डाक्टरको छोरा डाक्टर भने झैँ चौथो पुस्तासम्म डाक्टरी पेशालाई निरन्तरता दिँदै पाँचौँ पुस्ता पनि यही पेशामा आउन तयारी अवस्थामा रहँदा नेपालकै शिक्षित र सम्भ्रान्त परिवारमा जन्मिएका उनका हजुरबुवा स्व.डा.नारायण बहादुर मानन्धरले नेपालकै पहिलो विद्यावारिधि गरेका थिए।त्यतिबेला उनका भाइहरु पनि स्नातकोत्तरको डिग्री प्राप्त थिए। राणा शासन र पञ्चायतकालको निरंकुशताभित्र पनि यस्ता उच्च शिक्षित र मास्टरी परिवार थिए भन्दा सायदै पत्यारिलो नहुन सक्छ। तर उनको परिवारलाई त्यतिबेला मास्टरी परिवारकै उपनामले चिनिन्थ्यो।
बुवा धुँस्वा सायमी शिक्षित मात्र थिएनन्, नेपालका एक वरिष्ठ साहित्यकार पनि थिए। खान्दानी मास्टरी प्रथालाई उनले पनि उत्तिकै निरन्तरता दिए र आफ्ना पाँचै सन्तानहरुलाई पनि शिक्षाको ज्योतिमा डोर्याए। वरिष्ठ साहित्यकार धुँस्वा सायमीका तिनै चार छोराहरुमध्ये साइँलो छोरा डा.अरुण सायमीलाई बिएल नेपाली सेवाको अन्तरङ्ग अप्रेशनको यो श्रृङ्खलामा प्रस्तुत गरिएको छ।
सन् १९५७ जुन ३ (वि.स.२०१४ साल जेठ २१) का दिन काठमाडाैँको झोँछेमा बुवा स्व.धुँस्वा सायमी तथा आमा स्व. बसुन्धरा सायमीका तेश्रो सन्तानको रुपमा जन्मिएका डा.अरुण सायमीको जीवनमा माथि उल्लेखित उखान ठ्याक्कै मिल्छ। हजुरबुवाको पालादेखि डाक्टर बनेका सन्तानहरु अहिले पाँचौँ पुस्तासम्म पनि यो पेशा उत्तिकै मान, सम्मान र उच्च आदरका साथ अँगालिरहेका छन्।
जन्मेर चार वर्षसम्म पनि बोली नफुटेका उनलाई परिवारमा सबैले लाटा भन्ने गर्थे। एक त सोझो प्रवृत्तिका उनी त्यसमाथि पनि बोली नफुटेकोले उनलाई मास्टरी परिवारको इज्जत फाल्ने भयो भनेर गाली गर्दथे। शिक्षित, सम्पन्न र सभ्रान्त परिवारमा जन्मिएका अरुणलाई बाल्यकालमा कुनै कुराको अभाव कहिल्यै भएन। तर चार वर्षसम्म बोल्न नसक्दा सबैको गाली खानु परेतापनि बुवाले भने पाँच वर्षसम्म पनि बोलेन भने मेरो साइँलो छोरो अल्बर्ट आइन्सटाइन बन्छ भन्ने गर्थे। करिब साँढे चार वर्षको उमेरमा बोली फुटेपछि एक कक्षामा भर्ना हुनको लागि दिइएको परीक्षामा फेल हुँदा उनको एउटी फुपूले धुँस्वाको सन्तानमध्ये यो मात्रै नपढ्ने, लठुवा र परिवारकै इज्जत फाल्ने भयो भन्दा उनको त्यो कलिलो बाल मुटुमा एउटा फलामको किला गढे झैँ भएको थियो।
कक्षा एकदेखि पाँचसम्म घर नजिकैको महेन्द्र आदर्श विद्यालयमा र कक्षा छदेखि नौसम्म आनन्दकुटी विद्यापीठमा अध्ययन गरी विश्व निकेतन मा.वि. बाट वि.स २०२९ सालमा एसएलसी दिएका अरुणले एसएलसीमा नेपालकै सेकेण्ड बोर्ड टप गर्दा त्यही फुपूले बधाई दिँदै सायमी परिवारकै सबैभन्दा धेरै पढ्ने छोरो भनिदिँदा मनमा गढेर बसेको त्यो फलामको किला निस्कनुका साथै उनको गर्वको सीमा नै थिएन।
