‘देउवाले आफ्नो भर कांग्रेसमा, कांग्रेसको भर देउवामा देख्नुपर्छ’

ओम आचार्य

विराटनगर

आगामी मंसिर ४ गतेका लागि आम निर्वाचनको घोषणा भएको छ । गठबन्धनमा सिट बाँडफाँट थप पेचिलो बन्दै गैरहेको छ। गठबन्धनभित्र रहेका दलहरुमा के विश्वास छ भने गठबन्धनबाटै टिकट पाए निर्वाचित हुने ठानेका छन् । यसै कारण सिट बाँडँफाट पेचिलो बनेको हो । यसकाे अर्थ गठबन्धनले निर्वाचन प्रभावित पार्ने कुरा बुझ्नुपर्छ ।

निर्वाचन र निर्वाचनको परिणामले देशको लोकतन्त्रमा जनविश्वास र सुशानको पनि मापदण्ड गरिन्छ। तर अहिलेको गठबन्धनभित्र वामपन्थी विचारसमेत बाेकेकाको दरो उपस्थिति मात्रै हैन, यिनीहरुको गठबन्धनभित्र अर्को गठबन्धनले मंसिर ४ को निर्वाचनमा समेत आफ्नो अनुकूलको सिट बाँडफाँट हुनेगरी नेपाली कांग्रेसलाई निर्वाचित भएर आउनेको संख्यामा सकेसम्म कम गराउने रणनीति अख्तियार गरेको देखिँदैछ ।

देशमा विद्यमान प्रजातान्त्रिक लोकतन्त्रको अभ्यास गर्दै न्याय एवं सुशासन पनि दिने दल भनेको  नेपाली कांग्रेस नै हो । वामपन्थी दलहरूबाट पटक पटक लोकतन्त्र र संविधानको मर्ममा गरेको प्रहारलाई दृष्टिगत उनीहरूबाट देशमा सुशासन र लोकतन्त्रको संरक्षण हुन सक्छ भन्न सकिन्दैन।

गठबन्धनले निर्वाचनमा प्रजातन्त्र र लोकतन्त्रमा आस्था रहेको मतलाई देखाउँदैन, देखाउँछ त गठबन्धनभित्र रहेको अन्य दलको समेत मत । त्यसमा नेपाली कांग्रेसको समेत मत देखिन्छ, त्यसले देशमा प्रजातन्त्र, लोकतन्त्रप्रति कति आस्थावान छन्, कति कांग्रेसप्रति जनआधार छ, त्यो गठबन्धनले प्रभावित पार्ने छ। यसले निर्वाचन प्रभावित गर्ने छ । प्रजातन्त्रमा गठबन्धनको नाममा कुनै पनि कारणबाट निर्वाचन प्रभावित, प्रचारित या प्रशारित गरिन्छ । त्यसले निर्वाचन स्वस्थ्य र निष्पक्ष हुन दिँदैन र त्यस्तो प्रकारको निर्वाचनले देशमा दिगो राजनीतिक शासन प्रणाली दिन सक्दैन ।

गणतन्त्रात्मक संविधानमा नै प्रश्नचिन्ह लाग्न सक्छ । योभन्दा पूर्व एमाले र माओवादीको गठबन्धनले निर्वाचन मात्रै प्रभावित पारेन, दुई तिहाइको सरकारसमेत गिर्न पुग्यो । जनमानसमा गणतन्त्र र संविधानमाथि प्रश्न नै उब्जाइयाे। यसकाे एउटा कारण हो, लोकतन्त्र र प्रजातन्त्रमा सदैव क्रियाशील रहेको नेपाली कांग्रेस अत्यन्त कमजोर अवस्थामा प्रतिपक्ष रहनु ।

अहिले पुन: पाँच दलीय गठबन्धनले यस्तै अवस्था भित्रिने खतरा देखिँदै छ। यो गठबन्धन निर्माण र उद्धेश्य नै नकारात्मक भाव र विचारबाट अभिप्रेरित छ। मात्रै नेकपा एमालेलाई कमजोर तुल्याउनु हो। यसमा विशेष गरेर प्रचण्ड र माधवकुमार नेपालको द्वेषपूर्ण राजनीतिक प्रतिशोध मात्रै हो, यही अभिष्ट पुरा गर्न नेपाली कांग्रेसलाई प्रयोग गर्यो।

भोलि निर्वाचनको परिणामपछि नेपाली कांग्रेसको अवस्था कस्तो हुन्छ, त्यसकाे लेखाजोखा, राजनीतिक अध्ययन कांग्रेसले गरेको छ कि छैन। गठबन्धनको नाममा नेपाली कांग्रेसले सिट बाँडफाँटमा आफ्ना कार्यकर्ताको व्यवस्थापन कसरी गर्छ र गर्न नसक्दाको परिस्थितिको कसरी आँकलन गरेको छ, त्यो पनि अहिले नै विचार पुर्याउन पर्नेछ।

पाँच दलीय गठबन्धनले भोलि कांग्रेसमा अन्तरघात, विचलन र पार्टी विग्रह पनि गर्न सक्ने अवस्था आउन सक्छ। यसकाे मूल कारण प्रचण्ड र माधव नेपालको रणनीति हुन सक्छ। वाम शक्तिहरु सधैँ प्रजातन्त्र र लोकतन्त्रमा घात गर्ने शक्ति हुन् र त्यसकाे लागि पहिले कांग्रेसलाई कमजोर बनाउँदै लैजानु र त्यहाँभित्र द्वन्द्व पैदा गर्नु मुख्य उद्धेश्य वाम शक्तिको रहन्छ। अहिले कांग्रेसभित्र यस्तै दृश्य देखिँदैछ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर कस्तो बन्न चाहन्छन्?

