कास्की जिल्लामा एक मतदान स्थल गाभिएको छ भने एक मतदानस्थल थपिएको छ।
जिल्लामा पोखरा महानगरपालिका–३० स्थित सरस्वती आधारभूत विद्यालय मतदानस्थल सोही वडाको त्रिभुवन शान्ति माध्यमिक विद्यालयमा गाभिएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले बताएका छन्।
पोखरा महानगरपालिका–१८ भकुण्डेस्थित शान्ता माविमा एक मदतानस्थल थपिएको छ। जिल्लामा कूल एक सय ५० मतदानस्थल रहेकामा एउटा गाभिएको र एउटा थपिएका कारण सोही सङ्ख्या नै यथावत रहेको उनले बताए।
भौगोलिक अवस्था, बाटोको दूरीलगायतका आधारमा मतदानस्थल निर्धारण गरिने कानूनी व्यवस्था छ। सामान्यतः पहाडी क्षेत्रमा मतदानस्थल पुग्नका लागि एकतर्फी चार किलोमिटरभन्दा बढी दूरी हुन नहुने प्रावधान छ। जिल्लामा हाल तीन सय ३६ मतदान केन्द्र रहेका छन्।
यसअघिको स्थानीय निर्वाचनमा कास्कीमा कूल मतदाता सङ्ख्या दुई लाख ८१ हजार नौ सय ४० रहेकामा आसन्न निर्वाचनका लागि लगभग १० हजार सङ्ख्या थपिने जनाइएको छ। साथै कार्यालयले मतदाता नामावली अद्यावधिक गर्ने काम गरिरहेको न्यौपानेले बताए।