हिन्दु धार्मिक ग्रन्थअनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने बचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले घोर तपस्या गर्दा पनि फल नपाउँदा एकदिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार व्रत बसिन्।
यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भइ ‘चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिएपछि शिव-पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथिदेखि हिन्दु नारीहरुले यस दिनलाई उत्सवका रुपमा मनाउन थाले।
आधुनिक समाजमा तीजको महत्वलाई जुन रुपले व्याख्या गरिएपनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा मानिन्छ। हरिता+आलिका मिलेर हरितालिका बनेको हो। जसमा हरिता भनेको हरण गरेर र आलिका भनेको सखीहरु भन्ने हुन्छ। अर्थात सखीहरुबाट हरेर महादेवलाई पाउनको लागि पार्वतीले तपस्या गर्दा सफल भएकोले तीज पर्वलाई हरितालिका तीज भनिन्छ।
त्यस्तैगरी तीजको तेस्रो दिन अर्थात ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरुले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन्। वर्षभरि जान अन्जानमा भए गरेका गल्तीहरुबाट मुक्ति पाइन्छ भन्ने विश्वास छ। लेपनले छालामा हुने एलर्जी हटाउँछ र दतिवनले दात र मुखलाई सफा राखी स्वास्थ्यको सुरक्षा गर्छ।
उक्त दिन ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ। यो दिन श्रीमानले पकाएको भोजन खाए, आपसी आत्मीयता एवं सद्भाव बढ्ने धार्मिक विश्वास छ। हिन्दु नारीहरुले मनाउने एउटा महत्वपूर्ण चाड हो। वास्तवमा भन्ने हो भने तीज आफैँमा एक सुन्दर पर्व हो र यसलाई व्रतमा परिणत गरेको भए पनि फलफूल ग्रहण गरेर दिनभरि बस्नमा वैज्ञानिक हिसाबले फलदायक नै देखिन्छ।
तीजको दिन नारीहरुले रातो टीका, रातो कपडा, रातो चुरा, पोते आदि सबै रातै रंगमा सजिनु यसको विशेषता हो। नारीहरु त्यो दिन नाचगान गर्दै हर्षोल्लासका साथ दिनभरि भोकै बसी श्रीमानको दिर्घायुको कामना गर्नु नै विशेष यस तीज पर्वको सन्देश मानिन्छ।
तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ। रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ। पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो। हृदय स्वच्छ भए मनोकांक्षा पूर्ण हुने धार्मिक विश्वास तीजको व्रतमा अन्तरनिहित छ।
तीजको दिन घरको कामकाजलाई चटक्कै छोडेर नेपाली महिलाहरु स्वतन्त्र तथा हर्षित भएर घर बाहिर निस्कन्छन्। उनीहरुको गीतमा आफ्ना अधिकार तथा वेदनाका कुराहरु समेटिएका हुन्छन्। यसले महिलाहरुलाई सशक्त बनाउँछ। यी कुराहरु तीजको सकारात्मक पक्ष हुन्।
नेपाली हिन्दु महिलाहरुद्वारा स्वतन्त्र र आनन्दमय रुपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरुले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्। आजभोलि विदेशका रहेका नेपाली महिलाहरुले पनि यो चाड बडो धुमधामका साथ मनाउने गरेको पाइन्छ।