एसएलसीपश्चात उनले पाइलट कोर्ष पढ्ने निधो गरे। उनका बुवा त्यतिबेला कामको सिलसिलामा भारतको नयाँ दिल्लीमा थिए र अरुण पनि बुवालाई भेटन त्यतै गए। उनका बुवा धुँस्वा सायमी दिल्ली दुतावासको कुटनैतिक ओहदामा रहि शिक्षा तथा स्वास्थ्यसम्बन्धी कार्यहरु गर्थे र नेपालबाट विभिन्न रोगको उपचारका लागि दिल्ली पुगेका नेपालीहरुलाई उनले विभिन्न सहयोग गर्ने गर्दथे।
अरुण पनि बुवालाई भेटन जाँदा बुवाले नभ्याएको समयमा यताबाट गएका बिरामीहरुलाई त्यहाँको अस्पतालसम्म लगीदिने र आवश्यक सहयोग गर्ने गर्थे। त्यही क्रममा उनले पाइलट पढ्नको लागि क्यानाडा जाने अवसर पाए। तर वंशको छाप परेको हो वा भाग्यमा नभएकोले गर्दा उनलाई धेरै बिरामीहरुलाई सहयोग गर्दागर्दै बिरामीसगँको त्यो सामिप्यता र भावनात्मक सम्बन्धको लगाव यति भैसकेको थियो कि अरुणले त्यो अवसरलाई स्विकार्न सकेनन् र उनी फर्केर नेपाल आए। ‘सायद यो नै मेरो जीवनको सबैभन्दा महत्वपूर्ण निर्णय र एउटा टर्निङ्ग प्वाइन्ट नै थियो’, उनी आफ्नो सहि निर्णय सम्झन्छन्।
नेपाल फर्केर अमृत साइन्स कलेजमा भर्ना भइ आइएस्सी पढ्दै गर्दा उनको संगत कलेजका गुण्डा नाइकेदेखि सोझा सिधा साथीहरु र थुप्रै महिला साथीहरुसँग पनि भयो। तर उनको अध्ययनलाई भने यी कुराहरुले कहिल्यै कुनै असर परेन। साथीहरु जीवनका रंगिन सपनाहरुमा रुमल्लिरहँदा अरुण भने आफ्नो पढाइ र साहित्यिक रचनाहरुमा केन्दित रहने गर्दथे।
डा. सायमीका बुवा धुँस्वा सायमीले २० वर्षको उमेरमा उपन्यास लेखेका थिए र बुवालाई नै चुनौती दिँदै डा. अरुणले १९ वर्षकै उमेरमा नेवारी भाषाको उपन्यास हाकुताँ लेखेर अध्ययनमा मात्र अब्बल नभइ साहित्यिक रचनामा समेत उत्तिकै उत्कृष्ट रहेको प्रमाण दिइसकेका थिए।
‘अस्कलमा आइएस्सी पढदा मेरा थुप्रै गीत, कविता, कथा उपन्यास जस्ता रचनाहरुले कलेजको हरेक जसो कार्यक्रम, सभा, समारोहहरुमा स्थान पाउँथ्यो। त्यतिबेला समय पनि त्यस्तै थियो कि विद्यार्थीहरु पढाइमा मात्र होइन तर जीवनका हरेक कृयाकलापमा उत्तिकै अग्रसर र सक्रिय हुनुपर्छ भन्ने मान्यता थियो। गुरुहरु पनि त्यस्तै हुनुहुन्थ्यो। राजा-रानीको जन्मोत्सव, क्याम्पसले आयोजना गर्ने विभिन्न क्रियाकलापहरुमा प्राय विद्यार्थीहरुको सहभागिता रहने गर्दथ्यो’, डा. सायमी आफ्नो क्याम्पसका दिनहरु स्मरण गर्छन्।
आइएस्सीको पढाइ सकाएर उनी वि. स. २०३३ सालमा एमबीबीएस अध्ययन गर्न भारतको जवलपुर गएपछि उनको राजनीतिक यात्रा पनि सुरुवात भयो। तत्कालीन समकक्षीहरु बाबुराम भट्टराई, हिसिला यमी, मोहन विक्रम सिंह, निर्मल लामा, झलनाथ खनाल, दुर्गा सुबेदी, ऋषिकेश शाह जस्ता दिग्गज राजनीतिकर्मीहरुसँगको सहकार्यमा बामपन्थी विचारधारालाई फैलाउने र नेपालको पञ्चायती व्यवस्था मात्र नभइ राजतन्त्रविरुद्धको आवाजलाई पनि बुलन्द पार्नु थियो।
