राजविराज नगरपालिका–७ खर्साल टोलकी ६६ वर्षीया उर्मिलादेवी देव ४८ वर्षदेखि जितिया व्रत बस्दै आएकी छिन्। विवाह भएको वर्षदेखि नै उनले जितिया व्रत बस्न थालेकी हुन्। व्रतको उद्देश्यबारे उनी भन्छिन्, ‘सन्तान प्राप्तिका लागि व्रत बस्न थालेकी थिएँ।’
पाँच सन्तानमध्ये चार छोराछोरी गर्भमा भएको बेला उनले जितिया व्रत बस्नु परेको थियो। देव भन्छिन्, ‘अहिलेसम्म एक थोपा पानी पनि नखाई व्रत लिँदै आएकी छु। शरीरमा कहिल्यै कुनै समस्या आएन। अहिलेसम्म सजिलै भएको छ।’ सन्तानको दीर्घायु र परिवारको सुख शान्तिका लागि वर्षमा एक पटक व्रत बस्न आनन्द लाग्ने उनको भनाइ छ।
सप्तरी राजविराज नगरपालिका–१ पडरियाकी ६२ वर्षीया सरितादेवी झाले पनि ४० वर्षदेखि जितिया व्रत बस्तै आएकी छिन्। उनले दोस्रो सन्तानका रूपमा छोरा पाएपछि व्रत सुरू गरेकी हुन्। छोरा भएका आमाले कुनै हालतमा व्रत बस्नै पर्छ भन्ने मान्यता रहेकाले परिवारबाट दबाब आउन थालेपछि व्रत सुरु गरेको उनले बताइन।
राजविराज नगरपालिका–६ खर्साल टोलकी ३६ वर्षीया कविता यादव पनि यसपालि व्रत बस्ने सोचमा छिन्। ‘अब त छोरा पनि ठुलो भयो, कहिले जितिया व्रत सुरु गर्छाै ? अहिलेसम्म किन सुरु नगरेकी ? भन्छन् । गुनासो गर्न थालेपछि यस वर्ष व्रत बस्ने निर्णय गरे।’ उनले भनिन्, ‘पाँच वर्षदेखि व्रत बस्न लागि जेठानीले ढिपी गर्दै आउनुभएको छ। सबैले लिएको देख्दा मलाई पनि व्रत नबसे केही हुन्छ की भनेर डर लाग्न थालेको छ।’
कविताले थपिन्, ‘पानी नखाई दिनभर त बस्न नसक्ने मान्छे ३६ घण्टासम्म कसरी बस्न सकुँला ? चिन्ता लागेको छ। तर हिम्मतका साथ गर्ने तयारीमा छु।’
जितियालाई हिन्दु धर्मालम्बीहरूले गर्ने सबैभन्दा कठोर व्रतको रूपमा लिइन्छ। तराई मधेशका महिलाहरू छोराको दीर्घायु, सुस्वाथ्य तथा सन्तान प्राप्तिका लागि सदियाँदेखि यो व्रत बस्दै आएका छन्। अष्टमी तिथि सुरु भएदेखि नवमीसम्म व्रतालु महिलाले एक थोपा पानी पनि नखाई निराहार ३६ घण्टा व्रत बस्नुपर्ने हुनाले यसलाई कठोर व्रत मानिएको राजविराज–३ राजदेवी रोडकी ५० वर्षीया रूपा झाले बताइन्।
जितिया व्रत लिँदा व्रतालु महिलाको मृत्युु भएको समाचार पनि आउने गरेको छ। राजविराज–२ तेतरी गाछीकी ६५ वर्षीया मीना देवले भनिन्, ‘यसवर्ष आज शनिवार दिन रात र भोलि आइतबार साँझ ५ बजेसम्म व्रत बस्ने र ६ बजे मात्र पारण गर्ने अर्थात पानी वा अन्य खानेकुरा खान सकिन्छ।’
व्रतको विधि
राजविराज नगरपालिका–१६ बोरियाकी ५५ वर्षीया विमला देवका अनुसार, जितिया व्रत सुरु गरियो भने छोड्न मिल्दैन। बिरामी वा कुनै औषधि नखाई नहुने अर्थात जटिल अवस्थामा मात्र छोड्न मिल्छ।
सूर्य देवतालाई तोरीको तेल र पिनाको अर्घ दिएर व्रतको संकल्प गरिन्छ। व्रतालुले दिवङ्गत सासू, जेठानी, नन्द, आमा, फुपूसासू तथा तीन पुस्ताभित्रको नाता पर्ने महिलालाई तर्पण दिने चलन छ। यस व्रतलाई षोडष मातृका श्राद्घ पनि भन्ने गरेको स्थानीय पण्डित शम्भु मिश्र बताउँछन्। सबै दिवङ्गत आफन्तलाई तर्पण दिँदै ‘आफ्ना पौत्र (नाति), प्रपौत्र (पनाति) र उनका सन्तानको कल्याण गर, उनीहरूलाई दीर्घजिवी बन्ने आर्शीवाद देऊ’ भन्ने कामना गर्ने गरेको मिश्रको भनाइ छ।
व्रतका दिन बिहानै उठेर घर लिपपोत गरेर चोखो पारिन्छ। पिना, तेल, घिरौलाको पात, जियलको पात, बाँसको पात, नयाँ लुगा बोकेर महिलाहरू छिमेकी महिलासँग समूहमा पोखरी तिर जान्छन्। पोखरीमा पुगेपछि तोरी पेलेपछि बन्ने खोस्टा अर्थात पिना लगाएर नुहाउँछन्। नयाँ लुगा लगाएर पितृ तथा ‘जिमुतवाहन’ देवतालाई पिना, तेल र बाँस, घिरौँला तथा जियलको पात चढाउँछन्।
व्रतको अघिल्लो दिन बेलुका व्रतालु महिलाले विभिन्न प्रकारका खाना, दही, मिठाइ, माछा, कोदोको रोटी खान्छन्। भोलिपल्ट बिहान ४ बजे व्रतालु महिलाले आँगनमा घिरौलाको पातमा पितृ तथा जिमुतवाहनलाई दही, चिउरा, चिनी, केरा, मिठाई, पान, सुपारी चढाउने चलन छ।
व्रत लिएको दिन बेलुकी जतिजना छोरा छन्, त्यति वटा नरिवल, फलफूललगायत पूजा सामग्री राखेर डाली भर्छन्। डालीलाई छोराले पानको पातले छोपिदिन्छन्। व्रत सकेपछि घरमा भएको छोरा, नातिले डाली खोल्छन्। डालीबाट प्रसाद झिकेर पुनः पितृ र जिमुतवाहनलाई चढाई सबैलाई बाँडेर दिएपछि व्रतालुले पानी पिउने र अन्य खानेकुरा खाने चलन छ।