सर्लाहीका नयाँ उद्योग दर्तामा कृषि तथा वन्यजन्तु प्राथमिकतामा

file photo
file photo

घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीमा आर्थिक वर्ष २०७८-०७९ मा दुई हजार एक सय ८७ वटा नयाँ उद्योग दर्ता हुदाँ त्यसमा एक हजार पाँच सय ४१ वटा कृषिजन्य उद्योगहरु दर्ता भएका छन्। 

बैंक तथा वित्तीय संस्थाहरुले कृषिजन्य उद्योगमा ऋण लगानी गर्न थालेपछि सर्लाहीमा कृषिजन्य उद्योग दर्ता गराउने क्रम ह्वातै बढेको छ। 

आर्थिक वर्ष २०७८-०७९ मा सेवामूलक चार सय १५, उत्पादनमूलक दुई सय ३१ वटा र एक हजार पाँच सय ४१ वटा कृषिजन्य उद्योगहरु गरी जम्मा दुई हजार एक सय ८७ वटा उद्योगहरु दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीका प्रमुख  जितेन्द्र किशोर गुप्ताले जानकारी दिए। 

उहाँका अनुसार अघिल्लो आव २०७७-०७८ मा जम्मा एक हजार नौ सय ४३ वटा नयाँ उद्योगहरु दर्ता भएका थिए।

आर्थिक वर्ष २०७७-०७८मा पनि आर्थिक वर्ष २०७८-०७९ को जस्तै सबैभन्दा बढी कृषि तथा वन्यजन्तुतर्फ एक हजार तीन सय २४ वटा उद्योगहरु दर्ता भएका थिए भने सेवातर्फ चार सय ३० र उत्पादनतर्फ एक सय ८९ वटा उद्योगहरु दर्ता भएका कार्यालय प्रमुख गुप्ताले बताए।

आर्थिक वर्ष २०७८-०७९ मा नयाँ र वाणिज्यतर्फ दर्ता भएका उद्योगहरुबाट राजश्ववापत रु दुई करोड ९१ हजार नौ सय सङ्कलन भएको कार्यालयले जनाएको छ। 

विगतका दिनहरुमा कार्यालयको अवस्था जे जस्तो रहेको भएपनि अहिले भने सेवाग्राहीहरुलाई सहज र छिटो छरितो तरिकाले सेवा प्रदान गर्दै आएको कार्यलय प्रमुख गुप्ताले बताए।

जिल्लामा आर्थिक वर्ष २०७८-०७९ मा पाँच हजार चार सय ३० जना पुरुष तथा ३६ हजार ५० जना महिलाहरुले  रोजगारी पाएका छन्।
 

प्रकाशित मिति: : 2022-08-12 20:31:00

प्रतिकृया दिनुहोस्