नेपाली जनजीवनको सामाजिक, धार्मिक, सांस्कृतिक आदि पहिचान व्यक्त गर्ने यो पर्वले नेपाली महिलाहरुको इतिहासलाई बोकेको छ जुन विभिन्न रुपले यो पर्वमार्फत प्रकट हुन्छ। तीजमा महिलाहरुले उपवास बस्नुपर्ने धार्मिक मान्यता छ। यसरी हेर्दा हिन्दु धर्मले महिलालाई पुरुषको अन्धभक्त वा पुरुषभक्त बनाउन खोजेको देखिन्छ। त्यसैले प्रगतिशिल तथा क्रान्तिकारी महिलाहरुले यसको विरोध पनि गर्दै आइरहेका छन्।
खयर जे होस् यसको सामाजिक महत्व पनि छ। तीज बालीनाली रोपिसकेपछि केही फुर्सदको समयमा मनाइने पर्व हो, आपसी प्रेम बढाउने यो पर्वले महिलाहरुको दुखेसो पोख्ने वातावरण सिर्जना गरिदिन्छ। बालीनाली लगाइसकेपछि केही फुर्सदको समयमा माइतीबाट बाबु वा दाजुभाइ गएर छोरीचेलीलाई भेट्ने र सकेसम्म माइती फर्कने प्रचलन छ, जसले माइती चेलीको आपसी सम्बन्धलाई मजबुत बनाउँछ।
विवाह भएर टाढा पुगेका दिदीबहिनीबीच भेट गराएर यो पर्वले उनीहरुको मन हलुका पार्न र सुख-दुखका कुराकानी गर्ने अवसरसमेत जुटाइदिन्छ।तर अहिले उल्टो बन्दैछ, हाम्रो आनीबानी कुराकानीभन्दा मानिसहरु सामाजिक सञ्जाल (फेसबुक र टिकटक) मा बिजी हुन्छन्। मान्छे जति आधुनिक भए पनि उसले जन्मसँगै पाएको संस्कार एवं संस्कृति छोड्न सक्दैन।
तीजलाई महिलाको रमाइलो पर्वका रुपमा समेत लिइने भएकाले यसमा खुलेर रमाउनुपर्छ। कामबाट केही समय अवकाश लिँदै परिवार, साथीभाइ जमघट, घुमघाम, नाचगान यो पर्वको विशेषता हो।
पहिले नेपाली नारीहरु आत्मनिर्भर तथा स्वावलम्बी नभएका हुँदा एकदिन भए पनि मीठो-मसिनो खुवाउन माइती पक्षकाहरु लामो समयदेखि दरको जोहोमा जुट्थे भने चेलीबेटीहरु पनि महिनौं अगाडिदेखि पर्खेर बस्थे। त्यही दिनलाई उनीहरु आफ्नो बह पोख्ने र स्वतन्त्र रुपले रमाउने दिनका रुपमा उपभोग गर्थे। सासूले खटाउने संस्कारबाट आएका नेपाली महिलाले एकैदिन भएपनि राम्रो लाउने, मीठो खाने, स्वतन्त्र हुने अनि धक फुकाएर नाचगान गर्ने मौका पाउने भएकाले यो पर्व नेपाली महिलाको आत्मिय तथा सांस्कृतिक पर्व हो। जसको पर्खाइमा उनीहरु व्यग्र प्रतिक्षामा हुन्थे।
सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यताअनुसार महिलाहरु विवाह पश्चात आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन बिताउन पर्ने हुन्छ। यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरको रुपमा तीज पर्वको भूमिका रहेको छ।
तीजमा विवाहिता महिलाहरु आफ्ना पतिको दीर्घायुको कामना गर्दै व्रत वसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन्। महिलाहरु विद्युतीय उपकरण र साधन नहुँदा समूहमा भेला भइ डम्फु, मादल, थपडी र मुर्चुङ्गामा गीत गाउँथे भने अहिले रेडियो र टेलिभिजनमा आधुनिक शैलीका गीत र नृत्य गुञ्जिन थालेका छन्।