डा. बाबुराम भट्टराइको अध्यक्षतामा अखिल भारतीय नेपाली विद्यार्थी संघ (अभानेविस) को गठनसँगै संगठनको मुखपत्र ‘जनमानस’ प्रकाशित गरी त्यसमार्फत शासन परिवर्तनका आवाजहरु छापिने गर्दथ्यो। डा.अरुण सायमी अभानेविसका सचिव र महासचिवको जिम्मेवारीसँगै उक्त मुखपत्रका सम्पादक रहि आफ्ना क्रान्तिकारी गीत, कविता, कथा र लेख रचनाहरुद्वारा नेपालको शासन प्रणालीविरुद्धको जनचेतना फैलाउने कार्यमा उत्तिकै सक्रियतापूर्वक लागिरहे। तर जब जनमानस पत्रिका लोकप्रिय हुन थाल्यो, तब यसलाई नेपालमा प्रतिबन्ध लगाइयो।
वीपी कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी जस्ता निस्वार्थ भावना बोकेका पारदर्शी र दुरदर्शी नेतृत्वहरुको सहकार्यतामा अभानेवि संघद्वारा पञ्चायत र राजतन्त्रविरुद्ध क्रान्तिको बिगुल फुक्न सफल भइ नेपालमा विद्यार्थी आन्दोलन र संगठनको विस्तारसमेत हुन थाल्यो। उक्त बामपन्थी समूहको साँस्कृतिक टोलीमा वरिष्ठ गीतकार तथा गायकहरु मन्जुल, रायन, सञ्जय थापा, प्रदिप नेपाल जस्ता व्यक्तित्वहरु सम्मिलित थिए।
तर नेपालको राजनीतिमा एउटा श्राप वा बिडम्वना नै भन्नुपर्छ जब एउटा ठोस उदेश्य र परिवर्तनको निम्ति एकता र गठबन्धन गरिन्छ, तब उदेश्य परिपूर्ति बिना नै विविध कारणले उक्त एकता टुट्ने गर्दछ।
‘मलगायत त्यस्ता दिग्गज व्यक्तित्वहरुको सहकार्य र सहभागीतामा गठित अभानेविसंघ पनि २०३६ साल पछाडि छिन्नभिन्न हुन पुग्यो’, स्वार्थको नेपाली राजनीतिप्रति खेद प्रकट गर्दै डा. सायमी भन्छन्, ‘यो त्यही संगठन थियो जसले नेपालको शासनप्रणलीविरुद्ध आवाज उठाउनुका साथै वि.स. २०३६ सालको जनमत संग्रह नेपाली जनताप्रतिको एउटा धोका हो भन्ने यथार्थलाई पनि उजागर गरेको थियो। तर इमान्दारिता, त्याग, बलिदान, पारदर्शिता र दुरदर्शीताको कमीको कारण संगठनमा फुट आएको थियो। यो स्थिति र परिस्थिति आजसम्म पनि नेपालको राजनीतिमा यथावत नै रहेको छ। त्यसैले पनि हुन सक्छ म कुनै पनि राजनैतिक दलको सदस्य बन्न सकिनँ।’
एमबीबीएस सकाएर उनी नेपाल फर्किए। नेपालमा हुँदै नेवारी भाषाको उपन्यास हाकुताँका धेरै फ्यानहरुमध्ये सबैभन्दा नजिकको फ्यान थिइन्, जमुना सायमी। उनका प्राय सबै कृतिहरु पढ्ने मात्र नभइ सायमीलाई आफ्नो जीवनको पुस्तकमा समाहित गर्ने प्रण गरिसकेकी जमुनासँग डा. अरुण सायमीले पनि आफ्नो जीवनको पुस्तकमा उनको नाउँ खोप्ने वाचा कसम खाँदै वि.स. २०३९ सालमा एक अर्कामा समाहित हुने निर्णय गरे।
विवाहपश्चात आफ्नो पढाइसँगै परिवारको जिम्मेवारी बहन गर्दै जाँदा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा सहायक प्राध्यापकको रुपमा पहिलो जागिर पाएका डा सायमीले वीर अस्पतालमा सन्ध्याकालीन चिकित्सकका रुपमा काम गर्न थाले। करिब २ वर्षको वीर अस्पतालको सेवापछि उनी बंगलादेशको इन्ष्टिच्युट अफ कार्डियोभास्कुलर डिजिजमा एफसीपिएस (मेडिसीन) अध्ययन गर्न गए। त्यहाँ उनले बंगलादेशका वरिष्ठ मुटुरोग विशेषज्ञहरु प्रोफेसर जाफर, प्रो अमानुल्लाह र बिग्रेडियर मल्लिक (जो इन्ष्टिच्युट अफ कार्डियोभास्कुलर डिजिजका संस्थापक र बंगलादेशको हार्ट फाउन्डेशनको निर्माता पनि हुन्) जस्ता व्यक्तित्वहरुको नेतृत्वमा डा. अरुण सायमीले एमडी कार्डियोलाजी अध्ययन गर्ने मौका प्राप्त गरे।
