आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ४८ दलले निर्वाचन आयोगमा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गरेका छन्। कर्णाली प्रदेशमा भने २८ दलले बन्दसूची बुझाएका छन्।
प्रदेशसभा सदस्यका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउनेहरूमा राष्ट्रिय जनमोर्चा, मंगोल नेसनल अर्गनाइजेसन, नेपाल मजदुर किसान पार्टी, नेपालका लागि नेपाली पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी केन्द्र, राष्ट्रिय जनमुक्ति पार्टी र नेकपाएमाले छन्।
यसैगरी, नागरिक उन्मुक्ति पार्टी, नेकपा माले, नेपाली कांग्रेस बीपी, नेश्नललिष्ट पिपुल्स पार्टी, राप्रपा नेपाल, विवेकशील साझा पार्टी, नेकपा माओवादी समाजवादी, नेपाली जनता दल, नेपाल लोकतान्त्रिक पार्टी र हाम्रो नेपाल पार्टीले पनि बन्दसूचि बुझाएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार सामाजिक एकता पार्टी, नेकपा समाजवादी र नेपाल दलित पार्टीले संयुक्त रूपमा बन्दसूची पेस गरेका छन्। संयुक्त रूपमै बन्दसूची बुझाउनेमा नेपाल आमा पार्टी, नेपाल नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टी पनि छन्।
नेकपा माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पनि संयुक्त रूपमा नै बन्दसूची आयोगमा पेस गरेका छन्। बन्दसूची बुझाउनेमा जनता समाजवादी पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी, जन समाजवादी पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कांग्रेस छन्। कर्णाली प्रदेशसभामा समानुपातिकतर्फको सिट संख्या १६ रहेको छ।