तीजका गीतमा छोराछोरीबीचको विभेद, पीडा, सासू-बुहारीको कचकच, दुःख, इर्श्या आदि विषय समावेश हुन्थे तर अहिले तीज गीतका विषय पनि परिवर्तन भएका छन्। सांस्कृतिक मान्यतास्वरुप महिलाहरु गीत गाउँदै नजिकैको मन्दिर, स्कुल, चौपारी वा समूहमा भेला भएर विभिन्न भाकामा तीजका लय गुञ्जाउँथे।
मलाई पनि सम्झना छ! हाम्रो हजुरआमाको पालामा कामको निकै चाप हुन्थ्यो। दिनमा कामले नभ्याएर रातिमा सबैको घरमा पालैपालो जम्मा भएर थपडीको तालमा सुख-दुःखका गीत गाएर नाच्नुहुन्थ्यो। हामी पनि गाउँगाउँमा खुबै हिँडिन्थ्यो। प्रत्येक गीतमा कथा हुन्थे, त्यसका अर्थ हुन्थे। केटाकेटी भएकोले हामीले राम्रोसँग बुझिँदैनथ्यो तर निकै रमाइलो लाग्थ्यो। आहा! हाम्रो गाउँको बेलडाँडा स्कुलमा कति रमाइलो हुन्थ्यो। साथमा चर्के पिङ्को मजाको त के कुरा गरुँ।
त्यस्तैगरी सिद्धेश्वरमा मोहरेको तोसायपोखरी, साउनेको साझपोखरा, देवलेको पोखरा, सोमादीको भवानी स्कुल, ख्याहाको जोगिथुम, गुल्मीको अगाहा बजारमा तीज र पञ्चमीको दिन १०/१२ समूहमा प्रतियोगीता हुन्थ्यो जसमा महिला अधिकार र महिला मुक्तिका गीतहरु सुन्न पाइन्थे। पहिलो पुरस्कार कसले हात पार्ला भनेर निकै चासोका साथ हेरिन्थ्यो। चुल्हो-चौको एवं घरधन्दाको व्यवस्ततामै अल्झिएका अधिकांश महिला तीजमा मन खोलेर आफ्नो व्यथा पोख्थे।
अहिले सबै नेपाली नारीको घरमा यस्तो अवस्था छैन। टोल-टोलमा समूह बनाएर एक महिनाअघिदेखि नाचगान र खानपिनका कार्यक्रम संचालन गरिन्छन्। यसले तीजको खास अर्थ र महत्वलाई मारेको मात्र छैन, संस्कार र संस्कृतियुक्त तीजलाई भड्किलो र उत्ताउलो बनाउँदै लगेको छ।हिजोआज तीज भड्किलो हुँदैछ भने तीजको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेको देखिन्छ। फलस्वरुप मौलिकता हराउन थालेको छ। यस्तो व्यवहारले मौलिक संस्कृतिलाई पनि ओझेलमा पार्छ। यो पर्वको सांस्कृतिक महत्वको जगेर्ना गर्न विकृतिहरु हटाउँदै जानु आवश्यक छ। यद्यपी समयसँगै संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ। यसको महत्वमा कुनै कमी देखिँदैन।
सामाजिक सद्भाव, मेलमिलाप एवं समाजका विकृति, विसंगति र सामाजिक अधिकारलाई उजागर गर्ने पर्वको रुपमा हजारौं हजार वर्षदेखि यो चाड मनाइँदै आएको छ। हामी माता पार्वतीलाई नारी जातिको अधिकार र स्वतन्त्रताको बिगुल फुक्ने पहिलो महिला अभियन्ताको रुपमा लिन सक्छौं।
हाम्रो बैदिक दर्शनले स्त्रीलाई प्रकृति मानेको छ। यसर्थ तीजको सम्बन्ध प्रकृति तत्वसँग छ। एक प्रकारले प्रकृतिको सम्मान, महत्व र सामित्यलाई यो चाडले आत्मसात गरेको छ। तात्विक रुपमा प्रकृति (धर्ती) र पुरुष (आत्मा) तत्वको मिलनको चाड हो। प्रकृति आत्मा र परमात्माको संयुक्त स्वरुपलाई नै हाम्रा दर्शनले ब्रह्रा मानेका छन्।
तर विगत केही वर्षहरुदेखि आधुनिकताको नाममा, परिवर्तनको बहानामा, अनि सस्तो लोकप्रियता सजिलो आय आर्जनको लोभमा, तीज जस्तो पवित्र चाडलाई विकृति, विसंगति र यौन स्वच्छन्दताको शिकार बनाइँदै छ। ‘पोइल जान पाम-पाम, नाच्नुपर्छ बिच-बिचमा, पेटीकोट लाएर, डिस्कोमा तीज, छोटो लुगा’ आदि हुँदै अगाडि बढेको तीज गीतको यात्राले ‘यसपालीको तीजमा दरको साटो रक्सी खाईन्छ’- ‘देखियो जामा फाटेर’ सम्मको उचाई छुइराखेको छ।
