जनक कपाली जनावरको स्याहारमा आफ्नो जीवन बिताइरहेका छन्। उनले जनावरलाई पनि आफ्नो सन्तानको रुपमा देख्छन्। कहिँकतै बिरामी जनावर देख्यो कि कहिले आफैँले सकेको उपचार त कहिले गाडीमा राखी अस्पाताल लैजाने गर्छन्।
जनक सन् २००६ मा युरोप गएका थिए। एकदिन उनी युरोपको सहर घुम्न निस्किए। त्यही क्रममा उनको नजर कुकुरहरुको एक स्कुलमा पुग्न गयो। त्यो दृश्य देखेर उनी आश्चर्य भए। कुकुरहरुको पनि स्कुल?
‘युरोपमा मैले कुकुरहरुको लागि भनेर स्कुल र पार्किङहरु देखेँ। त्यहाँ कुकुरलाई कसरी पाल्नुपर्छ र कस्तो व्यवहार गर्नुपर्छ भनेर सिकाउने रहेछ। पहिल्यैदेखि जनावरप्रेमी मलाई त्यो कुराले अझै बढी मोहित बनायो। मैले मेरो देशमा गएर यो कुरालाई लागु गर्नुपर्छ भन्ने लागेर नै म पनि सिक्नको लागि गएकाे थिएँ’, उनले आफ्नो विगत सुनाउँदै भने।
उनलाई मान्छेहरु पढ्ने स्कुलजस्तै कुकुरको पनि एउटा विद्यालय बनाउन मन थियो। कुकुरको विद्यालय खोल्ने सोच बोकेर सन् २००९ मा उनी नेपाल आए। नेपाल फर्केर विद्यालय खोल्नका लागि धेरै संघर्ष गरे तर सकेनन्। ‘यहाँ त्यसको लागि कुनै प्रणालीको व्यवस्था छैन रहेछ। केनल क्लव मात्र खोल्ने मिल्दो रहिछ। मलाई त्यसरी खोल्न मन परेन। आफैंले ‘डग पेट’ खोल्छु भनेर सोच बनाएँ’, उनले बिएल नेपाली सेवासँग बताए।
जनकले आफ्नो घरमा पाल्नका लागि राखिएको दुईवटा कुकुरको नामबाट सन् २०१५ मा ‘रेम्बो एब्बी पेट सर्भिस एण्ड डग ट्रेनिङ सेन्टर’ डग पेट खोले। जुन काठमाडौंको डल्लुमा रहेको छ। जहाँ कुकुरहरुका लागि चाहिने खानेकुरादेखि लिएर औषधिहरुसमेत बेच्न राखेका छन्।
तालिमको सुरुवात पनि तिनै कुकुरबाट गरेका थिए। उनको यी दुईवटा कुकुर चलचित्रमा पनि देख्न सकिन्छ। जनकले आफ्नो हातमा तिनै कुकुरकाे ‘ट्याटु’ पनि बनाएका छन्। ‘उनीहरु अहिले छैनन्। बितेको धेरै भयो। तर मलाई जे काम गरे पनि यिनीहरुको नामबाट नै गर्न मन लाग्छ’, उनी दुखी हुँदै सुनाउँछन्।
कुकुर कसरी पाल्नु पर्छ र उनीहरूलाई कस्तो कुरा सिकाउनु पर्छ भनेर सिकाउने उनलाई खुब मन थियो। विस्तारै उनले बाटोमा बसेका कुकुरहरुलाई पनि तालिम दिन थाले। जब उनले तालिम दिन लागे, त्यो देखेर उनीकहाँ तालिम सिकाउन भनेर कुकुर लिएर आउनेकाे संख्या पनि दिनहुँ बढ्न थाल्यो। उपत्यकाका मात्र होइनन्, बाहिरबाट पनि उत्तिकै आउन थालेका थिए।
उनले हाल २ हजारभन्दा बढी कुकुरलाई तालिम दिइ सकेका छन्। अहिले उनले पायक पर्ने ठाउँमा आफैँ घरमा-घरमा गएर सिकाउँछन् भने टाढाकोलाई चाहिँ सेन्टरमा ल्याउन आग्रह गर्छन्। आफूले मात्र नभइ उनले आफ्नो परिवारलाई पनि तालिम सिकाएका छन्। उनी व्यस्त भएको समयमा उनका परिवारलेसमेत सेन्टरमा भएका कुकुरहरुलाई तालिम दिने गर्छन्। सिकाउने समयमा उनीहरुले कुकुर पाल्ने मान्छेलाई नै सँगै राखेर सिकाउने गर्छन्। तालिम सिकाउन ल्याउनेबाट पनि उनले राम्राे प्रतिक्रिया पाएका छन्।
