आज सेप्टेम्बर ११ अर्थात अमेरिकी इतिहासको कालो दिन हो।
सन् २००१ को सेप्टेम्बर ११ को मंगलबार आक्रमणकारीको एउटा समूहले अमेरिकी यात्रुवाहक विमानलाई आफ्नो नियन्त्रणमा लिएर चार ओटा आत्मघाती बम हमला गराएको थियो। हमलाले विश्वलाई नै स्तब्ध पारेको थियो।
अतिवादीले क्यालिफोर्निया उड्न लागेका चार वटा विमानलाई अपहरण गरी न्युयोर्र्क र वासिंगटनका महत्वपूर्ण भवनमा जोताएका थिए । दुई विमानलाई विश्व व्यापार केन्द्रको जुम्ल्याहा भवनमा विस्फोट गराइएको थियो।
स्थानीय समयअनुसार मंगलबार बिहान ८ बजेर ४६ मिनेटमा पहिलो टावरमा विस्फोट गराइएको थियो। १६ मिनेटपछि दोस्रो टावरमा ठोक्काइएको थियो।
विस्फोटपछि टावरमा दुई घन्टासम्म आागो लागेको थियो। ११० तले दुवै भवन ढलेर खरानी भएका थिए।
९ बजेर ३७ मिनेटमा तेस्रो विमानलाई अमेरिकी रक्षा मन्त्रालय रहेको भवन पेन्टागनमा जोतिएको थियो भने वासिंगटनतर्फ बढिरहेको अर्को विमान पेन्सालभेनियाको आकाशमा विस्फोट भएको थियो। अपहरणकारी र यात्रुबीच विमानभित्र भनाभन हँदा विमान आकाशमै बिस्फोट भएको थियो।
ती सबै हमलामा १९ आक्रमणकारीसहित करिब ३ हजार जनाको मृत्यु भएको थियो। आक्रमणमा अर्बौ डलर क्षति भएको थियो। साउदी नागरिक ओसामा बिन लादेनको नेतृत्वको अतिवादी सञ्जाल अलकायदाले सो हमला गरेको थियो।
आक्रमणमा संलग्न अन्य १५ जना पनि साउद अरबका थिए भने दुई जना युएई, एक जना इजिप्सेली र अर्का लेबनानका थिए। हमलाको तीन सातापछि अमेरिकाले अफगानिस्तानमा आक्रमण सुरु गरेको थियो।
बिन लादेनलाई पत्ता लगाउन र अल–कायदाको सञ्जाल ध्वस्त पार्न भन्दै तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यु बुस प्रशासननले अफगानिस्तानमा आक्रमण सुरु गरेका थियो।
आक्रमणकारीलाई अफगानिस्तानले संरक्षण गरेको अमेरिकी आरोप थियो। अमेरिकी आक्रमणपछि तालिवान सत्ताच्युत भएको थियो। अमेरिकी नेतृत्वको सो हमलामा अन्तर्राष्ट्रिय गठबन्धन सेनाले सहयोग गरेको थियो। सन् २०११ मा पाकिस्तानमा अमेरिकी सेनाले उनलाई मारिदिएको थियो।
अतिवादीविरुद्ध को दुई दशक लामो आक्रमणमा अमेरिका रित्तो हात लिएर गत ३१ अगस्टमा स्वदेश फर्किएको थियो। अमेरिकी सेना स्वदेश फर्किन नपाउदै तालिबानले अफगानिस्तान कब्जा गरेको थियो। अहिले तालिवानले अन्तरिम सरकार घोषणा गरिसकेको छ।
२० वर्ष लामो लडाइँमा तालिवानसहित अलकायदा आइएस जस्ता अतिवादी समूहका केही नेतालाई निशाना बनाउन सफल भए पनि अमेरिकाले खासै उपलब्धी पाउन सकेन। युद्वमा २४ सय अमेरिकी सेनाको मृत्यु भएको छ। त्यस्तै युद्धमा ६९ हजार अफगानीको मृत्यु भइसकेको छ।