सुदूरपश्चिममा तीज भन्ने शब्द नै सुनिदैन थियो, हरितालिका भनिन्थ्यो : शारदा जोशी (भिडियाे)

हेमन्त विवश

काठमाडौं

आजैको दिन इजु रनझनिया 
इति क्या अनारो छ हो रनझनिया
कित बाबु लोली गोरा रनझनिया
तमी घर जान लाग्या रनझनिया
रैजा बाबु लोली गोरा रनझनिया
चतुरी चौमास रइजा रनझनिया
चतुरी चौमास रइ रनझनिया
क्याउ रे दाइजो देल्ला इजु रनभरनिया 

गैरा पर्वमा महिलाहरूले एकअर्काको हात मिलाएर बडो भावपूर्ण ढंगले हात हल्लाउँदै खुट्टाको चाल मिलाउँदै गाउँछन् माथिका पक्तिहरू। छोरी बिदाइको पलको भावपक्ष समेटेर मर्मस्पर्शी ढंगले चयन गरिएका छन् शब्दहरु।

गौरा पर्वमा महिलाहरूले व्रत बसेर शिव-पार्वतीका मागल गाउने परम्परा निकै पुरानो हो। सोही पर्वको आगमनको पूर्वसन्ध्यामा ती पुराना दिन सम्झेर शारदा जोशी गुनगुनाउँदै थिइन् केही गीत र मागलका पंक्ति।

उनी गौरा शब्द सुन्ने बित्तिक्कै हुरुक्क हुन्छिन्। हरेक पर्व पर्वादीमा महिलाहरूले गाउने गरेका मागलको अर्को नाम हो, फाग। त्यस्ता फाग गाउने महिलाहरूलाई सुदूरपश्चिममा फगारी भनिन्छ। शारदा जोशी एक कुशल फगारी हुन्। उसो त उनी एक चर्चित नृत्यङ्गना पनि हुन्। गौरा पर्वमा गौरा र महेश्वर नचाउने कलामा निकै नै पोख्त मानिएकी शारदालाई विशेष गरी चिनाएको पनि गौरा पर्वले नै हो।

दुई दशक भइसक्यो उनले काठमाडौँस्थित टुँडीखेलमा गौरा नचाउन थालेको। पछिल्लो समयमा उनको माग भइरहेछ जिल्लातिर पनि। यो वर्ष गौरा नचाउनकै लागि महेन्द्रनगर, कैलाली र डडेल्धुराबाट निम्तो आएको कुरा बताउँछिन्, उनी।

जिन्दगीका ६७ वसन्त पार भइसके गौरा नचाउन र मागल गाउन, अनि डेउडा खेल खेल्न अझै उस्तै हौसिन्छिन्, उनी। १५ वर्षको उमेरमा डडेल्धुरा तिलाडीका यज्ञराज जोशीसँग विवाह बन्धनमा बाँधिएकी शारदाको अचेल एक्लो दिनचर्या चलिरहेको छ। श्रीमानले धर्ती छोडेको पनि १६ वर्ष भैसक्यो।

गोरखापत्र संस्थानमा कार्यरत थिए उनका श्रीमान स्व.यज्ञराज जोशी। अफिसमा काम गर्दैगर्दा अचानक प्रेसर बढेर वीर अस्पताल पुर्याइएका उनलाई केही समयको अन्तरालपछि उतैबाट आर्यघाट पुर्याइएको त्यो दुखद क्षण सम्झेर अश्रुपूर्ण बन्छिन्, उनी।

बुवा जयप्रसाद र आमा लक्ष्मीदेवीका कोखबाट २०१४ सालमा डडेल्धुरा टाटर गाउँमा जन्मेकी शारदालाई सुदूरपश्चिमका चाडपर्वले निकै छुन्छन्। ती चाडपर्वमा एक्लै टोलाएर बस्न सक्दिनन्, उनी। रमाइलो गर्न, आफन्त भेट्न र पुरानो परम्परा जोगाउने धेयले त्यस्ता रहेक ठाउँमा पुगिहाल्छिन्, जहाँ विभिन्न सांस्कृतिक कार्यक्रमहरू गर्न तय गरिएको छ। माइती घरमै छँदा विभिन्न चाडपर्वहरूमा सरिक भएर रमाउन सिकेकी शारदा कहाँ सक्थिन् र ती चाडपर्वहरू अर्थात संस्कृतिका पाटाहरूलाई वेवास्ता गरेर बस्न।

हिजोआज जताततै तीजको रौनक छाइरहेको छ। यतिखेर उनी सम्झिन्छिन् विगतमा माइतीघरमा तीजको बेलाको रमाइलो पक्ष र त्यो समय। शारदाका अनुसार त्यतिबेला सुदूरपश्चिममा तीज भन्ने शब्द नै सुनिदैन थियो। हरितालिका भनिन्थ्यो। उनी बताउँछिन्, ‘पितल र तामाका भाँडामा माटो मुछेर शिव, पार्वती र गणेशको मुर्ति बनाइन्थ्यो। तिनै मूर्तिलाई पुज्ने चलन थियो। पानीसम्म पिउन नपाइने भएको हुँदा त्यतिबेला लिइने व्रतलाई ठुलो व्रत भनिन्थ्यो। त्यो समय अर्कै थियो।’