आफ्नो पेशामा उनी निकै सन्तुष्ट छन्। उनले बाटोका कुकुर, गाई, बाँदर, चरा आदि जनावर र पंक्षीहरुलाई खुवाउने र तालिमसमेत पनि दिने गर्छन्। अझ बेसहारा कुकुरहरूले स्याहारसुसार पाओस् भनी उनले विभिन्न देशहरुमा पठाउने पनि गर्दछन्।
‘नेपालको बाटोमा चारैतिर कुकुरहरु हुन्छन्। कसैले पाल्न लैजाँदैनन्। विदेशी कुकुर ल्याउन छिमेकीसँग प्रतिस्पर्धा गर्छन्। अर्काको देखासिकीमा पाल्नेको जमात हाम्रो देशमा बढी छ’, उनी भन्छन्, ‘तर पालेपछि के-के गर्नुपर्छ भन्ने चाहिँ धेरैलाई थाहा छैन। मलाई चाहिँ कुकुर पालेपछि उसलाई जनावर होइन, आफ्नो घरको सदस्य बनाएर पाल्नुपर्छ भन्ने लाग्छ। यहाँ त्यस्तो सोच राखेर पाल्ने निकै कम छन्।’
किन दिने कुकुरलाई तालिम?
कुकुरलाई तालिम सिकाउनु सजिलो काम भने होइन ,तर सिकाउन जरुरी छ। पढेको र नपढेको मानिसमा जस्तो फरक देखिन्छ, यसमा पनि त्यस्तै हुन्छ। सिकाएको कुकुरले जे भन्यो त्यही मान्ने, बोल्न सक्ने, नरिसाउने, खा भने मात्र खाने, बस भने बस्ने र नटोक्नेसमेत हुन्छ। उनीहरु आफ्नो घरका मान्छेहरुको ‘आदेश’ मा बस्ने हुन्छन्।
सबै कुकुर एउटै प्रकारका हुँदैनन्। कुनै रिसाउने हुन्छन्। त्यस्तोलाई तालिम दिन हामीलाई पनि गाह्रो हुन्छ। सिकाउने क्रममा आफैंमाथि झम्टिने, टोक्ने पनि गर्छन्। जनावरप्रेमी भएको नाताले मलाई जस्तो कुकुर भए पनि हेरचाहा र तालिम दिन निकै मनपर्छ।
राजनीति र समाज सेवामा पनि अग्रसर जनक
जनावरहरुको मात्र नभइ उनी मानिसहरुका लागि पनि गुरु बनेका छन्। प्रज्ञा ज्योति स्कुलका प्राध्यापकसमेत बनेर उनले १३ वर्षसम्म स्कुल सञ्चालन गरेका थिए। समाजसेवामा पनि उत्तिकै सोखिन छन्। उनले अनाथहरुका लागि परिवार बनेर ‘लाङटाङ चिलड्रेन होम एण्ड डिसेबल टेक कियर’ स्कुल पनि खोलेका थिए। जहाँ २५ जना आनथहरुलाई उनले हुर्काए।
‘उनीहरु अहिले त ठुलो भएर गइसके। कति जना त बा-आमा पनि बनिसकेका छन्। मलाई जीवनमा धर्म भनेकै अरुलाई खुशी बनाएर राख्न सके पाइन्छ जस्तै लाग्छ। त्यसैले यस्तै काममा बढी सक्रिय हुन मन पराउँछु,’ खुशी हुँदै उनले आफ्नो कुरा भन्छन्।
राजनीतिमा पनि रुचि भएका जनक वि.स. २०७८ मा नेपाली कंग्रेका प्रदेश सभापति बनेका थिए। उनी १६ वर्षको उमेरदेखि नै राजनीतिमा खुब सक्रिय थिए। उनको चाहना पनि भोलिका दिनमा ठुलो पोष्टमा पुगे भने जनावरका लागि कानुन र राम्रो व्यवस्था बनाएर राख्ने योजना बनाएका छन्।