कृषि विकास कार्यालयले यस वर्ष जुम्लामा स्याउबाट मात्रै ५० कराेड आम्दानी हुन सक्ने अनुमान गरेकाे छ।
गत वर्ष १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको जुम्लामा यस वर्ष झण्डै १८ हजार मेट्रिक टन स्याउ उत्पादन हुने आँकलन छ। जुन अघिल्लो वर्षकाे तुलनामा पचास प्रतिशतले बढी हुन आउँछ।
जुम्ली किसानकाे मुख्य आम्दानी मानिएकाे स्याउ उत्पादनमा वृद्धि हुँदा आर्थिक विकासले गति लिने अनुमान छ।
यसपालि स्याउ उत्पादन बढेकाेले चन्दननाथ नगरपालिका-१० का धर्मराज देवकाेटा मख्ख छन्। 'स्याउ राम्राे भयाे,' उनले खुसी हुँदै भने, 'आम्दानी पनि राम्राे हुने आशा छ।'
पछिल्लो समय व्यापारी किसानकाे घरदैलोमै आएर स्याउ किन्ने गरेका छन्। उनीहरुले किसानबाट किनेकाे स्याउ सुर्खेत, नेपालगञ्जलगायतका सहरमा बिक्री गर्ने गरेका छन्।
विगत एक दशकदेखि स्याउ व्यापार गर्दै आएका व्यापारी विस्ने नेपाली सिजनमा स्याउ सहर पुर्याउन सके राम्राे आम्दानी हुने बताउँछन्।
'याे वर्ष स्याउ धेरै छ। धेरै मात्रामा व्यापार गर्न सके आम्दानी पनि राम्राे हुन्छ,' उनले भने, 'सुर्खेत नेपालगञ्जमा स्याउकाे भाउ उस्ताे राम्राे छैन। यतै महंगो पर्ने हुनाले नाफा खान धेरै परिमाणमा स्याउ खरिद गरेर बिक्री गर्नुपर्छ।'
निरन्तर स्याउ व्यापार गरिरहेका उनले याे वर्षकाे हालसम्म १२ ट्रक स्याउ सुर्खेत पठाएकाे बताए। एक ट्रकमा छ देखि सात टनसम्म स्याउ ढुवानी गर्न सकिन्छ।
'जुम्लामा ५० रुपैयाँ प्रतिकिलाे किनेर सुर्खेतमा रु. ७० सम्ममा बेच्ने गरेका छाैं,' उनले भने, 'जुम्लाका व्यापारीले माेल घटाएर बेचिदिन्छन्। नत्र राम्रै नाफा लिन सकिन्थ्यो।'
गत वर्ष १० क्विन्टल स्याउ फलाएका गुठीचौर गाउँपालिका ५ का किसान देवीकृष्ण धितालले यस वर्ष भने १८ क्विन्टल उत्पादन गरेका छन्। स्याउ खेतीबाटै मनग्य आम्दानी हुने हुँदा रोजगारीकाे समस्या नहुने उनले बताए।
'अब इन्डिया जानुपर्ने दिन पनि गए। माघ फागुनमा बगैंचा व्यवस्थापन गर्ने, काटछाँट गर्ने, बाेडाेपेष्ट गर्ने, पानी पुगाउनेबाहेक अरु काम गर्नु पर्दैन,' उनले भने, 'बगैंचामा बार बन्देज राम्राे गर्न सके भदाै, असाेजमा एकमुष्ट आम्दानी लिन सकिन्छ।'
जुम्लामा दुई सयदेखि तीन सय बुटासम्म स्याउ लगाउने किसानले उपसचिव बराबारकाे आम्दमनी लिन सक्ने धितालले बताए।
कृषि विकास कार्यालयबाट हुने नियमनकाे अभाव, किसानमा चेतना नहुनु, व्यापारी र बिचाैलियाले आफ्नाे स्वार्थ अनुकुल काचाे स्याउ बजारमा पुर्याउँदा जुम्ली स्याउकाे साेचेजस्ताे बजारीकरण हुन सकेकाे छैन।
जसका कारण आयातितभन्दा स्याउ निकै स्वादिष्ट जुम्ली स्याउकाे ख्याति घट्दाे छ।