पोशाककै कुरा गर्दा प्राय गुन्यू चोलो नै थियो त्यतिखेरकी महिलाको पहिरन। मध्य तथा सुदूरपश्चिमको मौलिक पोषाक हो गुन्यू चोलो र कम्मरमा सेतो पटुका अनि गरगहनाहरू। बाह्रपाटे गजीको गुन्यू भन्ने उखान नै थियो उहिले उहिले। हुनेखाने वर्गका महिलाहरूले लगाउँथे बाह्र पाटा भएको गुन्यू। अहिले त उक्त पोशाक प्राय जसो लोप भैसक्यो भन्दा नि हुन्छ। जिन्दगीका आरोह अवरोहहरू थिए त्यहाँ। सुन्दरताको पछ्यौरीले पुच्छदथे सन्तोषको पसिना। चैत, धमारी र डेउडा खेलको रौनकले गुञ्जायमान बन्दथ्यो जिन्दगी। मान्छे जतिजति सहरमुखी, सुविधामुखी अनि आधुनिक बन्दै गयो त्यति बढी निरिह र दुःखी हुन थाल्यो।

बिहे भएको वर्ष दिनपछि शारदा श्रीमानसँगै तराई झरिन्। कञ्चनपुरस्थित शान्तिपुरमा गौराको व्रत लिइन्। त्यतै नचाउन थालिन गौरा महेश्वरको मुर्ति। केही वर्षपछि उनी काठमाडौं आइन्। काठमाडौं कालिकास्थानस्थित उप्रेती परिवारले गौरा मनाउने गर्दथे। २०५८ सालमा उप्रेती परिवारसँग अनुरोध गरेर सोही गौरा टुँडीखेलमा लगी प्रशंसा संरक्षण समूहले गौरापर्व मनाउन सुरु गर्यो। त्यति बेलैदेखि आफूले काठमाडौंमा समेत गौरा नचाउने गरेको कुरा सुनाउँछिन्, उनी।

सुदूरपश्चिमको संस्कृति संरक्षणको लामो यात्रामा सक्रियता बढाइरहेकी शारदाले देश विदेशका विभिन्न ठाउँमा आफ्नो प्रतिभा देखाइसकेकी छन्। लोक–साहित्य र संस्कृतिका क्षेत्रमा कार्यरत  करिब एक दर्जन संघ संस्थाहरूको सदस्यता लिएकी शारदा पछिल्ला दिनमा झनै सक्रिय देखिन्छिन् यस क्षेत्रमा।

बेलाबखत उनी बताउँछिन्, ‘ संस्कृतिका क्षेत्रमा निरन्तरता दिने देखि पुस्ता पुस्ताहस्तान्तरण गर्ने कुरा त छँदै छन्। यसका अलावा यो क्षेत्रमा सक्रिय हुँदा मानसिक र शारीरिक रुपले समेत स्वस्थ रहन सकिन्छ।’ मनोरञ्जनका साथै सन्देशमूलक पनि छन् हाम्रा गीतसङ्गीतहरू। मनोकामनापूर्ण होस् भन्ने चाहनाका सुन्दर फाँटहरू पनि हुन् हाम्रा अधिकांश चाडपर्वहरू।

फुर्सदको समयमा एकआपसमा मेलमिलाप र भाइचारा स्थापित गर्ने मन्त्र पनि हुन्। जिन्दगीको केन्द्रीय रसधारका रुपमा लिन सकिन्छ मध्य तथा सुदूरपश्चिमका चाडपर्व र गीत सङ्गीतलाई। त्यसैले त शारदा भन्छिन्,‘जिन्दगी भुलिने मेलो पनि हुन् हाम्रा चाडपर्वहरू।’ मनोरञ्जनका साथ समय व्यतित गर्ने सुन्नतम घटा पनि हुन् हाम्रा चाडपर्वहरू।

लोकमानसभित्र अतित र वर्तमानको महत्व दर्साएकै छन् हाम्रा तमाम चाडपर्वहरूले। पृथ्वीको सौन्दर्यलाई पनि बढाइरहेकै छन्। सबैभन्दा बढी त हाम्रा चाडपर्वहरूले बेलाबखत विगतका दिनको सम्राइ लगाइरहेका छन् भने आउने दिनको लागि बाडुली पठाइरहेका छन्। जहाँ कैयौं शारदाहरू रमाइरहेका छन्, त्यही आफ्नो पनमा।

प्रकाशित मिति: : 2022-08-30 18:54:00

प्रतिकृया दिनुहोस्