्याला पाउनु पर्ने माग गरिरहेका छन्। यता निर्माण व्यवसायी दिपक शाहीलाई हामीले बारम्बार काेसिस गर्दा पनि सम्पर्क हुन सकेन।

यही विषयमा यसअघि उनले विभिन्न पत्रपत्रिकामा मजदुरलाई ज्याला नदिएको स्वीकार गरेका छन्। यो ठेक्काको विषयमा मुद्दा परेको र अदालतले स्टेअर्डर गरेका कारण सडक डिभिजन कार्यालयबाट भुक्तानी लिन नसकिएको उनकाे भनाइ छ।

उनले पेटी ठेकेदार रोकायालाई भुक्तानी दिन बाँकी छैन र उनीसँग आफ्नाे सराेकार नभएकाे र काम आफैँले सकाएकाे बताएका छन्। उनले पेटी ठेकेदार रोकायाले काम बिचैमा छोडेकाे आराेप लगाएका छन् भने काम गरेको सबै रकम भुक्तानी दिइसकेकाे र पेटी ठेकेदारसँग कुनै लेनदेन नभएकाे बताएका छन्।

तर उनले भुक्तानी दिइसकेकाे भने अनुसारकाे कुनै रकम नपाएकाे र रकम दिएकाे कुनैपनि प्रमाण नरहेकाे पेटी ठेकेदार राेकायाले बताए।

यता सडक डिभिजन कार्यालयमा भने मजदुरदेखि व्यापारीले काम गरेको ज्याला नपाएको गुनासो आउने गरेको छ। कार्यालय ठेकेदारसँग मात्रै जोडिएकोले मजदुर र व्यापारीसँग कुनै सम्बन्ध हुँदैन। ज्याला दिने विषयमा ठेकेदार नै जिम्मेवार बन्नुपर्ने कार्यालयकाे राय छ। मजदुरहरुले अब पनि ज्याला नपाएको खण्डमा सडकमा निस्किएर आन्दोलनको आँधीबेहरी सृष्टि गर्ने चेतावनी दिएका छन्।

प्रकाशित मिति: : 2022-10-16 21:25:00

प्रतिकृया दिनुहोस्