नेपालमा त्यतिबेला मुटुका रोगीहरु अत्यन्त न्यून थिए। याे राेगका डाक्टर त झन औँलामा गन्न सकिने मात्र थिए। ‘वि.स. २०४५/२०४६ मा नेपालमा मुटु रोग चिकित्सकको डिग्री लिने तेश्रो डाक्टर म नै हुँ। त्यो समयदेखि आजको दिनसम्म पनि निरन्तर बिरामीहरुको सेवामा लागिरहेको छु। यो यात्राको दौरानमा थुप्रै देशहरुबाट अवसरहरु नआएको होइन तर आफ्नो देश र जनताप्रतिको सेवाभाव, माया, स्नेह अनि आदरभावले त्यसलाई कहिल्यै जित्न सकेन’, डा.अरुण गौरवताका साथ भन्छन्।
भारतमा अध्ययनरत रहँदा नै बिजारोपण भएको राजनीतिक बिज वि.स. २०४६ सालको जनआन्दोलनमा फेरि छताछुल्ल भएर पोखियो। हरेक दिनजसो सेतो कोटमै आन्दोलनमा सहभागी हुँदै घाइते सर्वसाधारण तथा जन नेताहरुको उपचारमा पनि उत्तिकै सक्रिय हुन्थे उनी। उनको त्यही पेशाप्रतिको इमान्दारिता र राजनैतिक चेतनाको सम्मान र कदरस्वरुप वि.स. २०५१ सालमा मनमोहन अधिकारीको मन्त्रिमण्डलकै डाक्टर भएर काम गर्ने मौका पाएका डा.अरुणले त्यही वर्ष मनमोहन कार्डियाक भास्कुलर सेन्टरको स्थापनासमेत गरे।
मुटुका बिरामीहरु बर्सेनि भारतलगायत विभिन्न मुलुकमा उपचार गर्न जानुपर्ने बाध्यात्मक परिस्थितिलाई अत्यन्त नजिकबाट नियालेका सायमीले यसको दीर्घकालीन उपाय खोज्ने क्रममा बिरामीको उपचार मात्र होइन तर त्यसको निम्ति आवश्यक पर्ने चिकित्सकहरुको उत्पादन पनि नेपालमा नै गर्ने एउटा चुनौतीपूर्ण निर्णयलाई कार्यान्वयन गर्दै वि.स.२०५२ सालमा शहिद गंगालाल हृदय केन्द्रको स्थापना गर्न पनि सफल भए।
यो दुई वटा उपचार केन्द्रको स्थापनापश्चात नेपालमा मुटु रोगका बिरामीहरु मोटो रकमका साथ भारतलगायत अन्य देशमा जानुपर्ने अवस्थामा परिवर्तन आएको छ। यति मात्र होइन, अहिले दक्षिण एसियामा नै नेपाल मात्र यस्तो देश हो जहाँ ७५ वर्षमाथि र १५ वर्ष मुनिका मुटु रोगीहरुको उपचार निशुल्क हुने गर्दछ। त्यस्तै डा.अरुण सायमीकै प्रशिक्षण र नेतृत्वमा मनमोहन कार्डियाक सेन्टरबाट दर्जनौँ मुटु रोग विशेषज्ञहरु उत्पादन भइसकेको र अहिले दशौँ ब्याचको एमडीका विद्यार्थीहरु अध्ययनरत रहेका छन्।
एक दिनमा दर्जनौँ बिरामीहरुको सेवा, भविष्यका डाक्टरहरुको शिक्षण, परिवारको जिम्मेवारीलगायतका सबै कार्यभारका बावजुद पनि उनी ६५ वर्षीय उमेरलाई बेवास्ता गर्दै साहित्यिक क्रियाकलापलाई समेत उत्तिकै जोश जाँगरका साथ निरन्तरता दिइरहेका छन्।अहिले मुटु रोगका बिरामी र डाक्टरको संख्या बराबर भएतापनि मानिसहरुको जीवनशैलीकै कारण यो एक घातक रोग बन्दै गइरहेकोमा भने चिन्तित छन् उनी।