पार्टी सभापति एवं प्रधानमन्त्रीसमेत रहनुभएका शेरबहादुर देउवाले यो विषयमा कति गम्भीरता पूर्वक लिनुभएको छ। त्यो निर्वाचन पछिको नतिजाले परिणाम देखाउला। पहिलो कुरा त नेपाली कांग्रेसले आस्था राखेको, विश्वास गरेको सभापति देउवामा त्यो आस्था र विश्वासले आफूमा अपमानित हुन नपरोस्। त्यो आस्था र विश्वास बोकेका कांग्रेसजनमा देउवाका कारण शिर नझुकोस्। कांग्रेसप्रतिको आस्था देउवाको कारणले दयनीय बन्नु नपरोस्। देउवाको लागि यो अन्तिम अवसर हो, कांग्रेसलाई उठाउने। देउवा आफ्नो कस्तो इतिहास बनाउन चाहन्छन्? योभन्दा पूर्वको बनेको इतिहास अझ बिगार्ने हुन् कि अझ सबल र सक्षम हुँदै गर्व गर्न लायक हुने हुन्।

देउवाको नेतृत्वमा बनेको सरकार उनकै डिजाइनमा भइरहेको गठबन्धन उनैलाई घातक नहोस्, अर्थात कांग्रेसलाई घातक नहोस्। अहिले गठबन्धनमा देउवाको पकडभन्दा पनि प्रचण्डको पकड देखिनुले कांग्रेसमा निराशाजनक स्थिति देखिँदै छ। अहिले कांग्रेसको भर देउवामा मात्रै हैन, देउवाले आफ्नो भर कांग्रेसमा देख्नु पर्छ। त्यो धारणा देउवाले आफूमा धारण गरे कांग्रेस सुध्रने र आपसी द्वेष र मतान्तर पनि हराउँदै जान्छ, यो कुरा सबैले बुझ्नुपर्छ। त्योभन्दा पनि सभापति रहेका देउवाले अझ बढी बुझ्नुपर्छ।

अहिले कांग्रेस सभापतिसमेत रहेका देउवाप्रति कांग्रेसको विश्वास र आस्थाले कांग्रेसको भोलि चरित्र अझ खराब हुने हो कि सफा हुने हो। त्यो आस्था र विश्वासले कांग्रेसको मार्ग सुगम र सरल हुने हो कि अझ विकट। कांग्रेसलाई देउवाले चौरस्ता छोडेर जान्छन् कि मार्ग पहिचान गराउँछन्। अब देउवामा यस्तै प्रश्न आउँछ र त्यसकाे उत्तर स्वयं देउवाले दिनुपर्छ। यही देउवाको उत्तरले उनकाे भविष्य निर्धारण गर्छ कि देउवा कस्तो बन्ने?

देउवामा अर्को संकट पनि नजिकै देखिँदैछ, यो संकटको सुत्रधार देउवा नभएर प्रचण्ड हुन्। राष्ट्रपतिबाट परिमार्जनको लागि पठाएको नागरिकताको विधेयक पुन: जस्ताको तस्तै पठाएपछि सर्जित अवस्थाले आएको हो। यसरी पठाउनेमा प्रचण्डको विचार अभिव्यक्तिले काम गरेको छ।

अहिले राष्ट्रपतिबाट राजीनामा दिनेसम्मको समाचार सामाजिक सञ्जालमा आएपछि देउवामा संकट देखिन सक्छ । त्यसकाे प्रभाव अर्थात नकारात्मक प्रभाव कांग्रेसमा आउन सक्छ र यहाँनेर वाम शक्ति अर्थात गठबन्धनभित्रका वाम शक्तिले आफ्नो राजनैतिक स्वार्थ पुरा गर्ने छन्। यो प्रकरणमा प्रचण्ड, माधव नेपाल र नेकपा एमालेको निहित स्वार्थ पुरा हुनेछ। यसमा यिनीहरुको अप्रत्येक्ष मोर्चा जस्तो हुन सक्छ।

अहिले गठबन्धनभित्रका सहयात्री र प्रतिपक्षमा रहेको नेकपा एमाले दुवैको बन्धनभित्र पर्ने अवस्था आउन सक्ने भएकोले देउवाले सुझबुझ र चातुर्य देखाउनु पर्नेछ । यसकाे लागि उनले आफ्ना राजनीतिक गुरु वीपीलाई अन्तकरणबाटै सम्झेर मार्ग खोज्दै ‘देउवाले आफ्नो भर कांग्रेसमा कांग्रेसको भर देउवामा’ देख्नुपर्छ। यो सोचले अगाडि बढ्ने हो भने उनले आफ्नो विगत र आगत दुवै सुधार्न सक्नेछन् ।

प्रकाशित मिति: : 2022-09-12 10:53:00

प्रतिकृया दिनुहोस्

    सहि बिचार हो। अध्ययन बिश्लेषण र सम्प्रेषण यथार्थ परक रहेको छ।यो बिचार लाई प्रयोग मा ल्याउने कसरी हो??

    • एक बर्ष अगाडि
    • Bhakti Majhi