दुर्गम गाउँका पढ्न नपाएका र बा-आमा गुमाएका बालबालिका र किशाेरकिशाेरीहरुका लागि उनी सहारा बनेका छन्। उनले बालबालिकालाई सहारा मात्र होइन, उच्च शिक्षा पनि दिइरहेका छन्।
आफूले पढ्न नपाए पनि उनी बालबालिका र र किशाेरकिशाेरीलाई शिक्षित बनाउन चाहन्छन्। त्यसैले त उनी तिनै बालबालिकाहरूको उज्ज्वल भविष्यका लागि दिनरात नभनी घोट्टिरहेका छन्।
उनी अर्थात् रिन्यू फाउण्डेशन नेपालका संस्थापक अध्यक्ष विशाल टमाटा।
बिहानकाे मिरमिरेसँगै ब्युँझिएका उनी सागसब्जी पाइने हाेलसेल पुग्छन् र घरघरमा लगेर बेच्ने गर्छन्। बिहान सब्जीकाे व्यापार गर्ने उनी दिउँसाे घरलाई रङ्गाउने गर्छन्। अनि त्यहीँबाट आएकाे आम्दानीलाई उनी बैंकमा थुपार्छन्। उनले त्यसरी नै धानिरहेका छन्, ४० जनाकाे परिवार।
‘अहिले त के दुख छ र! दुख त मैले विगतमा पाएँ’, बेसहाराका सहारा बनेका उनी भन्छन्, ‘तर मेरा केटाकेटीहरूकाे पेट कहिल्यै खाली राखिनँ।’
विगतमा कहिल्यै नबनाएकाे पान बेचेकाे कुरा उनलाई अहिले जस्ताे लाग्छ। उनी त्याेबेला दिनमा दुई सयकाे पान बेच्थे, अनि त्यही पैसाले १० जनाकाे पेट भर्थे।
छाेराछाेरीलाई बिहानकाे खाना खुवाएका उनलाई एउटै कुराकाे पीर हुन्थ्याे, ‘भरे बेलुका मेराे छाेराछाेरीलाई के खुवाउनु?’ तर विशालले आफू भाेकै भएपनि बालबालिकालाई भने कहिल्यै भाेकै सुताएनन्।
बच्चाहरूलाई खुवाउने खाना खाेज्नका लागि उनी खाली खुट्टै काठमाडाैं सहर भाैँतारिएर हिँड्ने गर्थे। त्यही आशमा कि कतैबाट उनलाई खानाकाे व्यवस्था हाेस्।
विगतका कुरा सम्झँदा गहभरि आँसु बनाउने उनी भन्छन्, ‘बितेका कुराहरु सम्झँदा मन भारी हुन्छ, मलाई रुन मन लाग्छ। तर मलाई एउटै कुराकाे खुसी लाग्छ कि मैले मेरा छाेराछाेरीलाई दुख दिइनँ।’
अहिले विशालसँग ३८ जना बालबालिका र किशाेरकिशाेरीहरुहरू छन्। जो कालिकोट, हुम्ला र जुम्लाबाट आएका हुन्। ती सहाराविहीन छाेराछाेरीलाई उनी आफ्नै सन्तानलाई झैँ माया गरेर पालिरहेका छन्। उनीसंग भएका छाेराछाेरीहरू ५ देखि करिब २० वर्षसम्मकाे उमेर समूहका छन्।
अपरिचित छाेराछाेरीहरूको छहारी बनेका उनलाई धेरैले भन्ने गर्छन्, ‘आफ्नै छोराछोरी त पाल्न सकिँदैन, दुनियाँको बच्चा पालेर किन टाउको दुखाएकोर?’ अरुको कुरा सुनेर उनी हाँस्दै जवाफ दिन्छन्, ‘जिन्दगी कहाँ सजिलो छ र!’
