वैदेशिक रोजगारीमा जाने बढेपछि श्रीलङ्कामा रेमिटेन्स बढ्यो

File photo
File photo

श्रीलङ्काली श्रम तथा वैदेशिक रोजगारसम्बन्धी मन्त्री मानुषा नानायक्काराले विदेशिएका श्रीलङ्कालीहरुबाट प्राप्त रेमिटेन्सले आर्थिक सङ्कटमा परेको देशमा राहात मिलेको बताएका छन्।

उनले उनीहरुबाट पठाइएको रेमिटेन्स रकम अगष्ट महिनासम्ममा ३२ करोड ५० लाख अमेरिकी डलर पुगेको पनि जानकरी दिएको प्राप्त समाचारमा जनाइएको छ।

उनले वैदेशिक रोजगारीमा गएका श्रीलङ्कालीबाट प्राप्त भएको रेमिटेन्स रकम पछिल्ला दिनमा बढ्दो रहेको भन्दै यसबाट वैदेशिक मुद्राको खाँचो परेको देशमा सहज भएको जनाए। उनले गत जुलाई महिनाको तुलनामा अगष्ट महिनामा रेमिटेन्स रकम १४।६ प्रतिशतले बढेको पाइएको जानकारी दिएका हुन्।

उनले रेमिटेन्स रकम पठाउने व्यक्तिहरुलाई विशेष धन्यवाद दिएका छन्। देश आर्थिक सङ्कटमा परेका बेला विदेश पुगेका नागरिकहरुबाट प्राप्त रेमिटेन्स रकमका लागि विशेष धन्यवाद छ– मन्त्री नानकायराले भनेका छन्।

गएको वर्षदेखि आर्थिक सङ्कटमा फसेको दक्षिण एसियाली मुलुक श्रीलंकामा वैदेशिक रोजगारीका लागि देश छोडेर जानेहरुको संख्या बढ्दै गएको पाइएको छ। यस वर्षमात्र यहाँका दुई लाखभन्दा बढी व्यक्तिले वैदेशिक रोजगारीका लागि विदेशिएका पाइएको बताइएको छ।

श्रीलंकाका श्रम तथा वैदेशिक रोजगारसम्बन्धी मन्त्री नानायक्काराले सो कुराको जानकरी दिएको प्राप्त समाचारमा जनाइएको छ। उनले यसै वर्षको जनवरीदेखि अगष्ट महिनासम्ममा ती नागरिकले श्रीलङ्काको वैदेशिक रोजगार विभागमा दर्ता गराएर नै वैदेशिक रोजगारीका लागि गएको जानकारी दिएका हुन्।

उनले आइतबार भने थियो यसवर्ष मात्र दुई लाख भन्दा बढी व्यक्ति वैदेशिक रोजगारीका लागि विदेश गएका छन् र अरु पनि दर्ता नै नगराइकन विदेश गएका हुनसक्छन्। 

प्रकाशित मिति: : 2022-09-12 12:45:00

प्रतिकृया दिनुहोस्