‘मुटुलाई मायाको केन्द्र भन्छौँ तर यही केन्द्रलाई नै माया गर्दैनौँ भने माया कहाँ राख्ने?’ उनी प्रश्न गर्छन्। एक सर्वेक्षणका अनुसार नेपालमा ३० वर्ष उमेर समूहका युवायुवतीहरुमा २५ प्रतिशत ब्लड प्रेसर र ५ प्रतिशत कोलस्ट्रोलका रोगीहरु छन्। ‘यसको मुख्य कारण चुरोट हो। दोश्रो कारण सरकार हो। सरकारले नयाँ-नयाँ उद्योगको स्थापना, भएका उद्योग तथा उद्यमीहरुलाई प्रोत्साहन, सुरक्षा र न्युनतम सेवा सुविधाहरु सहज र सरल ढंगबाट उपलब्ध गराउने हो भने युवा बेरोजगारको समस्या समाधान हुन्थ्यो र ३० वर्षभित्रका युवाहरु तनावको शिकार हुँदैन थिए। जब तनाव हुन्छ, तब ती उर्जाशील युवाहरु चुरोट, रक्सी, लागुपदार्थ जस्ता दुर्व्यसनको कुलतमा पर्छन्। त्यसको नतिजा अन्ततोगत्वा मुटु रोगको शिकार अनि अल्पायुको मुत्यु नै हो’, उनी भन्छन्।
यसको उपचारभन्दा रोकथाम गर्नु नै मुख्य कुरा हो भन्ने डा.अरुण मुटु रोग लाग्न नदिन एउटा सुत्र बताउँछन्। अँग्रेजीमा यसलाई डियर (DEAR) भनिन्छ। ‘डाइट, एक्सरसाइज, एडिक्ट र रिल्याक्सेसन यो चार वटा कुरालाई सन्तुलनमा राख्ने हो भने कोही पनि मान्छे मुटुको रोगी हुन सक्दैन’,उनी भन्छन्, ‘तर रोग लागिसकेको छ भने उसले डाक्टरको सल्लाहबमोजिम खाइरहेको औषधि नियमित खानु पर्दछ। बीचमा औषधि छुटाउँदा कतिपय व्यक्तिहरुको अकल्पनिय मृत्यु पनि हुने गर्दछ।’
‘जीवनभन्दा मृत्यु ठुलो हो। किनकि मृत्युको डरले त हरेक मानिस कसरी बाँच्ने भन्ने चिन्तनमा हिँडिरहन्छ नि! यदि मृत्यु नहुँदो हो त कोही पनि मानिस हतारमा हुँदैन थिए, जीवनको अर्थ बडो अचम्मको दिँदै उनी प्रेमको परिभाषा दिन्छन्, ‘त्यसैले यो जीवनलाई प्रेम गर्नुपर्छ, प्रेम बिनाको जीवन निरर्थक र जिउँदो लाश जस्तो हो।’
एसएलसीमा नेपालकै सेकेण्ड बोर्ड टपको नतिजा आउँदा अत्यन्तै खुशी लागेको र आमाको असामयिक निधन हुँदाको क्षण जीवनकै दुखद क्षण भएको बताउने डा.सायमी दुई छोरीहरु (डा.मतिना सायमी र डा.अरुणा सायमी) का पिता पनि हुन्।
३०औँ वर्षभन्दा बढी निरन्तर चिकित्सा पेशामा संलग्न भइरहँदा उनको पेशाप्रतिको इमान्दारिता र कर्तव्य निष्ठताको उच्च सम्मान गर्दै सुप्रबल जनसेवाश्री पुरस्कार, शिक्षा पुरस्कार, कोइलीदेवी प्रतिष्ठान सम्मान, अमेरिकन कलेज अफ कार्डियोलोजी, कलेज अफ एसिया प्यासिफिक कार्डियाक सोसाइटी जस्ता थुप्रै सम्मान तथा पुरस्कारहरुबाट बिभुषित भए।
डा सायमी मेरो जीवन कथा(आत्मकथा), हयाँउस्वाँ, रातो टिका, आस्था, अरुण, तिमीलाई, दरवार हत्याकाण्ड जनबिद्रोह, म्यानुअल अफ सीसीयु एण्ड आइसीयु जस्ता दर्जनौँ उपन्यास, कथा, गीत र कविताका सर्जक हुनुका साथै हरेक नेपालीको मनमुटुमा बस्न सफल गीतहरु ‘बर्षा तिमी छमछम गरी बर्षिदेउ न’ र ‘ए झरी नझरी देउ यसरी’ का रचनाकार पनि हुन्।