आफूसँग भएका बच्चाहरुलाई आफ्नो सहारा बताउने उनी बिएल नेपाली सेवासँग भन्छन्, ‘मैले उनीहरुलाई धेरै दुख गरेर हुर्काएको छु। त्यसैले मेरो बूढेशकालको सहारा पनि उनीहरु नै हुन्।’
बुबाको मृत्युपछि समाजसेवी बने विशाल
वि.स. २०४३ सालमा दार्चुलामा जन्मिएका उनी घरका माइलो छोरा हुन्। उनीमाथि एक दाइ र तीन दिदी थिए भने उनको दुई जना भाइ थिए। उनीहरूको जिम्मेवारी सबै उनकै बा-आमाको थाप्लोमा थियो।
सानो घरमा भएपनि उनी खुसी नै थिए। तर उनको खुसी दुखमा बदलियो। जब उनी ८ वर्षका भए, उनकाे पिताले सदाका लागि संसार त्यागे।
‘म स्कुलमै थिएँ, मेरो बुबा बितेको खबर पाएँ’, ०५० सालको कुरा सम्झँदै उनले भने, ‘स्कुलबाट घर आइपुग्दा त बुबा हृदयघातको कारण बितिसक्नुभएको रहिछ।’ आफ्नो पिताको शव देखेर भक्कानिएका उनले मनमनै सोचेका थिए, ‘अब मेरो संसार सकियो।’
७ जना केटाकेटीको जिम्मेवारी आमाको काँधमा पुगेपछि विशालले पढाइ त्याग्ने निर्णय गरे। त्यसैले बुबाको दाहसंस्कार भएको भोलिपल्ट उनी भारत लागे।
‘बुबाले संसार छोड्नुभएपछि मैले टुहुरो भएको महसुस गरेँ। घरमा बस्ने मनै भएन अनि काम गर्न भारत हिँडेँ।’
नेपाल छाडेर भारत पुगेका उनले सडकभरि भौँतारिएका बालबालिका देखे। जसको कुनै अस्तित्व नै थिएन। ती बेसहारा बालबालिकालाई देखर आफैँसँग तुलना गरेका विशालले सोच्न थाले, ‘मैले पढ्न नपाए पनि बेसहारा भएका बालबालिकालाई उच्च शिक्षा दिनेछु।’
भाँडा माझेर भाइलाई पढाए
घर त्यागेर भारतको धार्चुला पुगेका उनले भाँडा माझ्ने काम गर्न थाले। जसबापत उनले मासिक ८० रुपैयाँ पाउँथे। ‘घर फर्किने मसँग हिम्मत थिएन, त्यसैले भाँडा माझेरै बसेँ’, उनी भन्छन्, ‘परिवारलाई पाल्नु मेरो जिम्मेवारी थियो।’
पढेर ठुलो काम गर्ने सोचेका उनले बीचैमा पढाइ त्यागे। त्यसैले उनी आफ्ना भाइलाई पढाउन चाहन्थे। त्यसैले त उनले भारतमा बसेर कमाएको पैसाले भाइलाई ‘प्लस टु’ सम्म पढाए।
‘मैले त भाइलाई धेरै पढ भनेको थिएँ, तर उनले १२ कक्षासम्म मात्र पढ्ने मन बनाए’ उनले भने, ‘भाइको पढाइ सकिएपछि नेपाल फर्किएँ।’
रत्नपार्कबाट २४ जना बालबालिकालाई घर ल्याए
भारतबाट नेपाल फर्किएका उनी काठमाडौं आएर बस्न थाले। श्रीमती सुमित्रासँग राजधानीमा डेरा लिएर बसेका उनी एकदिन रत्नपार्क पुगे। त्यहाँबाट उनले बेसहारा २४ जनालाई घरमा ल्याए।
रत्नपार्कबाट ल्याइएका बालबालिकासँग वर्षदिन बिताएको सम्झँदै उनले भने, ‘एक वर्षपछि ती बालबालिका घर छाडेर भागे।’
काठमाडौंका बालबालिका भागेपछि उनले दुर्गम गाउँबाट नै बालबालिकालाई ल्याएर पढाउने निर्णय गरे।
‘अहिले मसँग दुर्गम १३ जिल्लाका बालबालिकाहरु छन्, जसको लागि म नै बा-आमा हुँ’, उनले भने, ‘म उनीहरूलाई राम्राे शिक्षा दिएर परिपक्क बनाउनेछु।’
कसरी चलिरहेको छ रिन्यू फाउण्डेशन नेपाल?
आफूले गरेको समाजसेवी कामलाई मन पराएर सहयोग गर्ने हातहरू भएको बताउँदै उनी भन्छन्, ‘मलाई सहयोग गर्ने धेरै जना हुनुहुन्छ, तर क्यानडामा भएको म्यानक्याइन्ड च्यारिटेबल सोसाइटीले भने मलाई विशेष सहयोग गरिरहनुभएको छ।’
च्यारिटेबल सोसाइटीलाई धन्यवाद दिँदै उनी भन्छन्, ‘अगामी दिनहरुमा पनि उहाँहरुले सहयोग गरिदिनुहुन्छ भनेर अपेक्षा गरेको छु।’
छाेराछाेरीलाई मास्टर्स डिग्रीसम्म पढाएर सरकारी जागिरे बनाउने विशालको उद्देश्य
आफूले कक्षा ४ सम्म मात्र पढेका उनी सबै छाेराछाेरीलाई मास्टर्स डिग्रीसम्म पढाउन चाहन्छन्। उनी भन्छन्, ‘मैले धेरै पढ्न नपाए पनि मेरा छाेराछाेरीले धेरै पढोस् भन्ने चाहन्छु।’
आफूसँग भएका छाेराछाेरी अलपत्र नपरुन् भन्दै उनी भन्छन्, ‘मेरा केटाकेटीहरुको पढाइ राम्रै छ, त्यसैले उनीहरु सबैलाई सरकारी कर्मचारी बनाउन चाहन्छु। म नरहे पनि यो संस्था उनीहरुले नै चलाउन् भन्ने चाहन्छु।’
उनीसँग भएका दुई जना छाेरा जागिरे छन्। उनीहरूले आफ्नो पढाइ खर्च उठाइरहेका छन्।
आफूले दुख गरेर पढाएका छोराछोरीहरुले प्रगति गरेको देखेर खुसी लागेको बताउने उनी भन्छन्, ‘यसपटक स्कुलमा फस्ट हुने सबै विद्यार्थी, मेरो छोराछोरीहरु हुन्। उनीहरुको पढाइ देखेर म धेरै खुसी छु।’