ग्रेडिङ, लेवलिङ, प्याकेजिङ जस्ता कुरामा सरकारी तबरबाट ध्यान पुर्याउन नसक्दा जुम्ली स्याउकाे ख्याति घटेकाे वरिष्ठ किसान रामकृष्ण बुढ्थापाल बताए। उनले भने, 'कोल्ड स्टोर निर्माण, मूल्य निर्धारण र बजारीकरणलगायतको व्यवस्थापकीय पाटोमा राज्यले ध्यान दिनुपर्छ।'
जुम्लाको ४ हजार १ सय २० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएकाे छ। जसमध्ये कृषि विकास कार्यालयले २९ सय हेक्टर क्षेत्रफलमा फलेकाे १८ हजार मेट्रिक टन स्याउबाट ५० कराेड आम्दानी हुने अनुमान गरेकाे हाे।
किसानबाट व्यापारीले बगैंचामै सरदर ४५ देखि ५० रुपैयाँ प्रतिकिलाेमा स्याउ खरिद गरिरहेका छन्। जसअनुसार १८ हजार मेट्रिक टन स्याउबाट ५० कराेड आम्दानी हुने अनुमान गरिएकाे हाे।
स्याउको बजार प्रवर्द्धनका लागि 'जुम्ला एप्पल' लेखेको कार्टुन ५० प्रतिशत अनुदानमा वितरणका लागि १५ हजार खरिद गरिएकोमा १२ हजार वितरण भइसकेको कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले बताए।
'यसबाट जुम्लामा उत्पादित स्याउकाे बजार निर्माण गर्न सहज हुनेछ,' उनले भने, 'बगैंचा व्यवस्थापनमा ध्यान दियाे भने उत्पादन बढ्दै जानेछ। किसानकाे जीवनस्तर पनि वृद्धि हुनेछ।'
स्याउ उत्पादन हुने क्षेत्रफल र उत्पादनकाे दायरा बढेसँगै आर्थिक विकासमा टेवा पुग्ने अनिमान गरिएकाे छ।
अर्थशास्त्रमा आर्थिक विकास भएकाे मान्नलाई प्रतिव्यक्ति आम्दानी बढेकाे हुनुपर्ने र देशकाे राष्ट्रिय आय पनि बढेकाे हुनुपर्ने उल्लेख छ। यसले किसानकाे प्रतिव्यक्ति आय बढ्छ भने राष्ट्रिय आम्दानीमा पनि प्रत्यक्ष प्रभाव पार्ने कार्यालय प्रमुख अधिकारीले बताए।
उनका अनुसार स्याउ निर्यातको तथ्याङ्क राख्न कालिकोट र जुम्लाको सीमामा रहेको नाग्म प्रहरीलाई जिम्मा दिइएको छ। स्याउ कति परिमाणमा बाहिरियो भन्ने पूर्ण तथ्याङ्क आउन भने केही समय लाग्ने देखिन्छ।
जुम्लामा अहिले ग्रेड सी लेभलको स्याउप्रति केजी रु ४० र ए ग्रेडको स्याउ प्रतिकेजी रु ६० भन्दामाथि छ।
उत्पादनमा वृद्धि, सहज बजारीकरण तथा किसानले नै मूल्य निर्धारण गर्न पाउने ठोस नीति निर्माणमा हुनुपर्ने किसानकाे माग छ। तर सुविधायुक्त सित भण्डार नहुँदा जुम्ली स्याउको भण्डार र बजारीकरणमा समस्या आएको गुठीचाैरका स्याउ किसान वृष सार्कीले बताए।
'यतिबेला सस्ताेमा भएपनि स्याउ नधकेली सुख छैन। सिजनमा स्याउ फालाफाल हुने भएकाले साेचेजस्ताे मूल्य पाइँदैन,' उनले भने, 'राम्राे शीत भण्डारकाे व्यवस्था नभएकाेले अहिले स्याउ घटिघटाउमा बिक्री गर्नुपर्दा मूल्य पाउँदैनाैं।'
स्याउ नाशवान फल हाे। यसमा ९० प्रतिशतभन्दा बढी पानी हुन्छ। स्याउ टिपेपछि उपयुक्त चिस्यानसहितकाे भण्डारण नहुँदा पानीकाे मात्रा घट्दै जान्छ र बिग्रने सम्भावना हुन्छ।