थाहा छैन यो आधुनिकताको स्वच्छन्द गतिले कुन उचाइ छुने हो? यस्ता उच्छृङ्खल र छाडा गीत, संगीत र अभिनयले तत्काल कोही कसैलाई सस्तो लोकप्रियता र सहज आर्जन गराए पनि हाम्रो बैभवशाली संस्कार, संस्कृति एवं परम्परालाई पटक्कै पाइदा पुग्ने छैन।
तीजलाई हामीले परम्परागत मान्यता र विधि नमर्ने गरी परिस्कृत गर्दै लानुपर्छ। शिक्षित र सभ्य समाजमा हुर्किएका आधुनिक महिलाहरुले अन्धविश्वासलाई चिर्दै तीजलाई उल्लासमय एवं संस्कारयुक्त बनाउन पहल गर्नुपर्छ। तीजलाई आधुनिकीकरण गर्ने नाममा भड्किलो र असभ्य बनाउनु भने हुँदैन। आफूलाई आधुनिक र शहरिया मान्ने महिलाहरु होटलमा भेला भएर पार्टी आयोजित गर्छन् र लठ्ठिने गरी मदिरामा डुब्छन्। तीजका नाममा भित्रिएको यो सबैभन्दा दुर्घन्धित पक्ष हो। दुध, भेज र फलफूलका परिकार खाने समयमा माछा मासुका परिकार अनि मसलेदार खानामा जोड दिन थालिएको छ। यसले स्वास्थ्यमा प्रतिकुल असर गरिरहेको छ।
इज्जत र सभ्यता अनि सुन्दर देखिन नभइ अरुको देखासिकी र प्रतिस्पर्धाका लागि धेरै गहना र महङ्गा कपडा लगाउने चलन पनि भित्रिएको छ।त्यस्तैगरी सामाजिक सञ्जालमा फोटो र भिडियो पोष्ट गरी संसारै जिते जस्तै गर्व गर्छन्। हुनेले सजिलै, नहुनेले ऋण खोजेर भएपनि तीजको खेलमा आफ्नो कला प्रदर्शन गर्दछन्। त्यसले आर्थिक भार बढिरहेको छ भने गरिबहरुलाई पर्व कसरी मनाउने भनेर चिन्ता पनि थपिँदैछ। यो निकै नराम्रो पक्ष हो।
सम्बन्ध सुधार गर्ने, यसलाई अझ प्रगाढ बनाउने तथा सम्बन्धमा भएका मनमुटावलाई प्रेममा बदल्ने पर्व हो, तीज। अहिले पनि यसको आस्था र महत्व उत्तिकै छ। परिकारको स्वादसँगै पुराना भाका र शैलीमा गीत गाउने, पानी नपिइ व्तर बस्ने, पञ्चमीको पूजापछि कर्कलो खानेजस्ता परम्परागत संस्कार हाम्रो छ।
जति पहिलो पुस्तासँगको संगतबाट संस्कार हाम्रो छ। जति पहिलो पुस्तासँगको संगतबाट संस्कार सिकिन्छ, त्यति अरुले गरेको देखेर प्राप्त हुँदैन। यसको मतलब पुरानै अवस्थामा फर्किनुपर्छ भन्न खोजेको होइन। तीज पर्व पनि समयको परिवर्तित चक्र सँगसँगै परिवर्तन हुन आवश्यक छ पनि। समयको परिवर्तनशीलता र गतिशीलता सँगसँगै मानव समाज र सभ्यताहरुको परिवर्तन हुँदै आएका छन्।
हिजो माइतीघर, व्रत, पूजा, पंधेरो, चौतारो अनि मन्दिरहरुमा सिमित हुने पर्व आज शहर, बजार, बस्ती, व्यवसाय, विद्युतीय सञ्चार माध्यमहरु, सामाजिक सञ्जालहरुलगायत हुँदै व्यापकता लिएको छ। हिजो गल्ली र चोकमा गाइने तीजका भाकाहरु आज सुव्यवस्थित तबरले आधुनिक बाजागाजामा लयबद्ध भएका छन्। एक प्रकारले तीज पर्वको माध्यमबाट समाजले सांस्कृतिक एवं सांगीतिक उपलब्धि हासिल गरेको छ भन्दा अतिशयोक्ति नहोला। त्यसैले यसलाई संरक्षण र सम्बर्द्धन गर्दै अगाडि बढ्नुपर्ने आजको पुस्ताको जिम्मेवारी र दायित्व रहेको छ।